४ वैशाख २०८१ मंगलबार
समाज

मन्दिरकै छैन लालपुर्जा

नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर रहेको जग्गाकै पुर्जा नभएको तथ्य बाहिर आएको छ। डेढ सय वर्ष पहिले निर्मित मन्दिर परिसरभित्र दुईवटा कित्ता देखिन्छ। भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका अनुसार कित्ता नम्बर ९० को सात हजार नौ सय ३२ वर्गमिटर र कित्ता नम्बर १६३ को चार हजार नौ सय ५१ वर्गमिटर क्षेत्रफल रहेको जग्गा मन्दिरले चर्चेको छ। तर ती जग्गाको पुर्जा अहिलेसम्म बनेको छैन। मन्दिर रहेकै ठाउँको पुर्जा नभएपछि जग्गा खोजबिन आयोगका सदस्य आश्चर्यमा परेका छन्।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेमबहादुर दौल्यालले बागेश्वरी गुठीको स्वामित्वमा जग्गा भए पनि मन्दिर रहेको ठाउँको लालपुर्जा अहिलेसम्म नबनेको बताए। ‘यो गाउँ ब्लकको जग्गा हो, २०२४ सालतिर सुरु नापीको क्रममा मन्दिरको नाममा पुर्जा बन्नुपथ्र्यो, तर किन बन्न सकेन खै,’ उनले नागरिकसँग भने, ‘दुई वटा कित्ता रहे पनि पुर्जा बनाउन चासो नदिनुले मन्दिरको सम्पूर्ण जिम्मा लिएका व्यक्तिले गम्भीर लापरबाही र हेलचक्र्याइँ गरेको पुष्टि भएको मालपोत प्रमुख दौल्यालले बताए।

मन्दिर रहेकै ठाउँको पुर्जा नभएपछि जग्गा खोजबिन आयोगका सदस्य आश्चर्यमा परेका छन्।

दौल्यालका अनुसार पुर्जा नभए पनि यो बागेश्वरी गुठीको जग्गा भएकाले यसमा मोही लाग्दैन र कसैले दायाँबायाँ गर्न सक्दैन। मन्दिर बनेकै जग्गाको पुर्जा नहुनुले गुठीको जग्गा–जमिनको स्थिति कति दयनीय रहेछ भन्ने कुराको पुष्टि पनि गरेको मालपोत कर्मचारी बताउँछन्। मन्दिर बनेको जग्गाको पुर्जा नभए पनि फिल्ड–बुक भने सुरक्षित रहेको मालपोत कार्यालयले जनाएको छ। ‘मन्दिर रहेको जग्गाको पुर्जा छैन तर फिल्ड–बुक छ, फिल्ड–बुक तयार भएर नै कित्ता नम्बर छुट्याइएको हो,’ दौल्यालले थपे। मन्दिर बनेको जग्गाको पुर्जा बनाउन अब केही प्रक्रिया अपनाउनुपर्ने कार्यालयले जनाएको छ। ‘पुर्जा बनाउनका लागि बागेश्वरी गुठी व्यवस्थापन समितिले मालपोत कार्यालयलाई चिठ्ठी लेख्नुपर्छ, मालपोतले त्यसलाई विभागमा पठाउँछ, विभागबाट निर्णय भएर आएपछि पुर्जा बनाउन गाह्रो छैन।’

मन्दिरलाई विभिन्न दाताले दान गरेको साविक इन्द्रपुरमा रहेको ८४ बिघा जग्गा व्यक्तिको नाममा गइसकेको छ। जग्गा खोजबिन गर्न नेपालगन्ज आएको जाँचबुझ आयोगको टोलीले आवश्यक कागजात अध्ययन गर्ने क्रममा मन्दिर रहेकै जग्गाको लालपुर्जा नभएको तथ्य फेला पारेको हो। जाँचबुझ आयोगका सदस्य जगत देउजा र राष्ट्रिय गुठी संस्थाका कानुन अधिकृत जनक पोखरेलले मन्दिरकै लालपुर्जा नहुँदा आफू आश्चर्यमा परेको बताए। ‘अहिले जहाँ मन्दिर अवस्थित छ, त्यही जग्गाको पनि लालपुर्जा रहेनछ,’ उनले भने।

दुई सय वर्ष पुरानो कागजात फेला

छानबिनकै क्रममा भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा बागेश्वरी मन्दिरको करिब २ सय वर्ष पुरानो कागजात फेला परेको छ। जाँचबुझ आयोगको टोलीसहित भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका कर्मचारीले खोजबिन गर्दा उक्त कागजात फेला परेको हो। आयोगका सदस्य देउजाले दुई सय वर्ष पुरानो कागजात फेला परेपछि आशा जागेको बताए।

‘झन्डै दुई सय वर्षजति पुरानो डकुमेन्ट हामीले फेला पा-यौं। त्यसको अध्ययनबाट हामीलाई धेरै सजिलो हुने अवस्था छ,’ उनले भने, ‘तर अझै पनि हामीले २०२७ र २०२८ सालको एउटा वर्षको मात्र भए पनि मिसिल वा राय किताब फेला पार्नुपर्छ भनेर सरकारी अधिकारीलाई भनिराखेका छौं। त्यो फेला पारियो भने झन् सजिलो हुन्छ।’ २०२७ र २०२८ सालमा मन्दिरको जग्गा रैतानी अथवा रैकर प्रक्रियामा लगेको आशंका छ। आयोगका सदस्य देउजाले भने, ‘त्यतिबेलाको निर्णय आजसम्म फेला परेको छैन, २०५७ सालको निर्णय चाहिँ फेला पा¥यौं।’

जग्गाको पुराना कागजात खोज्न भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीले निकै मेहेनत गरेको उनले सुनाए। २०२७÷२०२८ सालतिरको मिसिल फेला नपरेको अवस्थामा दुई सय वर्ष पुरानो कागजातले छानबिनमा धेरै आधार दिन सक्ने आयोगका पदाधिकारी बताउँछन्। ‘मिसिल बन्नुभन्दा अगाडि २०२२ देखि २४ सालसम्म नापी भएको र फिल्डबुक हामीसँग भएको हुँदा त्यो फिल्डबुकले पनि जग्गाको बारेमा धेरै कुराहरु बोल्छ र त्यो डकुमेन्टले पनि हामीलाई धेरै आधार दिन्छ,’ सदस्य देउजाले थपे, ‘हामीले खोजेको मिसिल भइदिँदा त धेरै राम्रो तर त्यो नहुँदा पनि जग्गाको बारेमा एउटा निर्णयमा पुग्न धेरै महŒवपूर्ण डकुमेन्ट प्राप्त भएको छ।’

दुई सय वर्ष पुरानो कागजातलाई अध्ययन गर्न बााकी रहेको गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेलले बताए। ‘बाहिरबाट मात्रै सरसर्ती हेर्ने काम गरेका छौं, तर भित्री कुराहरु अध्ययन गर्न पाएका छैनौं,’ पोखरेलले भने, ‘राम्रोसँग अध्ययन गरेपछि मात्र यथार्थ कुरा आउँला।’

प्रकाशित: २९ भाद्र २०७६ ०१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App