७ वैशाख २०८१ शुक्रबार
समाज

शिक्षिकालाई हाजिरी लगाउन रोक

बैतडी- पुर्चौडी नगरपालिका–४ स्थित पहरौल मावि बागा भटनाले पदस्थापन गरेको शिक्षिकालाई हाजिरी लगाउनमा रोक लगाएको छ। शिक्षक सेवा आयोगबाट पास भएर आधारभूत तहको शिक्षकमा सिफारिश भएकी अम्बिका जोशीलाई विद्यालयले हाजिरी लगाउन रोक लगाएको हो।

नगरपालिकाले उक्त विद्यालयमा पदस्थापन गरेको भए पनि विद्यालयमा हाजिरी लगाउन नदिएको शिक्षिका जोशीले गुनासो गरिन्। आफू त्यहाँको स्थानीय महिला भएर पनि विद्यालयमा हाजिर गर्न नदिएको उनको भनाइ छ। विद्यालयले हाजिर गर्न नदिएपछि आफू सदरमुकाम फर्केको र शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गर्ने उनले बताइन्।

आधारभूत तहको दरबन्दी खाली भएर नगरपालिकाले पदस्थापन गरेको तर विद्यालयले हाजिरी लगाउन नदिएको उनले बताइन्। नगरपालिकाका शिक्षा संयोजक दिनेश नगारीले आफूहरुले मापदण्ड अनुसार शिक्षकको पदस्थापन गरेकाले हाजिरी लगाउन दिनुपर्ने जानकारी दिए। अंग्रेजी शिक्षकको माग गरेकाले त्यो माग पूरा नहुँदासम्म नयाँ शिक्षकलाई हाजिरी लगाउन नदिने निर्णय व्यवस्थापन समितिले गरेको विद्यालयका प्रअ प्रताप धानुकल बताए।

शिक्षक सेवा आयोगबाट सिफारिश भएका शिक्षकलाई निर्वाध रुपमा विद्यालयले हाजिरी लगाउन दिनुपर्ने शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्कर शर्माले बताए। शिक्षा ऐनमै आयोगबाट सिफारिश भएर पदस्थापन भएका शिक्षकलाई हाजिरी लगाउन दिने, त्यसको व्यवस्थापन मिलाउने काम विद्यालय व्यवस्थापन समितिको भएकाले शिक्षिकालाई हाजिरी लगाउन नदिनु गैरकानुनी कार्य भएको उनको भनाइ छ।

प्रकाशित: १० पुस २०७६ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App