२२ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

चाउचाउ ल्याइदिन्छु भन्दै गएकी आमा चढेको जिप दुर्घटनामा परेपछि...

अछाम– अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाकी कौसी साउद भदौ १३ गते शुक्रबार बिहानै छोराछोरीलाई बजारबाट चाउचाउ, बिस्कुट ल्याइदिने भन्दै फकाउँदै थिइन्। मुलाको भारी बोकेर हिड्न लागेको देख्दा दुई बर्षको कान्छो छोरो गणेश उनलाई पछ्याउँदै रोइरहेको थियो। आफू बजारबाट छिट्टै फर्किने र चक्लेट ल्याइदिने भन्दै उनी रोइरहेको छोरालाई छोडेर हिँडिन्। उनीसंगै उनकी सासु नाता पर्ने किथ्थी पनी आलुको भारी बोकेर उनीसंगै साँफेबगर तर्फ लागिन्। 

बजारमा नन्देगडाको आलु र मुलाको माग बढी भएकाले उनीहरुले धेरै बेर कुर्नु परेन। मुला बेचेको पैसाबाट घरका लागि चाहिने सामान र छोराछोरीको चाउचाउ बिस्कुट, चक्लेट किनेका थिए दुबैले। तर, कौसीले छोराछोरीलाई बिहान गरेको बाचा पुरा गर्न पाइनन्। घर पुग्न करिब १० मिनेट जति बाँकी थियो। नन्देगडा बजारको मोडमा जिप भीरबाट खस्यो। कौसी र किथ्थीको घटनास्थलमै ज्यान गयो। जिप दुर्घटनाको दृश्य आमाको बाटो हेरिरहेका छोराछोरी समेतले देखे। किथ्थीका ४ छोराछोरी र कौसीका ५ छोराछोरी छन्। दुबैका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्।

‘आमा चढेको गाडी आयो भन्दै बच्चाबच्ची खुसी भएर कराइरहेका थिए’, मंगलासैनी आधारभूत विद्यालयका शिक्षक भीमबहादुर सार्कीले भने, ‘घर पुग्नै लाग्दा जिप पल्टिहाल्यो। सडक साघुरो छ, सडकमा मोड नै पुग्दैन, ब्याक गरेर मोड कटाउनुपर्छ तर ड्राइभरले सिधै मोड कटाउन खोजे। गाडी भीरबाट खसिहाल्यो। चालक भर्खरका सिकारु रहेछन्।’ 

दुर्घटनामा परि मृत्यु भएकी कित्थीको शव र आफन्त ।

दुर्घटनामा घाइते ५ जना मध्ये २१ वर्षिया जिप चालक निर्प साउद र कुस्कोटका १७ बर्षिया सुमन साउद गम्भीर घाइते भएका छन्। बयालपाटा अस्पतालले सुमनलाई धनगढी र निर्पलाई काठमाडौं रेफर गरेको छ। सिकारु चालक र गाडी गुडाउनै नहुने सडकमा गाडी गुडाएपछि दुर्घटना भएको प्रहरीको भनाई छ। 

ग्त असारमा चौरपाटी गाउँपालिका २ सोकटमा सडकको दयनीय अवस्था र सिकारुले ट्याक्टर चलाउँदा ३ जनाको ज्यान गएको थियो। बिना लाइसेन्सका चालकले जिद्दी गरेर चलाउँदा ३ जनाको अकालमै ज्यान गुमाउनु परेको थियो। जिपमा सवार मेल्लेख गाउँपालिका ५ बिन्देबासीनीका २० बर्षिया अर्जुन बिकले गाडीबाट हाफफालेर ज्यान जोगाए। उनी समान्य घाइते भएका छन्। ‘ड्राईभरले गाडी मोड्नै सकेन, सडकको मोड निकै डर लाग्दो छ’, उनले भने ‘मैले छिटो थाहा पाएर हाम फलिहाले, धेरै चोट लागेन। बाटो अप्ठेरो छ भन्दाभन्दै गाडी त्यहीँबाट लग्यो डाइभरले।’ 

‘त्यो मोड निकै साघुरो छ, गाडी लैजानै सकिँदैन’, मेल्लेख गाउँपालिकाका एम्बुलेन्स चालक गणेश बोहराले भने, ‘त्यो बाटो छोटो हुन्छ भनेर धेरै गाडीबालाले त्यहीँ सडकबाट जोखिममा गाडी लिने गर्छन्। धेरै गाडीवाला त्यहीँ बाटोबाट गाडी कुदाउने गर्छन्।’

प्रकाशित: १९ भाद्र २०७६ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App