१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

‘बाढी क्षेत्रमा २२ लाख टन फोहोर’

बाढी प्रभावित भोटेकोसी–त्रिशूली जलाधार क्षेत्रमा कम्तीमा २२ लाख टन फोहोर–भग्नावशेष थुप्रिएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले आकलन गरेको छ।

बाढी प्रभावितमध्ये खासखास क्षेत्रमा गरिएको द्रुत मूल्यांकन तथा विश्लेषण (र्‍यापिड) विधिअन्तर्गत गरिएको विश्लेषणले कम्तीमा २२ लाख टन फोहोर–भग्नावशेष थुप्रिएको देखाएको हो। र्‍यापिड तत्काल पुनःस्थापना तथा विकास कार्यका लागि द्रुत मूल्यांकन तथा विश्लेषण गर्ने विधि हो। यसले विपद्पछि तत्काल पुनःस्थापना योजना बनाउन विश्वका सरकार तथा साझेदारहरूलाई समयमै प्रमाणमा आधारित जानकारी  उपलब्ध गराउँछ।

भोटेकोसी–त्रिशूली नदीमा गत बुधबार विनाशकारी बाढी आएको थियो। सरकारी तथ्यांकअनुसार बुधबारसम्म बाढीमा परी ज्यान गुमाएका ११ सयभन्दा बढी शव फेला परेका छन् भने चार हजारजति मानिस बेपत्ता छन्। बाढीले हजारौं घर भत्काएको/बगाएको छ। त्यस्तै ११ वटा जलविद्युत् आयोजना र एउटा सौर्य ऊर्जा केन्द्र क्षतिग्रस्त छन्।

युएनडिपीले यसअघि नै कठिनाइ भोगिरहेका ग्रामीण समुदायलाई बाढीले थप सास्ती दिएको जनाएको छ। युएनडिपीका अनुसार अनुपातका हिसाबले बाढीबाट प्रभावित चारमध्ये तीन जनाले यसअघि नै जीविकोपार्जन, आधारभूत सेवामा पहुँच र जीवनयापनका अवस्थाका कारण अत्यधिक कठिनाइ सामना गरिरहेका थिए।‘बाढी विनाशको स्तर अत्यन्त ठुलो छ।

तत्काल उद्धार तथा राहत जारी रहँदा सबैभन्दा बढी प्रभावित मानिससम्म पुनः स्थापना र पुनर्निर्माणको सहयोग पुग्नुपर्छ र उनीहरूले सुरक्षित तथा अझ बढी विपद् प्रतिरोधी ढंगले पुनर्निर्माण गर्न सक्ने कुरा सुनिश्चित गर्नुपर्छ,’ नेपालका लागि युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले वक्तव्यमा भनेकी छन्।

सरकारी तथ्यांकअनुसार ६ जिल्लाका १७ वटा नगरपालिकामा बस्ने ८४ हजार २७० जना बाढीबाट प्रभावित भएका छन्। प्रभावित नगरपालिकामध्ये अधिकांश ग्रामीण तथा पहाडी क्षेत्रमा छन्, जहाँ ६७.४ प्रतिशत सर्वसाधारण कृषि क्षेत्रमा सलग्न छन्।

कृषिमा निर्भर परिवारका लागि बाली, पशुधन र खेतीयोग्य जमिनमा बाढीबाट भएको क्षतिले खाद्य सुरक्षा तथा पारिवारिक आम्दानीमा दीर्घकालीन प्रभाव पार्ने युएनडिपीको आकलन छ। खेतीपातीको सिजनमा आएको यो विपत् किसानका लागि विशेष रूपमा कठिन बन्ने उसको ठम्याइँ छ ।

युएनडिपीले कपर्निकस इएमस र सेरटिटमार्फत उपलब्ध भूउपग्रहमा आधारित भवन क्षति मूल्यांकनलाई अन्य तथ्यांक तथा स्थानीय अवस्थाअनुसार अनुकूलित इन्जिनियरिङ अनुमानसँग संयोजन गरी भग्नावशेषको परिमाण र स्थानको नक्सांकन गरेको थियो। थप जानकारी उपलब्ध हुँदै जाँदा प्रारम्भिक निष्कर्षलाई अद्यावधिक गरिने उसले जनाएको छ। भग्नावशेषमा भत्केका भवनहरू, घरायसी सामान, वनस्पति, ढुंगा र गेग्रान समावेश छन्।

भवनमा भएको क्षतिको भूउपग्रह मूल्यांकनका आधारमा अनुमानित ५ लाख ५६ हजार २०० टन भग्नावशेष देखिएको हो। थप क्षति पहिचान हुँदै जाँदा यो आकलन गरिएको परिमाण बढ्ने छ। भग्नावशेष परिमाणले विनाशको स्तर र घर, सडक तथा सार्वजनिक स्थानहरू सफा गरेर पुनर्निर्माण सुरु गर्दा स्थानीय समुदायले सामना गर्नुपर्ने चुनौती देखाउँछ।

प्रकाशित: १८ भाद्र २०८३ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App