२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

स्वास्थ्य चौकीलाई जग्गादान

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका चार स्थानीयले स्वास्थ्यचौकीलाई जग्गादान गरेका छन्। जग्गाको अभावमा हाल चार आना जग्गामा निर्माण गरिएको जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीलाई स्थानीय मोतीप्रसाद अधिकारी, गोविन्द भण्डारी, लीलानाथ भण्डारी र बोलनादेवी भण्डारीले ५ रोपनी २ आना जग्गादान गरेका हुन्।

सुविधा सम्पन्न भवनलगायत संरचना निर्माणका लागि मोतीप्रसादले ३ लाख ५० हजार, गोविन्दले २ लाख ५० हजार, लीलानाथले २ लाख र बोलनादेवीले १ लाख रुपैयाँ मूल्यबराबरको जग्गा आइतबार जिल्ला मालपोत कार्यालयमार्फत स्वास्थ्यचौकीको नाममा पास गरिदिएका छन्। जग्गा नहुँदा स्वास्थ्यचौकी खाल्लेले हाल २७ वर्षअघि निर्माण गरिएको जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ।

२०४९ सालमा तत्कालीन गाविस अध्यक्ष राजकुमार राईको पहलमा निर्माण गरिएको सो तीनकोठे भवन जीर्ण हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भइरहेको स्वास्थ्यचौकी इन्चार्ज हेल्थ असिस्टेन्ट सन्तोष भट्टराईले बताए। भवन जीर्ण हुँदा वर्षामा छानाबाट पानी चुहिने र भित्तातर्फको पर्खालबाट पानी निस्कँदा कोठाको भुइँ चिसो हुने गरेको छ।

ढुंगामाटोले बनेको भवनको भित्तासमेत लिपपोत गरिएको छैन। सामान्य लिपपोत गरिएको पर्खालको माटोसमेत उक्किएर प्वाल परेको छ। भवनका तीनवटा कोठामध्ये एउटा कोठाबाट प्रशासन र स्टोरको काम भइरहेको छ।

त्यस्तै, एउटा कोठाबाट ओपिडी तथा गर्भवती महिलाको गर्भजाँच र अर्को कोठाबाट खोप तथा ड्रेसिङको काम सञ्चालन हुँदै आएको छ। उपयुक्त भवन अभावमा गर्भजाँचजस्ता गम्भीर गोपनीयता सम्बन्धीका सेवा प्रवाहमा समस्या भइरहेको इन्चार्ज भट्टराईले बताए। सो स्वास्थ्य चौकीमा एकजना हेल्थ असिस्टेन्ट, दुईजना अहेब र दुईजना अनमी कार्यरत छन्।

प्रकाशित: ६ आश्विन २०७६ ०४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App