coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अछाममा ८४ प्रतिशत जनता विद्युत पहुँच बाहिर

अछाम र बाजुराको लागि अछामको साँफेवगरको झकालेमा निमार्ण भएको विद्युत सवस्टेशन। तस्बिरः नागरिक

अछाम– मेल्लेख गाउँपालिका–७ का जानकी देवी रावलको घरमा विद्युत बल्ने तयारी भएको छ। केहि दिनअघि मात्र उनको घर नजिकै विद्युतको पोल गाडिएको छ। ‘यस्तो गाउँमा बिजुली आउला भनेर सोचेकी पनि थिइन्। घरमा बिजुली बल्ने तयारी भईरहेको छ।’ उनले नागरिक न्यूजसँग भनिन्, ‘भारतमा रहेका श्रीमानलाई घर फर्किदा टीभी लिएर आउनभनेको छु।’

मेल्लेख गाउँपालिका र विद्युत प्राधिकरण अछाम वितरण केन्द्रको सयुक्त पहलमा अछामको मेल्लेख गाउँपालिकाका सबै वडाहरुमा विद्युतीकरणको काम भईरहेको छ। विद्युत प्राधिकरण अछामले जिल्लाका दुर्गम गाउँमा विद्युत विस्तार गर्न थालेपछि स्थानीय खुशी भएका छन्।

अछाममा हालसम्म १६ प्रतिशत नागरिकले मात्र विद्युतको उपभोग गरिरहेको पाइएको छ भने ८४ प्रतिशत नागरिक पहुँच बाहिर रहेका छन्। जिल्लाको कुल ४५ हजार घरधुरी मध्ये सात हजार घरधुरीले मात्र विद्युतको उपभोग गरिरहेको विद्युत प्राधिकरण अछाम वितरण केन्द्रको तथ्यांकमा उल्लेख छ। ३८ हजार घरधुरी राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर रहेको पाइएको हो। दश स्थानीय तहमध्ये राष्ट्रिय प्रसारणको विद्युत पाँच स्थानीय तहका बिभिन्न धेरै जसो स्थानमा भने विद्युत पुगेको छ।

साफेवगर नगरपालिका, मंगलसेन नगरपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र चौरपाटी गाउँपालिकाका जनताले विद्युतको उपभोग गर्न पाइरहेको अछाम वितरण केन्द्र प्रमुख विजयराज रेग्मीले बताए। ती स्थानीय तहका केहि ठाउँमा भने विद्युत पुग्न बाँकी रहेको र बत्ती बाल्ने तयारी भइरहेको उनले जानकारी दिए। 

अछामका केहि ठाउँमा साना जलविद्युत आयोजनाबाट बत्ती बलेको भए पनि वर्षाको समयमा बाढि पहिरोको कारणले गर्दा अबरुद्ध हुँदा केन्द्रीय प्रसारण लाइनको माग अत्याधिक हुने गरेको उनले बताए। ०५२ सालमा कैलाश खोला ४ सय किलोवाट उत्पादनसँगै अछाममा विद्युतीकरण सुरु भए पनि हालसम्म १६ प्रतिशत जनताले मात्र विद्युत बाल्न पाएका छन्। अछामका अन्य बाँकि रहेका स्थानीय तह कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन, ढकारी र तुर्माखाद गाउँपालिकामा लाइन तान्ने पोल गाड्ने काम भइरहेको छ। न्युन बजेटका कारण ०७३ सालसम्ममा साफे, मंगलसेन र जयगढमा मात्र केन्द्रीत विद्युत पछिल्लो वर्ष पोल खरिद र ट्रान्सफर्मर खरिदको लागि प्रर्याप्त बजेट भएकोले ०७६ सालसम्म आइपुग्दा जिल्लाका धेरै स्थानमा पुर्याउन सफल भइएको अछाम वितरण केन्द्र प्रमुख रेग्मीले बताए। 

डोटीको दिपायलमा रहेको सवस्टेशनबाट ६५ किलोमिटर लामो दुरीको ११ केभि भएकाले भोल्टेज नपुग्ने विद्युतिय उपकरणहरु नचल्ने समस्या रहेको छ। अछाम र बाजुरालाई केन्द्रीत गरेर साँफेबगरको झकालेमा रहेको निमार्ण भइरहेको ३३ एघार केभी सभस्टेशन निमार्णको काम सम्पन्न भइरहेको र दिपायल साँफे र साँफे चौखुट्टे ३३ केभी लाईन निमार्ण मर्मतको काम भइरहेको हुँदा भोल्टेजको समस्या आइरहेको बताउँदै रेग्मीले उक्त काम सकिए पश्चात भोल्टेजको समस्या नहुने बताए। ०७३ सालदेखि हालसम्म १५, २५, ५० र एक सय केभी क्षमताका २७ ट्रान्सफरमर नयाँ जडान गरेर विद्युत विस्तारको काम भएको छ भने १२ स्थानमा जडान गरिएको ट्रान्सफर्मरलाई उपग्रेड गरिएको छ। पछिल्लो समय अछाममा विद्युत चुवावटको कम गर्दै ग्राहक बढाउने र विद्युत महसुल सतप्रतिशत असुल गर्ने काम भएको विद्युतप्राधिकरण अछामले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०७६ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App