१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डाक्टर केसीको समर्थनमा दिनहुँ प्रदर्शन

फाइल तस्बिर

डडेल्धुरा - चिकित्सा क्षेत्र सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा डडेल्धुरामा दैनिक प्रदर्शन भइरहेको छ। नागरिक समाज डडेल्धुराको अगुवाइमा शुक्रबार डाक्टर केसीका माग पूरा गर भन्दै जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन गरिएको हो।

बागबजारको बस पार्कदेखि ‘डाक्टर केसीका माग पूरा गर, डाक्टर केसी अघि बढ, डडेल्धुराबासी तपाईको साथमा छन्, डडेल्धुरामा मेडिकल कलेज स्थापनाको निर्णय गर, अस्पतालका दरबन्दी पूर्ति गर, डाक्टर केसीको जीवन रक्षा गर,’ आदि नारा लगाउँदै दर्जनभन्दा बढी पेसागत एवं व्यावसायिक संघ–संस्थाका प्रतिनिधि र स्थानीयले जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन्।

चिकित्सा स्वास्थ्य शिक्षा क्षेत्र सुधार, सुलभ स्वास्थ्य उपचार तथा सुशासनका लागि १७ औँ पटक आमरण अनसनमा रहेका सत्याग्रही डाक्टर केसीको आन्दोलनप्रति नागरिक समाज, पेसागत एवं व्यावसायिक संघ–संस्थासहित आम स्थानीयको ऐक्यबद्धता रहेको ज्ञापन–पत्रमा उल्लेख छ। ‘डाक्टर केसीले राखेका मागहरूप्रति हामी सबैको ध्यानाकर्षण भएको छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘उनका मागहरू यथाशीघ्र सम्बोधनका लागि डडेल्धुराबासी जनसमुदायको तर्फबाट नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीलाई हार्दिक आग्रह गर्दर्छौं।’

डाक्टर केसीले सत्याग्रह थालेको दिनदेखि डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे ‘माथि’ जानकारी गराएकाे बताए। तर पनि यस विषयमा सरकारका तर्फबाट कुनै आधिकारिक धारणा आएको छैन।

अनसनका कारण स्वास्थ्य अवस्था प्रतिकूल हुँदै गएका डाक्टर केसीका सबै मागहरू न्यायोचित र नेपाली जनताको हितमा भएकाले उहाँको जीवन रक्षा गर्नु राज्यको दायित्व रहेको स्मरण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएको नागरिक समाज डडेल्धुराका संयोजक रमेशप्रशाद जोशीले बताए।

डाक्टर केसीले आमरण अनसन थालेको शुक्रबार पाँच दिन पुगेको छ। उनको आमरण अनसनबारे प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्रालयमा खबर गरेको भए पनि पाँच दिनसम्म सरकारका तर्फबाट आधिकारिक रूपमा कुनै पनि खबर जानकारी नभएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। ‘डाक्टर केसीले सत्याग्रह थालेको दिनदेखि जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे मैले माथि जानकारी दिँदै आएको छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘तर यस विषयमा सरकारका तर्फबाट आधिकारिक रूपमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।’

नागरिक समाज डडेल्धुराले यस अघि पनि डाक्टर केसीले सरकारसँग मुख्य सातवटा माग राख्दै सत्याग्रह थालेको प्रति तत्काल माग पूरा गराउन भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको कार्यालयमा ध्यानाकर्षण–पत्र पठाएको थियो।

नागरिक समाज, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, निर्माण व्यवसायी संघ, पत्रकार महासंघ, होटेल व्यवसायी संघ, उग्रतारा यातायात प्रालि, महिला उद्यमी संघ, लोकतान्त्रिक कानुन व्यवसायी संघ, राष्ट्रिय कृषक महासंघलगायत संघ–संस्थाले डाक्टर केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै माग पूरा गराउन दबाब दिँदै आएका छन्।

आफूसँग पटकपटक भएका सम्झौता कार्यान्यवन गर्न सरकारले चासो नदिएको भन्दै डाक्टर केसीले गत बुधबार बेलुकादेखि डडेल्धुरामा १७ औं पटकको सत्याग्रह थालेका हुन्। सत्याग्रहको पाँचौ दिन पुग्दासमेत सरकार वा सरकारी पक्षबाट आफूसँग कुनै सम्पर्क वा कुराकानी नभएको डाक्टर केसीले बताए। बोल्ने अवस्थामा समेत नरहेका डाक्टर केसीले प्रश्न गरिएका विषयमा टाउको मात्रै हल्लाई प्रतिक्रिया जनाउँदै आएका छन्।

प्रकाशित: २३ कार्तिक २०७६ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App