१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

हुम्लामा पाँच महिनामा तीन दुर्घटनाः १५ जनाको मृत्यु, १५ जना घाइते

हुम्ला सदरमुकाम सिमीकोटबाट दुर्घटनाका घाइतेहरुलाई उद्दार गरेर हेलिकोप्टरसम्म पु-याउँदै नेपाली सेना । गोविन्द/नागरिक

सुर्खेत- राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम हिमाली जिल्ला हुम्लामा एक सय किलोमिटर सडक छ। यो सडकमा झण्डै ६० को हाराहारीमा साना तथा ठूला सवारी–साधन गुड्छन्। यहाँ न ट्राफिक प्रहरी छन्, न गाडी गुडाउनका लागि रुट परमिटनै। ट्रयाक खुल्दै गरेका सडकमा पछिल्लो पाँच महिनामा तीन वटा दुर्घटना भए। यी दुर्घटनामा परेर १५ जनाले ज्यान गुमाइसकेका छन्।

२०७६ असार ३ गते खार्पुनाथ गाउँपालिकामा बोलेरो जीप कर्णाली नदीमा खस्यो। गाउँपालिका उपाध्यक्षसहित ११ जनाले ज्यान गुमाए। बुधबार डाँडालाग्नामा ट्रिप्पर दुर्घटना भयो। चार जनाले ज्यान गुमाए। १५ जना घाइते भए। सडक सञ्जालले नजोडिएकाले घाइतेलाई २० घण्टापछि बिहीबार बिहान उद्दार गरेर नेपालगञ्ज मेडिकल कलेज पु-याइयो।

चीनसँग सीमा जोडिएको हिल्सादेखि हुम्ला सदरमुकाम सिमीकोटसम्मको ९४ किलोमिटर मध्ये ८४ किलोमिटर सडक खनिएको छ। सदरमुकाम सिमीकोटदेखि खार्पुनाथ गाउँपालिकासम्म पाँच किलोमिटर सडक सञ्चालनमा छ। सर्केगाट गाउँपालिकादेखि चंखेलीको सत्तीसल्लासम्म ११ किलोमिटर सडक छ।

प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले राष्ट्रिय सडक सञ्जालसँग नजोडिएपनि यातायातका साधनहरु सञ्चालन भइराखेकाले ट्राफिक प्रहरी कार्यालय र आवश्यक जनशक्ति राख्नुपर्ने बताइन्। ‘६० भन्दा धेरै ठूला तथा साना सवारी साधनहरु सञ्चालनमा छन्, तिनका चालकले ट्राफिक नियमहरु पालना गरेका छन्/छैनन् हेर्नका लागि ट्राफिक प्रहरी कार्यालय र जनशक्ति आवश्यक छ,’ उनले भनिन्, ‘ट्राफिक भइदिएको भए छोटो समयमै यतिधेरै दुर्घटना हुने थिएनन्।’

‘राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले हुम्लामा हाम्रो उपस्थिति छैन्,’ कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर यादवले भने, ‘जिल्लाभित्र चल्ने साना तथा ठूला सवारीको बारेमा हामीलाई औपचारिक कुनै जानकारी छैन्।’ उनले पछिल्लो पाँच महिनामा तीन वटा दुर्घटना हुनुका साथै जनधनको ठूलो क्षति भइसकेकाले ट्राफिक प्रहरी कार्यालय र दरवन्दी राख्नुपर्ने आवश्यकता औल्याए। उनले दुर्घटना बढ्दै गएकाले हुम्लामा ट्राफिक प्रहरी कार्यालय स्थापना गर्ने विषयमा छलफल भइरहेको बताए।

घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार
हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट ढुवानीको सामान ल्याए सदरमुकाम सिमीकोट आउँदै गरेको लु ४.ख. ३२६९ नम्वरको ट्रिपर दुर्घटना हुँदा घाइते भएकाहरुको २० घण्टापछि नेपाली सेनाको एमआइ सेभेन्टिन हेलिकोप्टरले बिहीबार उद्दार गरेर नेपालगञ्ज ल्याएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए।

नाम्खा गाउँपालिका–१ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ्ग, सिमकोट गाउँपालिका–६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, नर सुनार, खार्पुनाथ गाउँपालिका–५ का धनसिंह भण्डारी, सर्केगाड गाउँपालिका–२ का अंग फडेरा र चालक आनन्द तामाङलाई उद्दार गरेर नेपालगञ्ज ल्याइएको हो।

हुम्ला शोकमग्न, विद्यालय खुलेन
ट्रिपर दुर्घटनामा चार जनाको मृत्यु र १५ जना घाइते भएपछि सिंगो हुम्ला शोकमा छ। जिल्ला अस्पतालबाट निवृत्त भएका वक्त रोकाया, हिल्सा–सिमीकोट सडक खण्डका प्राविधिक बबरजंग शाही र नाम्खा गाउँपालिकाका छिरिङकार्मा लामा र नरी लामाको मृत्यु भएपछि बिहीबार विद्यालयसमेत बन्द भए। घाइतेको उपचारको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले एक लाख नगद सहयोग गरेको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले १० हजार प्रदान गरेका छन्। उनले घाइतेको उपचारमा लाग्ने खर्च कर्णाली प्रदेश सरकारले व्यहोर्ने जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०७६ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App