२४ जेष्ठ २०७७ शनिबार
समाज

एसईईः खस्कियो सरकारी विद्यालयकोे गुणस्तर

काठमाडाैं- माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)को पछिल्लो नतिजामा पनि निजी लगानीका विद्यालयको तुलनामा सरकारी विद्यालयको स्तर खस्केको छ।

सरकारले सरकारी विद्यालय सुधारका लागि विभिन्न अभियान र कार्यक्रम सञ्चालन गरे पनि परीक्षाफलमा निजी लगानीका विद्यालयका विद्यार्थीले राम्रो स्तरीकृत अङ्क (जिपिए) ल्याउँदै आएका छन्। आज प्रकाशित २०७५ सालको एसइई परीक्षामा कूल सहभागी चार लाख ९५ हजार २७५ विद्यार्थीमध्ये सरकारी विद्यालयबाट ७० दशमलव ८४ र निजीका २९ दशमलव १६ प्रतिशत विद्यार्थी छन् तर माथिल्लो जिपिए ‘ए प्लस’ ल्याउने विद्यार्थी १४ हजार ७८८ निजी विद्यालयकै छन् 

जिपिएमा सरकारी विद्यालयका दुई हजार ७९२ विद्यार्थी मात्र छन्। सबैभन्दा तल्लो जिपिए ‘इ’ ल्याउनेमा सरकारी विद्यालयका छ हजार ६७३ छन् भने निजीका एक हजार ९६ मात्र छन् । यसरी हेर्दा फेरि पनि सरकारी विद्यालयको स्तर निजीको तुलानमा कमजोर देखिएको छ । शिक्षाविद् डा विद्यानाथ कोइराला कोही पनि विद्यार्थी अनुत्तीर्ण नभनिने अक्षराङ्कन प्रणालीमा पनि सरकारी विद्यालयका यति धेरै विद्यार्थीको नतिजा कमजोर हुनु चिन्ताजनक भएको बताए। उनले भने 'सरकारी विद्यालयमा पढाउने शिक्षकले सम्मान र नपढाउने शिक्षकले गाली पाएन। पढाउन नजान्नेलाई पनि सहयोगी वातावरण र समग्रमा शिक्षकलाई प्रोत्साहित गरिएन। त्यसकारण गुणस्तर खस्किएको हो।'

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षामा अक्षराङ्कन पद्धतिबारे उत्पन्न अन्योल चिर्न ‘विद्यायालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ जारी यो प्रणालीको कार्यान्वयन गरेको हो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट २०७२ मङ्सिर २३ मा स्वीकृत भई लागू भएको अक्षराङ्कन पद्धतिबारे अवधारणागत एकरूपता, कार्यान्वयनमा सहजता र स्पष्टता प्रदान गर्न शिक्षा नियमावली, २०५९ को नियम १९२ को (ङ) र (च) अनुसार कार्यविधि लागू गरिएको हो। विद्यार्थीले पाउने प्रमाणपत्र तथा ग्रेड सिटमा उत्तीर्ण/अनुत्तीर्णको उल्लेख नभई सोको सट्टा विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क दिइने प्रक्रिया अक्षराङ्कन हो। विश्वका धेरैजसो मुलुकममा यो प्रणाली छ। ‘अक्षराङ्कन’ भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति मानिन्छ।

विद्यार्थीको सिकाइ सक्षमतालाई यथार्थरूपमा प्रमाणीकरण र सिकाइ उपलब्धिको अङ्कन गर्दा देखिने अङ्कगतस्तरलाई नौ अक्षरगत स्तरमा सूचित गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न यो पद्धति अपनाइएको हो। एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय खुल्ने र १९२ दिन पठनपाठन सञ्चालन हुने तथा प्रतिविषय १७० पाठ्यभार वा १२८ घण्टा सिकाइ क्रियाकलापका आधारमा यसमा मापन गरिनेछ।

प्रत्येक विषयको उत्तर पुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ र सो अङ्क (सैद्धान्तिक र प्रयोगात्मक भएमा सोको कूल अङ्क) लाई तोकिएको अक्षर ग्रेड प्रदान गर्छ। डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषय माथिल्लो ग्रेड प्राप्तिका लागि पुनःमूल्याङ्कन गराउन चाहेमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णयबमोजिम हुने ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउनेछन्। रासस

प्रकाशित: १२ असार २०७६ २०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App