२८ पुस २०८१ आइतबार
image/svg+xml
समाज

संकटमा जयपृथ्वी सडक

बझाङ – जिल्लाको एक मात्र जयपृथ्वी सडक कटानका कारण संकटमा परेको छ भने दुर्घटना बढ्न थालेको छ। स्थानीय तह, प्रदेश र केन्द्रबाट कार्यकर्तामुखी बजेट बनाई विकासको नाममा जथाभावी डोजर लगाउँदा सडक कटानको माटोले पहिरो जान थालेपछि सो सडक संकटमा परेको हो।

विकास गर्ने नाममा ‘कार्यकर्तालाई पैसा कमाउ र मोज गर’ भन्ने नीति देखिएको छ। सो सडकमा माथिबाट पहिरो आएर करोडौंको क्षति भएको छ। साथै सडकभरि खाल्डाखुल्डी र ढुंगा जम्मा भएर पिच गरेको सडक सुक्खा पहिरोमा परिणत हुँदा दैनिक पहिरो हटाउँदै गाडी गुडाउनुपरेको ना७ख ६३७१ को महाकाली यातायातका मालिक डम्बर पन्थले गुनासो गरे।

उनले भने, ‘सबैले मनोमानी ढंगले सडक कटान गरेका छन्। सडक काट्ने ठाउँमा माटोको आई र इआई गरेको हुँदैन र डिजाइन स्टमेटसमेत प्राविधिकले नगरी नेताको निर्देशनमा डोजरचालकले गर्ने गरेका छन्। गाउँपालिका र नगरपालिकामा डोजर आतंक रोक्नु पर्छ।’ १ करोड रुपैयाँभन्दा मुनिका योजनामा डोजर प्रयोग गर्न नपाउने नीति छ।

सुनकुडा, देउलेक, धारी, देउरा, जुइल, मोरी, भाडे, भ्यागुते, परिगाल, सुवेडा, कचाली, देवल, चौडलगायत ठाउँमा सडकमाथि बिना स्टमेट सडक कटान गरेकाले सडक तहसनहस हुनुका साथै सुक्खा पहिरो आउने गरेको नागरिक समाजका अगुवा धर्मजङ सिंहले बताए। उनले भने, ‘मनोमानी सडक कटानमा थलाराको तोली, छान्नाको पाटादेवल, वडाकोट, खेती, डुग्री, अफला, मालुमेला, चुवावनलगायत विभिन्न ३ सय ५० भन्दा बढी ठाउँमा पहिरो गएकाले ४० भन्दा बढी परिवार विस्थापित भएका छन् भने ३ सयभन्दा बढी परिवार पहिरोको उच्च जोखिममा परेका छन्।’ त्यस्तै ७ सय परिवारको खेतीयोग्य जमिन नोक्सान भएको तथ्यांकसमेत रहेको उनले जनाए।

प्राविधि स्टमेटबिना मनोमानी ढंगले सडक कटान गरिँदा जिल्लाका विभिन्न ठाउँमा एक वर्षमा १५ वटा सवारीसाधन दुर्घटनामा परी २७ जनाको मृत्यु र ४१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७६ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App