१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

हिन्दूले पनि मनाउँदै सद्भावको पर्व मोहर्रम

file photo

बाँके– मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गरिँदैछ। मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा एक करोड रुपैयाँभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ।

मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर मनाउने गर्छन्।    

बाँकेमा भने मोहर्रममा केही फरक दृश्य देख्न पाइन्छ। मुस्लिम समुदायको यस पर्वमा हिन्दूहरु पनि सहभागी हुन्छन्। “हिन्दू समुदायमा पनि ताजिया राख्ने चलनको सुरुआत हुन थालेको छ”, शान्ति सद्भाव समिति बाँकेका सल्लाहकार कृष्णप्रसाद श्रेष्ठले भने, “यहाँ एउटा समुदायको पर्वमा अर्को समुदायको बलियो आस्था रहने गरेको छ।”     

नेपालगञ्ज उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले नेपालगञ्ज सद्भावको शहर भएकै कारण यहाँ सबै समुदायको चाडपर्वमा सबैको उत्तिकै आस्था रहेको बताए। उनले भने, “नेपालगञ्ज हिन्दू, मुस्लिम, शिख, इसाइलगायतका समुदाय एक अर्काका धर्म, संस्कृति र परम्परासँग जोडिन्छन्, सबैको आस्था सबै धर्मसँग जोडिएको शहर नेपालगञ्ज नै हो।”     

आज मुस्लिम समुदायहरुले बाजागाजासहित नेपालगञ्जलगायतका विभिन्न स्थानस्थित कर्बलामा ताजिया विसर्जनका लागि तयारी गरिरहेका छन्। यसमा हिन्दू समुदायका व्यक्तिहरुको उत्तिकै साथ रहेको छ।

मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरीबगुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन छ। आज हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरुले शुभकामना समेत आदाप्रदान गरिरहेका छन्।     

शान्ति सद्भाव समिति बाँकेका अध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्ज नेपालकै मिश्रित समुदायको बसोबास रहेको शहर भएकै कारण यहाँ सबै धर्मप्रति सबैको आस्था र सम्मान कायम रहेको बताए।

“एउटा धर्मको व्यक्तिले अर्को धर्मप्रति आस्था राख्नु एकअर्काप्रतिको उच्च सम्मान र आदर हो। यो नेपालगञ्जमा सदियौँदेखि चलिरहेको छ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका वैश्यले भने।     

मुस्लिम समुदायका अगुवा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले आज बिहानैदेखि ताजिया विसर्जनको तयारी भइरहेको बताए। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्षसमेत रहेका चुन्नाले भने, “आज बिहानैदेखि हिन्दू समुदायका साथीहरुले फोन, एसएमएस मार्फत शुभकामना दिइरहेका छन्।

यसले नेपालगञ्जमा रहेको धार्मिक एकता र सन्देशलाई प्रवाह गरिरहेको छ। यहाँ सबै धर्म र समुदायका चाडपर्वमा सबैको बलियो आस्था रहन्छ।”    

इस्लामिक नयाँ वर्ष ‘हिजरी संवत् १४४० को १०औँ तारिखका दिन मोहर्रम मनाउने गरिन्छ। मोहर्रम हिजरी संवत्को पहिलो महीना हो। हिजरी संवत्को ५ तारिखदेखि शुरु हुने मोहर्रमको १०औँ दिन आज विशेष महत्वको हुने गर्दछ। मोहर्रममा आलम राख्ने र विशेषगरी ताजिया राख्ने गरिन्छ।

इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नातिसहित परिवारका सदस्य र अन्य शहीद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन छ।     

नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले आ–आफ्नो घर अगाडि ताजिया राखेर रातभरि जागरण बसेर ताजियादारी गर्ने गर्छन्। मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ।

ताजिया विसर्जन भएको दुई दिनपछि हुने विशेष फातियामा गरीब तथा विपन्न समुदायका व्यक्तिलाई खाना पकाएर खुवाउने प्रचलन रहेको छ।रासस

प्रकाशित: २४ भाद्र २०७६ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App