७ वैशाख २०८१ शुक्रबार
समाज

लेनदेन विवादमा गोली हानी हत्या

धनुषा - लिका–१४ मुजेलियामा ४० वर्षीय एक युवकको गोली हानी हत्या गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका–१ मा बस्दै आएका ४० वर्षीय मनोज साहलाई पंकज चौधरीले बुधबार बिहान आफ्नै घर मुजेलियामा बोलाएर गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। साह लक्ष्मिनियाँ गाउँपालिका–४ सपहीका स्थायी बासिन्दा थिए।

लेनदेनको विषयमा विवाद हुँदा चौधरीले गोली हानेर साहको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खनालले जानकारी दिए। पैसा लिन घरमा बोलाएर चौधरीले साहलाई गोली हानेका थिए। गोली हानेर साहको हत्या गरेपछि छिमेकीको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको छ।

प्रहरीले चौधरीको साथबाट एउटा अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १९ राउन्ड गोली तथा अर्को एक नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउन्ड गोली बरामद गरेको छ। साह शिव आयल स्टोर्सका सञ्चालक थिए। गोली हान्ने चौधरी निर्माण व्यवसायी हुन्।

छातीमा दुइवटा गोली लागेर गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको थियो। साहको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको छ। प्रहरीका अनुसार गोली हानेर हत्या गर्ने चौधरी जनकपुरधाम–१५ का वडाध्यक्ष अशोक चौधरीका भतिजा हुन्। उनले स्थानीयस्तरमा ठेक्कापट्टा गर्दै आएका छन्। पैतृक घर जनकपुरको वडा नम्बर १५ रामपुरमा भएका चौधरी केही वर्षदेखि मुजेलियामा बस्दै आएका थिए।

साहले बुधबार बिहान चौधरीलाई फोन गरी पैसा कहिले दिने भनी सोधेका थिए। कुराकानीका क्रममा चौधरीले साहलाई घरमा पैसा लिन आउनू भनेर फोन राखेका थिए। साहले फोन गर्दा उनीसँगै अमित साह थिए। मनोजका साथी अमित घटनाको प्रत्यक्षदर्शी हुन्। फोनमा कुराकानी भएपछि अमित र मनोज पैसा लिन चौधरीको घर पुगेका थिए। घरमा पुगेपछि मनोज र चौधरीबीच पैसाको विषयमा एकछिन विवाद भएको प्रत्यक्षदर्शी अमितले बताए।

विवादकै क्रममा चौधरीले पेस्तोल निकालेर मनोजमाथि गोली प्रहार गरेको अमितले बताए। ‘मनोजले चौधरीसँग फोनमा कुराकानी गरेपछि मलाई उसको घरमा पैसा लिन जाने भन्यो। त्यसपछि मैले छोराछोरीलाई विद्यालय पु¥याएर र हामी दुवै चौधरीको घर गयौं,’ प्रत्यक्षदर्शी अमितले भने, ‘चौधरीको घर गएपछि लेनदेन विषयमा चर्काचर्की भयो। चर्काचर्कीलगत्तै चौधरीले पेस्तोल निकालेर गोली ठोक्यो। त्यसपछि एकछिन म अक्मकिएँ। के गरौं, नगरौं जस्तो भयो। जसोतसो त्यहाँबाट भागें र नजिकैको मुजेलिया प्रहरी चौकीमा पुगेर घटनाबारे जानकारी गराएँ।’

स्रोतका अनुसार मनोजको पेट्रोल पम्पबाट निर्माण व्यवसायी चौधरीले पेट्रोल लैजान्थे। सोही पेट्रोलको रकम चौधरीले लामो समयदेखि दिएका थिएनन्। पटकपटक माग्दा पनि उनले अनेक बहाना बनाएर टार्दै आएपछि दुवैबीच खटपट बढेको थियो।

प्रकाशित: ७ कार्तिक २०७६ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App