१९ असार २०७७ शुक्रबार
समाज

कसरी जान्छ भूकम्प ?

काठमाडौं– भूकम्प एउटा दैवी तथा प्राकृतिक विपत्ति हो। अकल्पनिय र अनुमान गर्न नसकिने ठूलो विपत्ति नै भूकम्प हो। अकल्पनिय विपत्ति भएकै कारण पृथ्वीमा भूकम्पले धनजनको ठूलै क्षति गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा आठ हजारभन्दा बढीको ज्यान गयो। यसबारे विश्व भरका वैज्ञानिक तथा विद्वानहरुले धेरै खोज अनुसन्धान पनि गरिरहेका छन्। तर वैज्ञानिकहरुले गरेका अध्ययन अनुसन्धानले ठोस तथ्य भने पत्ता लगाउन सकिरहेका छैनन्।

यसरी जान्छ भूकम्प
एक सेकेन्डमा सयौंको ज्यान लिन सक्ने भूकम्प भनेको के हो? यो कसरी कुन ठाउँमा जान्छ त? भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार सामान्यतया भूकम्प भनेको पृथ्वी हल्लिनु हो। पृथ्वी जुनसुकै कारणले हल्लिएको भए पनि त्यो भूकम्प हो। ‘भूकम्प चार किसिमले जान्छ। पहिलोमा टेक्टोनिक प्लेटको चालको कारण, दोस्रो ज्वालामुखी विष्फोटका कारण, तेस्रो कोल्याप्स भूकम्पका कारण र चौथो भनेको आणविक परिक्षणका कारण जान्छ। पृथ्वीमा सात वटा मूख्य प्लेटहरु हुन्छन्। ती सात वटै प्लेटहरुसँगै हिडिरहेका हुन्छन्। जब ति प्लेटहरु एकआपसमा ठोक्किन्छन् अनि पृथ्वीमा भूकम्प जान्छ। दुई वटा प्लेटहरु जुन ठाउँमा ठोक्किन पुग्छन्, त्यो ठाउँमा सबैभन्दा ठूलो भूकम्प जाने गर्छ। यो तीन किसिमले हुन्छ’ कोइरालाले नागरिक न्यूजसँग भने। 

भूकम्पले कसरी क्षति गर्छ ?
कोइरालेले भने ‘पृथ्वीको सतह भन्दा ३० किलो मिटर माथिबाट आउने स्यालो, ३० देखि ७० किलो मिटरसम्मको मिडियम र ३० देखि ३ सय किलो मिटरसम्मको डिप हो। पृथ्वीमा भूकम्प जाँदा बढि क्षति गर्ने भनेको यही ३० किलोमिटरको स्यालो भूकम्प हो।’ उनका अनुसार भूकम्प जति माथिबाट गयो त्यसले झन धेरै असर गर्छ। २०७२ वैशाख १२ गतेको भूकम्प यही स्यालो भूकम्प हाे।   

भूकम्प जहिले पनि दुई वटा वेभ मार्फत जान्छ। पहिलो बडि वेभ र दोस्रो सर्फिस वेभ हो। बडि वेभमा प्राइमरी र सेकेन्डरी र सर्फिस वेभमा रेली र लव भन्ने फरक फरक प्रकारका वेभहरु हुन्छन्। विभिन्न सिद्धान्तका अनुसार भूकम्प होरिजोन्टल र भर्टिकल वेभबाट जान्छ। तर कहिलेकाहीं  यी दुवै वेभबाट जाने गर्छ। यसरी गयो भने यसले पृथ्वीमा ठूलो असर पु-याउँछ। जुन नेपालले पनि महसुस गरिसकेको भन्दै भूकम्पविद् कोइराला भन्छन्, ‘अहिले नेपालमा पनि दिनहुँ जसो १ देखि ४ रेक्टरस्केलका साना पराकम्पहरु भइरहेका छन्, जुन हामीले महसुस गर्नै सक्दैनौं।’ ठूलो भूकम्प गएको क्षेत्रमा त्यस पश्चात साना–साना कम्पन हुने प्रक्रिया नै पराकम्प भएको जानकारी पनि कोइरालाले दिए। ति साना पराकम्पले कुनै क्षति नगर्ने तर ५ रेक्टरस्केलभन्दा माथीको भूकम्पले मात्र क्षति गर्ने उनको भनाई छ।

कसरी मापन गरिन्छ भूकम्प ?
भूकम्प जहिले पनि रेक्टरस्केल र इन्टेन्सिटी गरी दुई किसिमले मापन गरिन्छ। अहिले रेक्टरस्केलको विकास भइसकेपछि इन्टेन्सिटी माध्यमको कम मात्रामा प्रयोग भएको कोइरालाको भनाई छ। रेक्टरस्केलले भूकम्पको क्षमता अर्थात गति मापन गरिन्छ भने इन्टेन्सिटीले भूकम्पले गरेको क्षतिको मात्रालाई हेरेर मापन गरिने उनले बताए। 

विश्वमा सबैभन्दा बढी कति रेक्टरको भूकम्प गयो ?
भूकम्पको इतिहासमा सन् १९६० मा चिलिमा ९.५ रेक्टरस्केलको भूकम्प टेक्टोनिक प्लेटका कारण गएको थियो। त्यसपछि २००४ मा इन्डोनेसियामा ९.३, २०११ मा जापानमा ९.५ र नेपालमा १९९० मा ८.४ रेक्टरस्केलका ठूला भूकम्प मापन गरिएको छ। यस्तै २०७२ मा पनि गोरखामा यहीं टेक्टोनिक प्लेटका कारण भूकम्प गएको तथ्यांक भूकम्प मापन केन्द्रले राखेको छ। नेपालको इतिहासमा हरेक ८० देखि १ सय वर्षको अन्तरालमा ठूलो भूकम्प जाने गरेको छ।  भूकम्प जहिले पनि शक्तिको सञ्चितबाट हुन्छ। चट्टानले सञ्चित भएको शक्तिलाई थेग्न सकेसम्म थेग्छ र जब शक्ति धेरै भई चट्टानले थेग्न नसक्दा विष्फोट भई भासिन्छ र भूकम्प जान्छ।  

हाल भूकम्पविद्हरुले गरेको अध्ययन अनुसार बैशाख १२ गतेपछि गोरखादेखि भारतको देहरादुनसम्म दुई वटा प्लेटहरु जुधेर बसेको तर भूकम्प नगएको अवस्था छ। यसकारण नेपालको गोरखादेखि र भारतको देहरादुनसम्मको क्षेत्र अति जोखिममा रहेको भूकम्पविद् कोइरालाले नागरिक न्यूजलाई बताए। साथै यो क्षेत्रमा धेरै समयदेखि प्लेट एकआपसमा जुध्दा ठूलो भूकम्पको लागि शक्ति सञ्चित भइरहेको उनको भनाई छ। यसैले यस क्षेत्रमा ठूलो भूकम्प जाने सम्भावना रहेकोले अहिलेबाट नै भूकम्प प्रतिरोधात्मक संरचनाहरु बनाउने पर्ने उनले बताए।

प्रकाशित: ८ असार २०७६ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App