लहान – आइतबार रातिदेखि ‘गायब’ रहेको डिजेल लिएर अमलेखगञ्जबाट विराटनगर जाँदै गरेको ट्यांकर बुधबार बिहान धनुषामा फेला परेको छ। लहान प्रहरीले ‘गायब’ ना ४ ख ४१६३ नम्बरको टयांकरलाई धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका –१ रमदैयाबाट फेला पारेका हुन ।
खोज्दै जाने क्रममा उक्त टयांकर सडकमै रोकेर राखिएको अवस्थामा फेला परेको घटनास्थलबाट ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालले बताए ।
उनले भने,‘टयांकर फेला परेपनि तेल(डिजेल) छैन् ।’ आवश्यक अनुसन्धानपछि विस्तृत तथ्य बाहिर आउने उनले बताए । घटनस्थल मुचुल्का लगायतका कानुनी प्रक्रिया पुर्याएर ट्यांकर लहान ल्याउने उनले बताए ।
पूर्वपश्चिम राजमार्गको लहान–४ स्थित हुलाक कार्यालय अगाडीबाट उक्त ट्यांकरलाई अज्ञात समूहले अपहरण गरेको चालक मोरंग निवासी रामदेव यादवले प्रहरीलाई बयान दिएका हुन् ।
ट्यांकरसँगै सो समूहले आफूलाई समेत अपहरण गरी लगेको उनको बयान थियो । हुलाक नजिक ट्यांकर रोकेर विश्राम गर्दा चारपाँच जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुले आफूलाई ट्यांकरसहित अपहरण गरेको चालक यादवले मंगलबार बिहान लहान प्रहरीलाई बयान दिएका हुन् ।
‘यो टयांकर उग्रचण्डी पेट्रोल पम्प छपराडीको हो भनेर सोध्द मैले हो भनें चालक यादवले प्रहरीलाई बयान दिएको छ,‘ अनि उनीहरुले टयांकर लिएर पश्चिमतर्फ जान भन्यो । मलाई बर्दिवासमा ओरालेर उनीहरु ट्यांकर लिएर भागे’ चालक यादवले प्रहरीसँग बयान भनेका छन् । चालकले प्रहरीसँग दिएको बयानअनुसार टयांकरमा २० हजार लिटर डिजेल रहेको थियो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी रिजालका अनुसार टयांकरसहित चालक अपहरण भयो भनिएको घटना भनेजस्तो अपहरणको होइन । यो घटना रहस्यमय हो । नियोजितजस्तो देखिन्छ । घटनामा संलग्नहरु छिट्टै खुल्ने रिजालले बताए । टयांकर फेला परिसक्यो । चालक हामीसँगै छ । डिएसपी रिजालले भने,‘यस घटनाको रहस्यमाथिको पर्दा छिट्टै उर्घिन्छ ।’
प्रकाशित: ४ मंसिर २०७६ ०६:०४ बुधबार