३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

धान राेपाइँका बेला मल अभाव

कञ्चनपुर– किसानलाई धान रोप्ने चटारो भएकै बेला कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ। अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रासायनिक मल डिएपी खेतमा हाल्न बाध्य भएका छन्।

अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री संस्थानको शाखा भीमदत्तनगरले मागअनुरुपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो। स्थानीय एग्रोभेट पसलबाट खरिद गरेको चर्को मूल्यको भारतीय मल गुणस्तरीय भए नभएको जानकारी नभए पनि किसान भारतीय मलको प्रयोग गर्न बाध्य छन्।

शुक्लाफाँटा नगरपालिका–२ का किसान मनोज चौधरीले सरकारले उपलब्ध गराउने मल नपाउँदा भारतको निकटवर्ती बजारबाट ल्याइएको मल राखेर रोपाइँ गरेको बताए। कृषि सामग्री संस्थानले यस वर्ष डिएपी मल एक हजार चार सय ४३ मेट्रिकटन, युरिया एक हजार आठ सय तीन मेट्रिकटन र पोटास ३५ दशमलव सात सय ५० मेट्रिकटन मल आपूर्ति गरेको छ।

ती मल जेठको पहिलो सातामै सकिएको संस्थानका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए। चैतदेखि जेठको पहिलो सातासम्म कम्पनीबाट डिएपी तीन सय ८४ मेट्रिकटन बिक्री भएको छ। ‘डिएपी दुई हजार मेट्रिकटन, युरिया दुई हजार पाँच सय टन र पोटास ७० मेट्रिकटन कम्पनीले आपूर्ति गर्ने लक्ष्य लिएको भए पनि समयमै खरिद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुन सकेन,’ उनले भने। किसान मलको माग गर्दै कार्यालयसम्म पुग्छन्। मल नपाउँदा निराश भएर फकर्ने गरेको उनको भनाइ छ।

धानखेतीका लागि ६ सय मेट्रिकटन युरिया भैरहवास्थित कार्यालयबाट ल्याउन लागेको कार्यालय प्रमुख शाहले बताए। उनका अनुसार जसमध्ये चार सय ५९ मेट्रिकटन युरिया आपूर्ति भइसकेको छ। रासस

प्रकाशित: २८ असार २०७६ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App