४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बिरामीको चाप बढ्दो

तनहुँ - सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । गर्मी मौसम सुरुआतसँगै उक्त रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन् ।

अस्पतालमा पहिला दैनिक ७५ देखि १०० सम्म बिरामी आउने गरेकामा अहिले झण्डै दोब्बर बिरामी उपचारका लागि आउने गरेका दमौली अस्पतालका प्रमुख डा सुनिल पौडलले बताए। उनका अनुसार अहिले भाइरल ज्वरो र टाइफाइडका  दैनिक १५० देखि २०० बिरामी उपचारका लागि आउने गरेका छन् ।

ज्वरो, झाडाबान्ता, रुघाखोकी, पखाला, श्वासप्रश्वासलगायतका बिरामीको सङ्ख्या बढिरहेको छ । उनले भने, “करिब ४० प्रतिशत यस्ता पानीजन्य रोगका बिरामी रहेका छन् ।” अस्पतालमा आउने यस्ता बिरामीलाई चिकित्सकले पानी उमालेर खाने, साबुन पानीले राम्ररी हात धुने, बासी सडेगलेको खानेकुरा नखाने, धुलोधुँवाबाट बच्ने, मास्क लगाएर मात्रै हिँड्डुल गर्ने र आराम गर्नेलगायतका सुझाव–सल्लाह दिने गरेको डा पौडेलले बताए ।
 
अस्पतालमा बिरामीको चाप बढेपछि टिकट लिन र चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउनका लागि घण्टौँसम्म पालो कुर्नुपर्ने अवस्था आएको अस्पतालकी नर्सिङ अधिकृत तथा सूचना अधिकारी जमुनादेवी शर्माले जानकारी दिए । अस्पतालमा दीर्घकालीन युरिक एसिड, उच्च रक्तचाप, थाइराइड,  सुगर, बाथलगायतका बिरामी पनि पछिल्लो समय उपचारका लागि आउने गरेका छन् । अस्पतालमा उपचारमा आउने बिरामीमध्ये अधिकांश स्वास्थ्य बिमा गरेका सर्वसाधारण रहेको सूचना अधिकारी शर्माले बताए ।

प्रकाशित: ३० श्रावण २०७६ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App