२८ असार २०७७ आइतबार
समाज

तीन सय विद्यालय पुनर्निर्माणमा चुनौती

काठमाडौं - भूकम्प गएको चार वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षति भएका विद्यालयहरू अझै पुनर्निर्माण हुन सकेको छैन। विभिन्न नगरपालिकाले तोकेको मापदण्ड पूरा गर्न नसक्दा भूकम्पबाट प्रभावित भएका ३१ जिल्लाका तीन सय सरकारी विद्यालयको पुनर्निर्माण अघि बढ्न नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निर्देशक यमनारायण श्रेष्ठले जनाए।

सोमबार शिक्षा पत्रकार सञ्जाल (इजोन) को सहकार्यमा एकाइले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा निर्देशक श्रेष्ठले एकाइसँग बजेट हुँदाहँुदै पनि स्कुलहरूको आफ्नो जग्गा नभएको र मापदण्ड पूरा गर्न नसकेकाले विद्यालय पुनर्निर्माणमा चुनौती थपिएको जनाए। ‘भूकम्पबाट प्रभावित आठ हजार विद्यालयमध्ये तीन सय विद्यालयको मुख्य समस्या नै आफ्नो जग्गा नहुनु र जग्गा भए पनि मापदण्ड पूरा गर्न नसक्नु देखिएको छ,’ निर्देशक श्रेष्ठले भने, ‘एकाइको जग्गा किन्ने अधिकार छैन। यो ठूलो समस्याका रूपमा अगाडि आइरहेको छ।’ कुल आठ हजार क्षति भएको विद्यालयमध्ये चार हजार ६ सय पुनर्निर्माण भइसकेको र दुई हजार विद्यालयमा पुनर्निर्माण भइरहेको उनले बताए। यसका साथै यो वर्षका लागि एक हजार विद्यालय छनोट भएर पुनर्निर्माणका लागि अघि बढाएको उनले जनाए।

काठमाडौंको यट्खास्थित श्री कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपीचन्द्र पौडेलले भूकम्पले पूर्ण क्षति भएर रातो स्टिकर टाँसेको स्कुलमा आफूहरूले जोखिम मोलेरै विद्यार्थीलाई पठनपाठन गराइरहेको कार्यक्रममा जानकारी गराए। उनले १९८० सालमा राणाहरूले महिलालाई पढाउने लक्ष्यसाथ स्थापना गरेको स्कुलको जग्गा साढे तीन आना स्कुलकै नाममा रहेको तर नगरपालिकाले तोकेको मापदण्ड पूरा हुन नसक्दा स्कुल पुनर्निर्माण हुने कार्य अगाडि बढाउन नसकेको बताए।

‘महिलालाई मात्र पढाउन भनी स्थापना भएको हाम्रो स्कुलमा हाल केटाकेटी दुवै पढ्छन्। कुल सय विद्यार्थी अध्ययनरत छन्,’ प्रधानाध्यापक पौडेलले भने, ‘तर रातो स्टिकर टाँसेको स्कुल भवनभित्रै पढाइ भइरहेको छ। बालबालिका त्रासमै पढिरहेका छन्।’ उनले थपे, ‘सानो क्षेत्रमा फैलिएको स्कुल नयाँ मापदण्डअनुसार बनाउनै सकिँदैन।’ एकाइ उपनिर्देशक दिलीप श्रेष्ठका अनुसार नगर तथा सहरी क्षेत्रहरूका स्कुलका लागि चारकोठे भवन बनाउन १२ मिटर चौडाइ र १५ मिटर लम्बाइ हुनुपर्छ। तीन मिटर सेड छाड्नुपर्छ। तर उपत्यका तथा सहरी क्षेत्रका अधिकांश स्कुलको आठ मिटर पनि लम्बाइ–चौडाइ छैन। ‘यस्तो अवस्थामा कि त राज्यले स्कुलहरूको जग्गा बढाइदिनुप¥यो कि त मापदण्ड परिवर्तन,’ उपनिर्देशक श्रेष्ठले भने, ‘स्कुलको भवन संहिताअनुसार तालिम प्राप्त जनशक्ति र गुणस्तरीय स्कुल भवन बनाउन एकाइको निर्देशन छ।’

भक्तपुरमा रहेको सिद्धिशारदा आधारभूत विद्यालयका प्रधानाध्यापक धनेशराज उपाध्यायले तीन आना जग्गामा स्कुलमा भए पनि जग्गा स्कुलको नाममा नभएकाले स्कुल पुनर्निर्माणमा चुनौती थपिएको बताए। सो विद्यालयमा कक्षा ४ सम्म सय विद्यार्थी पढ्छन्। तर रातो स्टीकर राखेकै स्कुलमा बालबालिका पढिरहेकाले खतराको त्रास कायमै रहेको उनको गुनासो छ।

यस्तै गुनासो ललितपुरमा रहेको आदर्श कन्या माविको पनि छ। स्कुलका सहायक प्रधानाध्यापक आनन्द ढुंगानाले महिला मात्र अध्ययन गराउने लक्ष्यसहित २००४ सालमा स्थापित यो स्कुल भुइँचालोपछि बिजोगमा परेको गुनासो गरे। ‘हाम्रो स्कुलमा कक्षा १–१२ सम्म ६ सय विद्यार्थी अ्रध्ययनरत छन्,’ ढुंगानाले भने, ‘चार भवनमध्ये दुईवटा पूर्ण रूपमा क्षतिग्रस्त छ। भवनमा रातो स्टीकर टाँसिएको छ।’ उनले थपे, ‘स्कुलको नाममा साढे चार रोपनी जग्गा छ। तर भवन बनाउने ठाउँमा सेड ब्याक छाड्ने जग्गा पुग्दैन। त्यही भएर पुनर्निर्माणमा चुनौती थपिएको छ।’ बालकल्याण आधारभूत विद्यालय बालाजुका प्रधानाध्यापक अर्जुनकुमार शर्माका अनुसार भवन अभावका कारण विद्यार्थीहरू जोखिम मोलेरै विद्यालयमा पठनपाठन गर्न बाध्य छन्। ‘तीन आना स्कुलको जग्गा स्थानीयको नाममा छ,’ उनले भने, ‘जग्गा अभावमा स्कुलै नबन्ने चिन्ता छ।’

प्रकाशित: १ श्रावण २०७६ ०९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App