१६ चैत्र २०८० शुक्रबार
समाज

हुलाक सेवा : चिठी पनि आउँदैनन्, फुर्सद पनि छैन

काठमाडौं – समय परीवर्तन हुन कति बेर! घर छोडेर सहर पसेका वा धन कमाउन प्रदेश पुगेका आफन्तको खवर पाउन कुनै समय कि हुलाकी कुर्नु पर्थ्यो कि त आकासवाणी (आवा)। अब न हुलाकीको समय छ न त आवाको। समयले कोल्टे फेरेको छ टाढा रहेका आफन्त साथीभाइ सँग चिठ्ठी पत्रमा हैन सिधै भिडियो च्याटमा गफिन सकिन्छ। मनको कुरा भन्न अव चिठी लेखिरहनु पर्दैन सिधै म्यासेन्जर, भाइवर, मोवाइलमा कुरा गरे वा म्यासेज पठाए पुग्छ। खाम बोकेर घर घर डुल्ने हुलाकी अव कहानी जस्तै बनेका छन्। तर हुलाक कार्यालयहरु भने अहिले पनि गाउँगाउँमा नभएका होइनन्। इन्टरनेटको कारणले चिठ्ठी पत्र पठाउने चलन झण्डै लोप हुँदै गएको छ। हुलाक सेवा एकदमै पुरानो सेवा हो। जतिबेला सूचना तथा जानकारी आदान प्रदान गर्ने साधन केही थिएन् त्यतीबेला हुलाक सेवाका माध्यमले मानिसलाई सहजता प्रदान गरेको थियो।

नेपालमा विक्रम सम्वत् १९३५ मा नेपाल हुलाक घरको नामबाट स्थापना भई हुलाक सेवा प्रारम्भ भएको थियो। हुलाक सेवाको प्रमुख काम भन्नु नै चिठ्ठीपत्र एक ठाउँदेखि अर्को ठाउँसम्म पुर्याउनु हो।

आज टेलिफोनको माध्यमबाट तुरुन्तै सन्देश संप्रेषण गर्न सकिन छ। त्यस्तै, इमेल र फ्याक्सबाट जस्ताको तस्तै चिठ्ठी पठाउन र पाउन सकिन्छ। समाजिक सञ्चालबाट भिडियो सहित कुराकानी गर्न सकिन्छ।

 यस्तो सूचना प्रविधिको पहुँचका कारण चिठ्ठीपत्रको काम कम हुदैं गएको गोश्वारा हुलाक कार्यालय सुन्धाराकी शाखा अधिकृत निर्मला थापा बताउँछिन्। यस्तै, सूचना प्रविधिको पहुँच भएका र नभएका दुबै स्थानहरुमा हुलाक सेवालाई वैकल्पिक माध्यमको रुपमा प्रयोग गर्न चाहने वर्गलाई सेवा उपलव्ध गराउने कार्य हुलाक सेवाले गर्दैआएको उनले बताइन्। व्यत्तिगत चिठ्ठी पत्रको काम घट्दो भएपनि पार्सलको काम भने निरन्तर नै चलिरहेको उनी बताउँछिन्। 

देशभरीमा हुलाक सेवा कार्यालयहरुमा १७ हजार कर्मचारी कार्यरत छन्।  तर अझै ३५ प्रतिशत कर्मचारीको अभाव भएको हुलाक सेवा विभागका महानिर्देशक देवी प्रसाद ज्ञवाली बताउँछन्। हुलाक सेवाको परम्परागत कार्य क्षेत्र घट्दो भएतापनि पछिल्ला दिनमा पुलिन्दा सेवा, हुलाक बचत बैंक सेवा, धनादेश सेवा, टेलिसेन्टर सेवा आदि मार्फत हुलाकले सेवा प्रदान गर्दै आएको महानिर्देशक ज्ञवाली बताए। उनका अनुसार लोकसेवा आयोगका कार्यालय नरहेका जिल्लाहरुमा लोकसेवा आयोगको दरखास्त बापतको राजश्व संकलनको कार्य पनि जिल्ला हुलाक कार्यालयहरुले गर्दै आइरहेका छन्। यस्तै, विश्वका ४० राष्ट्रहरुमा इ.एम.एस. सेवाको काम भइरहेको छ, भने साधारण चिठ्ठी पत्र प्राय सबै देशहरुमा पुग्ने उनले बताए।

हाल देशका ७५ जिल्लामा एक–एकवटा जिल्ला हुलाक सेवा कार्यालय स्थापित छन्, भने भौगोलिक स्थिती अनुसार देशमा ८ सय ४२ वटा इलाका हुलाक कार्यालय र ३ हजार ७४ वटा अतिरित्त हुलाक सेवा कार्यालयहरु छन्। आफ्नो सेवालाई अझ प्रभावकारी बनाउन पि.आइ.टी.एस. प्रणाली पनि प्रयोगमा ल्याइएको छ। यस प्रणालीले चिठ्ठी पत्र तथा कुरियरहरु कुन ठाउँमा छन् भनेर लोकेशन पत्ता लगाउने काम गर्छ। साथै, गोश्वारा हुलाक सेवा कार्यालयले आफ्नो एउटा मोबाइल एप पनि बनाएको छ। यसबाट हुलाक तथा यसका सेवाहरुको सम्पूर्ण जानकारी सेवाग्राहीले पाउन सक्छन्। त्यति मात्र नभएर, आएको चिठ्ठी पत्र उपत्यकाभित्र एकैदिनमा पुग्ने गरी वान् डे डेलिभरी सर्भिस समेत व्यवस्था हुलाक सेवा विभागले मिलाएको छ। त्यस्तै, कार्यालयले ई–पोष्टको पनि शुरुवात गर्दे गरेको छ। कसरी हुन्छ हुलाक सेवाको कामलाई प्रभावकारी र भरपर्दो बनाउन अहिले कार्यालय लागिपरेको छ। हालको हुलाक ऐन २०१९ लाई परिमार्जन गरेर हुलाकको सेवालाई व्यवसायमिकूलक बनाउनका लागि प्राधिकरण अन्तर्गत लैजाने तयारी गरिरहेको महानिर्देशक ज्ञवालीले बताए।

 

 

 

प्रकाशित: ३० श्रावण २०७६ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App