८ वैशाख २०८१ शनिबार
समाज

उपयोगहीन उपकरणमा आयुर्वेदको बजेट

जनकपुर - जनकपुर अञ्चल आयुर्वेद औषधालयमा रेडियोलोजिष्टको दरबन्दी छैन। प्याथोलोजी ल्याब चलाउने प्राविधिक पनि छैन। न यी जनशक्तिको तत्काल बन्दोबस्त गर्ने योजना छ। औषधालयमा अति आवश्यक औषधि राख्ने र उपलब्ध कर्मचारीलाई बस्ने कोठासमेत अभाव छ। तर, तत्काल आवश्यक नै नभएको उपकरण धमाधम खरिद गरिदैछ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अस्पतालको भौतिक पूर्वाधार स्तरोन्नति गर्न ५९ लाख ५३ हजार उपलब्ध गरायो। औषधालयले उक्त बजेटको दुरुपयोग गर्दै जथाभावी रूपमा तत्काल आवश्यक नै नभएको उपकरण खरिद गरेको मन्त्रालयका एक अधिकृतले बताए। मन्त्रालयले भौतिक पूर्वाधार विकासको लागि दिएको बजेटले सञ्चालन हुने आधार नै नभएको उपकरण खरिद गरिनुले आर्थिक अनियमितताको शंका उब्जेको उनको भनाइ छ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. नवलकिशोर झाले औषधालयलाई मन्त्रालयबाट बजेट गएको तर उक्त बजेट के कार्यमा परिचालन भएको भन्ने आफुलाई जानकारी हुन नसकेको प्रतिक्रिया दिए। ‘सञ्चालनका लागि कर्मचारी नै नभएको उपकरण खरिद गरिएको कुरा तपाईंबाटै सुनिरहेको छु,’ डा. झाले नागरिककर्मीसँग भने, ‘यदि त्यस्तो हो भने कारबाही हुनुपर्छ।’

महाशाखामा आपूm आउनुअगावै केही बजेट औषधालयमा गएको र प्रक्रिया अघि बढिसकेको थप बजेट आफ्नै उपस्थितिमा समेत गएको जानकारी दिँदै झाले थपे, ‘मैले अहिलेसम्म औषधालयको अनुगमन गर्न सकेको छैन। मन्त्रालयबाट बजेट परिचालन भए÷नभएको र तोकिएको काममा प्रयोग भए÷नभएकोबारे अनुगमन गनुपर्नेछ। उक्त अनुगमनबाट देखिएबमोजिम कारबाही प्रक्रिया अगाडि बढ्छ।’

आयुर्वेद औषधालयकी प्रमुख डा.सीमा झाले मन्त्रालयबाट प्राप्त बजेट परिचालन र सामान खरिदको लागि स्टोर प्रमुख इन्द्रेश महतोको अध्यक्षतामा गठन भएको समितिले नै सबै काम गरेको भन्दै पन्छिइन्। स्टोर प्रमुख महतोले तत्काल जनशक्ति नभए पनि अञ्चल आयुर्वेद औषधालयलाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने सोच अनुरूप उपकरण खरिद गरिएको प्रतिक्रिया दिए। ‘अहिले यी उपकरण सञ्चालन गर्ने जनशक्ति नरहेको सही हो,’ उनले भने, ‘भविष्यमा यसलाई प्रादेशिक अस्पताल बनाउने सोच रहेको छ र त्यसकै लागि अहिलेदेखि नै उपकरण खरिद गर्न थालिएको हो।’

प्रादेशिक अस्पतालका लागि आवश्यक जनशक्ति, जग्गा लगायत भौतिक पूर्वाधारको व्यवस्थाको लागि के भइरहेको भन्ने जिज्ञासामा उनले खुल्न चाहेनन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले ५० लाख, ५ लाख ९२ हजार र ३ लाख ६१ हजारगरी एकै आर्थिक वर्षमा तीन चरणमा ५९ लाख ५३ हजार रुपैयाँ उपलब्ध गराएको छ। अस्पतालले भुइँतल्ले एउटा भवनको माथि मश्किलले ५० हजार रुपैयाँ खर्च गरी ठड्याइएको जस्ताको छाना निर्माणमा पाँच लाख रुपैयाँ खर्च देखाएको त्यहीँका एक कर्मचारीले बताए। त्यस्तै, उपकरण खरिद प्रक्रियामा पनि ठूलो अनियमितता भएको उनको भनाइ छ।

अस्पताल प्रमुख झाकै श्रीमानको नाउँमा दर्ता रहेको फर्मबाट लाखौको सामग्री खरिद गरिएको छ। सञ्चारमाध्यममा सूचना प्रकाशनगरी दरभाउपत्र आह्वान गर्नुपर्ने प्रावधान विपरित आफन्तकै तीन वटा दरभाउपत्र दर्ता गरेर मनपरी ढंगले उपकरण खरिद गरिएको आरोप अस्पतालकै एक कर्मचारीको छ। बजार मूल्यभन्दा अत्यधिक दरमा उपकरण खरिद गरिएपछि विरोध गर्दा कार्यालय प्रमुखले सम्बन्धित कागजात लुकाएको ती कर्मचारीले बताए। झाले सम्बन्धित कागजात लेखा परिक्षणको लागि प्रदेश लेखा नियन्त्रकको कार्यालयमा लगिएको बताइन्। प्रदेश लेखा नियन्त्रकको कार्यालयका प्रमुख विनोद गेलालले भने जनकपुर अञ्चल आयुर्वेद औषधालयबाट कुनै पनि कागजात नआएको बताए।

प्रकाशित: ५ भाद्र २०७६ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App