१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

झापामा रोपाइँ १५ प्रतिशत मात्रै

दमक–झापामा मध्य असार सकिँदासमेत धान रोपाइँले गति लिन सकेको छैन। सातायता वर्षा नभएकाले झापामा रोपाइँ गर्न किसानले पाएका छैनन्। झापामा अहिले १५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ।

पर्याप्त वर्षा नभएकै कारण किसानले समयमा धान रोप्न पाएका छैनन्। विद्युतीय मोटरले समेत काम नगर्दा समयमा रोप्न नपाएको कमल–६ का किसान विष्णुबहादुर खड्काले बताए। ‘समयमा पानी पर्दैन, पानी नपरेपछि विद्युत् खपत बढ्ने भयो, मोटर पटक्कै चल्दैन,’ उनले भने, ‘गत असारको तेस्रो सातासम्म धान रोपिसकिएको थियो। अहिले त थालिएको छैन।’ 

कमल–६ का दीपक गौतमले भने, ‘गत वर्ष यस बेलासम्ममा आधा रोपाइँ सकेका थियौं। यस पटक त रोपाइँ सुरु गर्नै पाएको छैन।’ अर्का किसान मित्रलाल अधिकारी भन्छन्, ‘बल्ल बल्ल गरेको अलिकति रोपाइँलाई मोटरका भरमा टिकाउन गाह्रो छ।’ ढिलो रोपाइँ गर्दा बीउ छिप्पिनाले उब्जनीसमेत घट्ने पीर किसानको छ। चैते धानमा नोक्सानी भोगका किसानलाई असारे धानले समेत निराश बनाएको छ। 

१५ लाख ५२ हजार ४ सय ६९ हेक्टर असारे धान रोपाइँ हुने खेतमध्ये २ लाख २१ हजार २ सय २६ हेक्टर (१४.२५ प्रतिशत) मा मात्र रोपाइँ भएको हो। खडेरीले यस वर्ष धान उत्पादन हुनेमा शंका छ, गौरादह–४ का टंक फुयाँलले भने, ‘समयमा पानी परेन, सिँचाइको सुविधा पनि छैन, अनि धान कसरी रोप्ने ?’ किसानले वैकल्पिक व्यवस्थाका लागि पानी तान्ने मोटरसमेत राखेका छन्। ‘तर अनियमित विद्युत् आपूर्तिका कारण मोटर चल्दैनन्,’ फुयाँलले भने, ‘मोटर चले पनि भोल्टेज पुग्दैन।’

कतिपय किसानले असारको सुरुआतमै रोपे पनि रोपो सुकेको छ। पर्याप्त सिँचाइ नहँुदा अगाडि रोपिएका धानसमेत मर्न थालेका छन्। ‘धान सर्नलाई समय लाग्नुपर्ने हो, तर यस वर्ष पानी नपरेकाले रोपो नै सुक्यो,’ रुद्र पौडेलले भने, ‘यस वर्षको खडेरीले सखापै पार्ला जस्तो छ।’

प्रविधिको प्रयोग बढ्दो 
झापाको कचनकवलमा ब्याड नै नराखी धान रोप्ने प्रविधिमा किसान आकर्षित भएका छन्। धान रोप्नका लागि बीउ राख्ने र रोप्ने रोपारको झन्झट गर्नु नपर्ने भएपछि किसान बीउ छर्ने हाते मेसिन ड्रम सिडरतर्फ आकर्षित हुन थालेका हुन्। धान सुपर जोनका कृषकले यो प्रविधि प्रयोग गरेका हुन्।

परीक्षणपछि गत वर्षदेखि प्रयोगमा आउन थालेको ब्याड नै नराखी सिधै धान रोप्न मिल्ने ड्रम सिडर बीउ छर्ने सस्तो र सजिलो प्रविधितर्फ आकर्षण बढेको कचनकवल–६ बालुबाडीका कालीबहादुर लिम्बूले बताए। यस वर्ष ड्रम सिडर प्रविधिबाट ३० विघामा चैते धान रोपिएको छ। ब्याड र रोपारको खर्च बचत हुने भएपछि हिउँदे धानसमेत ३० बिघा क्षेत्रमा लाउने कार्य सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोनका प्रमुख धनबहादुर थापा मगरले जानकारी दिए। धान सुपर जोन क्षेत्रमा अहिले २ हजार २ सय हेक्टरमा धान खेती हुँदै आएको छ। राज्यले कृषि आधुनिकीकरणमा गरेको लगानीले पछिल्लो समय झापामा धान उत्पादन बढेको छ। 

 

प्रकाशित: २१ असार २०७६ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App