१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वातावरण, कृषि र पर्यटनमैत्री बजेट

इलाम– सन्दकपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/०७७ का लागि २८ करोड ४४ लाख ४७ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। भौगोलिक रूपले ठूलो क्षेत्र र विकट भएपनि जैविक विविधतामा धनी सन्दकपुरले पूर्वाधार विकास, पर्यावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा बजेट केन्द्रित गरेको छ।

शुक्रबार देउरालीमा आयोजित समारोहमा जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरे। बजेटमा १ करोड ६६ लाख ५० हजार आन्तरिक आम्दानी, ८ करोड ५० लाख ५६ हजार संघीय सरकार र ६९ लाख ५६ हजार प्रदेश सरकारबाट अनुदान, संघीय र प्रदेश सरकारबाट राजस्व बाँडफाँटको ६ करोड ४४ लाख ४१ हजार तथा संघीय र प्रदेश सरकारको ससर्त अनुदानबाट ११ करोड ८३ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ।

खर्चतर्फ आर्थिक विकासमा १ करोड ६९ लाख ७० हजार, सामाजिक विकासमा १० करोड ९० लाख ७३ हजार, पूर्वाधार विकासमा ६ करोड ९९ लाख ५ हजार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास र वित्तीय व्यवस्थापनतर्फ ९२ लाख २९ हजार तथा प्रशासनिक खर्च ७ करोड ९२ लाख ६९ हजार रुपैयाँ अनुमान गरिएको छ। गाउँपालिका अध्यक्ष उदयबहादुर राईले भौगोलिक कठिनाई र पूर्वाधारको कम विकासले प्रशस्त मात्रामा भएका पर्यटकीय र प्राकृतिकस्थलहरूको पहिचान हुन नसकेको बताए।

‘गाउँमा बाह्रैमास मोटर गुड्न सक्ने सडक बनाउनु, यहाँको जैविक विविधता, पर्यटकीयस्थलको प्रचार र पूर्वाधार विकास गर्नु हाम्रो पहिलो काम हो,’ उनले भने, ‘यहाँको जैविक विविधता जोगाउन आयातित रुखहरू हटाएर रैथाने रुखबिरुवा विस्तार गर्ने पनि हाम्रो योजना छ।’ उनले गाउँपालिकामा रैथाने जातका १० लाख बिरुवा रोप्ने तयारी भइरहेको पनि बताए। गाउँपालिकामा पानीका स्रोत संरक्षणका लागि ३० भन्दा बढी पोखरी संरक्षण गरिएको छ।

 जिल्लाकै अग्लो डाँडो (३ हजार ६ सय ३६ मिटर) सन्दकपुर, रामसार सूचीमा सूचीकृत माइपोखरी, प्राकृतिक सौन्दर्यका हिसाबले भरिपूर्ण छिन्टापु, लोपोन्मुख रेडपान्डा पाइने वनजंगल र दर्जनौं पर्यटकीयस्थल रहेको सन्दकपुर गाउँपालिका प्राकृतिक स्रोतसम्पन्न छ। भारतको बाटो भएर सन्दकपुरमा बर्सेनि हजारौं बंगाली र तेस्रो मुलुकका पर्यटक आउँछन्। तर, पर्याप्त पूर्वाधार अभावले उनीहरू त्यहाँबाट अन्य गाउँसम्म आएर बस्न सकिरहेका छैनन्। सन्दकपुर गाउँपालिकाले यसरी आउने पर्यटकलाई गाउँमै टिकाउन होम–स्टे व्यवस्थापन, पर्यटकलाई गरिने व्यवहारबारे तालिम, सचेतना, पर्यटकीय भौतिक पूर्वाधार विकासलगायतका काम गरिरहेको छ।

दूध, अलैंची, किबीलगायत नगदे र खाद्यबाली उत्पादनमा अग्रणी रहेको सन्दकपुर गाउँपालिकाले चालू आर्थिक वर्ष ‘कृषकसँग स्थानीय सरकार’ कार्यक्रमसमेत सञ्चालन गर्ने अध्यक्ष राईले बताए। ‘लक्षित वर्गलाई मूलप्रवाहमा ल्याउन विशेष कार्यक्रम निर्माण गरिएको छ,’ अध्यक्ष राईले भने, ‘सीप विकास र आयका लागि स्थानीयलाई सिस्नुको ढुट्टो, अल्लोको कपडा, ढाका बुनाइ, साबुन बनाउने, तरकारी खेतीलगायतको तालिम दिइएको छ।’

प्रत्येक वडाको सन्तुलित विकास र नागरिकलाई विकासबारे अपनत्व गराउने कार्यक्रममा बजेट केन्द्रित गरिएको उनले जनाए। विकासे काममा उपभोक्ताको २० प्रतिशत जनश्रमदान, ५ प्रतिशत रकम चाहिँ उपभोक्ता समितिले कामको लेखापरीक्षण गरेपछि मात्रै भुक्तानी दिनेजस्ता कार्यक्रम पनि गाउँपालिकाले ल्याएको छ। गाउँपालिकाका २ सहित केही वडाका भवन निर्माण गरिएको र केही भवन निर्माण चरणमा रहेको अध्यक्ष राईले बताए।

जिल्ला समन्वय समिति प्रमुख बरालले अर्गानिक कृषि उत्पादन, पर्यटन प्रवद्र्धन र जैविक विविधता संरक्षणमा सन्दकपुर गाउँपालिकाले उल्लेख्य काम गरिरहेको बताए। ‘सन्दकपुर गाउँपालिका सम्भावनै सम्भावनाको क्षेत्र हो,’ उनले भने, ‘अहिले गाउँपालिकाले ल्याएको बजेटले दिगो विकास र समृद्धिमा सघाउने छ।’ प्रमुख बरालले स्थानीय तहको बजेट बाँडफाँटमा जनसंख्यालाई पहिलो प्राथमिकता दिँदा सन्दकपुरजस्ता ठूलो भौगोलिक क्षेत्र भएका गाउँपालिका सुविधाबाट वञ्चित भएको बताए। ‘सन्दकपुरजस्ता ठूलो भौगोलिक क्षेत्र भएका गाउँमा विकासका पूर्वाधार कम छन्, ठाउँ विकट छन् तर जनसंख्यालाई आधार मान्दा माथिबाट आउने बजेटमा सधैं ठगिनुपरेको छ,’ उनले भने, ‘अविकसित र विकट क्षेत्रको सन्तुलित विकासमा प्राथमिकता दिनेखालको नीति बन्नु आवश्यक छ।’

प्रकाशित: १७ श्रावण २०७६ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App