२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

७३४ मुक्तहलिया पुनःस्थापना

बाजुरा– बाजुरामा विभिन्न स्थानीय तहमा रहेका साहुको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएका सात सय ३४ मुक्तहलिया परिवारको पुनःस्थापना गरिएको छ।

जिल्ला मुक्तहलिया कार्यक्रमअनुसार परिचयपत्र प्राप्त सबै मुक्तहलिया परिवारको पुनःस्थापना कार्य सम्पन्न भएको छ। जिल्लाभर एक हजार ६ सय ३३ मुक्तहलिया परिवारको पहिचान भई प्रमाणीकरण भइसकेको छ। प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेका अनुसार एक सय ४० परिवार सम्पर्कमा आएका छैनन्। पुनःस्थापना हुन ३० परिवार बाँकी रहेको उनले बताए।

पुनःस्थापना कार्यक्रमअन्तर्गत १४ करोड ३२ लाख ७५ हजार रूपैयाँ खर्च भएको छ। पुनःस्थापना कार्य आथिर्क वर्ष २०६९/७० देखि सुरु भएको हो। जिल्लाबाट मुक्तहलिया परिवारको लगत सङ्कलन गरी पठाएपछि सरकारले प्रमाणित गरी एक हजार ६ सय ३३ परिवारका लागि विभिन्न समयमा कार्यक्रम लागू गरिएको थियो। सरकारद्वारा प्रमाणितमध्ये एक सय ४० परिवार सम्पर्कमा नआएकाले उनीहरूको नाम लगत सूचीबाटै हटाइएको छ। बाँकी सबैको पुनःस्थापना भइसकेको प्रजिअ न्यौपाने बताउँछन्।

विसं २०६५ भदौमा हलियालाई मुक्त घोषणा गरिएको हो। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका १२ जिल्लामा मुक्तहलिया पुनःस्थापन कार्यक्रम सञ्चालनमा छ। नाम लगतकट्टा हुनेमा हालसम्म पटकपटक सूचना जारी गर्दासमेत सम्पर्कमा नआएका, दोहोरो नामावली भएका, जनता आवास कार्यक्रमबाट अनुदान पाएका रहेको मालपोत कार्यालयका कार्यालय प्रमुख लक्ष्मण पन्तले बताए।

सरकारकै जनता आवास कार्यक्रमबाट अनुदान पाएर पुनःस्थापन लगतबाट नामावली कट्टा भएकाले पुनःस्थापन सुविधा नपाउने भए पनि आगामी दिनमा सरकारले मुक्तहलिया लक्षित कार्यक्रमबाट भने लाभ लिनसक्ने छन्। मुक्तहलिया कार्यक्रमबाट लाभ लिएकामध्ये ७९ परिवारले जग्गा खरीद, २२८ परिवारले घर निर्माण तथा ४२७ परिवारको घर मर्मत गरिएको छ। तीमध्ये मालपोत कार्यालयबाट सो कार्यक्रमअन्तर्गत रकम लिएका ९८ परिवारलाई स्थानीय तहमा हस्तान्तरण गरिएको छ। स्थानीय तहबाट नै मुक्तहलिया परिचयपत्र र रकम दिने व्यवस्था गर्ने परिपत्र मन्त्रालयले गरेको मुक्तहलिया पुनःस्थापना कार्यक्रम संयोजक एवम प्रजिअ न्यौपनेले बताए। रासस

प्रकाशित: ११ श्रावण २०७६ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App