१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालापानीमा खानेपानीको चरम अभाव

आहालमा जम्मा भएको आकाशे पानी भर्न भेला भएका कालापानीका स्थानीय। तस्बिर सौजन्यः अश्विन राउत

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित कालापानीमा खानेपानीको समस्या विकराल बन्दै गएको छ। यहाँका वरपरका पानीका मुहान सुकिसके पछि खानेपानीकाे अभाव चुलिएकाे हाे।

१ सय १५ घर परिवारको बसोबास रहेको कालापानीमा खानेपानीको समस्या हल गर्न ‘नदीको पानी निकाल्नु वा बस्ती सार्नु’ पर्ने अवस्था छ। सुख्खाग्रस्त क्षेत्रकारुपमा रहेको कालापानीमा दशक यता पिउने पानीको चरम अभाव चुलिएको स्थानीय बताउँछन्। कालापानीका स्थानीय चुहार पँधेरा, मानेखोला पधेरा र खारखोला पधेराबाट दुई घण्टा हिँडेर खानेपानी उपभोग गर्न बाध्य बनेको स्थानीय अश्विन राउतले बताए।

छिमेकी वडा इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कतिपय स्थानीय घण्टौं ओरालो हिँडेर पानी लिन सावा खोला पुग्न बाध्य छन्। कालापानीका स्थानीयले गाईवस्तुलाई खुवाउने पानी वर्षाको पानी जमेको आहालबाट ल्याउने गरेका छन्। खानेपानीको चरम अभावकै कारण कतिपय स्थानीय बसाइ सरिसकेका छन्। हाल पनि केही हप्ता अघि वर्षा हुँदा खैरेनी सामुदायिक वनमा आहालमा जमेको पानी ओसार्ने स्थानीयको भीड लागिरहेको छ।
 आहालमा जमेको वर्षाको पानी पिउनका लागि नभै गाईबस्तुलाई खुवाउनका लागि ओसार्ने गरिएको लिच्कीराम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताए। ‘आहालमा जमेको आकाशे पानी हो। योे पानी पिउने गरिएको छैन,’ वडाध्यक्ष राईले भने, ‘यो पानी गाईबस्तुलाई खुवाउनका लागि उपयोग गर्ने गरिएको छ।’

रसुवाघाट–कालापानी खानेपानी आयोजानको काम अन्तिम चरणमा
लिच्कीराम्चेको कालापानीमा नदीको पानी गाउँमा निकाल्ने प्रयास स्वरुप थालिएको रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। सुनकोसीको पानी कालापानीमा लिफ्ट गर्नका लागि २०७२ साल चैत्र ११ गते उद्घाटन गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताए।

खानेपानीको समस्या बिकराल चर्किएको कालापानीमा पम्पिङ प्रबिधिमार्फत १८ सय मिटर तल रहेको सुनकोसीको पानी गाउँमा निकाल्ने बिकल्प अघि सारिएको हो। ‘शुक्रबारसम्ममा पम्प र विद्युतको सामान जडान सक्ने योजना छ,’ अध्यक्ष राउतले भने, ‘त्यसपछि कालापानीमा पानी निस्कन्छ र पानीको अभाव हल हुन्छ।’

नदी किनारमा पानी तान्ने बोरिङ उपकरण जडान, मेसिन राख्ने घर निर्माण, नदी र गाउँकोबीचमा १०/१० हजार लिटर क्षमताको दुई वटा सप्लाई ट्यांकी तथा सबैभन्दा माथि गाउँमा ३५ हजार लिटर क्षमताको आरसिसि ट्यांकी निर्माण, बोरिङस्थलबाट सिरानको मूल ट्यांकीसम्म ५० एमएमको जिआई पाईप जडान लगायतका काम पूरा भइसकेको निर्माण उपभोक्ता समितिले जनाएको छ।

नदीको पानी गाउँमा निकालेर ९७ धारामार्फत ५ सय बढि उपभोक्तालाई पानी वितरण गर्ने लक्ष्य राखिएको छ। गाउँ र नदीकोबीच तीन स्थानमा ट्यांकी निर्माण गरिने र बिद्युतमार्फत पहिलो, दोश्रो हुँदै तेश्रो ट्यांकीमा नदीको पानी निकालिने उपभोक्ता समितिले जनाएको छ।

प्रकाशित: १८ असार २०७६ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App