८ वैशाख २०८१ शनिबार
समाज

हेलिकप्टरबाट खार्पुनाथ ल्याइएको थियो कर्णालीमा बेपत्ता जीप

हुम्ला – खार्पुनाथ ५ मा गत मंगलबार लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खसेर बेपत्ता भयो। खार्पुनाथको वडा नम्बर ५ को बेडुबीसुनामा पर्ने सडक खण्डको बालु बिसौनीमा कच्ची सडकबाट कर्णालीमा खसेको उक्त जीपमा सवार गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ११ जना बेपत्ता छन्। जीपसहित कर्णालीमा खसेका उनीहरु अझैं फेला परेका छैनन्।

अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा उक्त जीप हेलिकप्टरबाट खार्पुनाथ पु-याइएकाे थियो। विस २०७२ जेठमा खार्पुनाथ यातायात प्रालीले पहिलो पटक हेलकप्टरमार्फत उक्त जीप खार्पुनाथमा पु-याएकाे थियो।

हेलिकप्टरबाट एउटा जीप हुम्ला पु-याए वापत ढुवानी खर्च मात्रै १० देखि १२ लाख लाग्छ। खार्पुनाथ यातायात प्रालीसँग अब तीन वटा जीप बाँकी छन्। खार्पुनाथ प्रालीका चार र अन्य दुई गरी छ वटा सवारीले स्थानीय स्तरका सडकमा यातायात सेवा दिँदै आएका थिए।

खच्चरबाट पेट्रोलियम पदार्थ ढुवानी
हेलिकप्टरबाट खार्पु पुगेका सवारीमा आवश्यक पेट्रोलियम पदार्थ भने खच्चरबाट ढुवानी गर्ने गरिएको छ। बाजुरा र मुगुबाट खच्चरमा ढुवानी गर्ने गरेको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले बताए। खार्पुनाथ यातायात प्रालिका अध्यक्ष रावतका अनुसार बाजुरा मुगुबाट खार्पु आइपुग्दा डिजल प्रति लिटर ४ सयसम्म पर्छ। तीन सय ५० देखि ३ सय ७५ सम्म ढुवानीसहित प्रति लिटर खर्च लाग्छ। उनले भने, 'पहिले त यही पनि हेलिकप्टर चार्टर गरेर ल्याउने गरिन्थ्यो। अझैं महँगो पर्थ्यो। अहिले केही सहज छ।'

साढे तीन सयदेखि चार सयसम्म प्रतिलिटर डिजेल पर्ने खार्पुमा भाडा पनि महँगो छ। सीमकोटादेखि खार्पुसम्मको १० किलो मिटरको यात्रा गर्दा तीन देखि साढे तीन सयसम्म भाडा लिने गरिएको छ।

गोताखोरको टोली फिर्ता, स्तब्ध स्थानीय निरास

कर्णाली नदिमा खसेको जीप र यात्रुहरु फेला नपरेपछि हुम्ला पुगेको गोताखोरको टोली फिर्ता भएको छ। तीब्र पानीको बहाव र पानी धमिलो भएका कारण खोजी गर्न गठिन भएपछि उक्त टोली फिर्ता भएको हो। सशस्त्र प्रहरी बल बिपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको विशेष टोलीले पनि उनीहरुलाई फेला पार्न नसकेपछि टोली फिर्ता भएको छ।

टोलीले तीन दिनसम्म घटनास्थलबाट एक किलो मिटर दुरीसम्म खोजीकार्य गरेको थियो। तीन दिनसम्म खोजी गर्दा पनि केही फेला नपरेपछि उक्त टोली शुक्रबार फिर्ता भएको प्रखुम जिल्ला अधिकारी धोलकराज ढकालले बताए। बेपत्ताहरुको शव फेला नपरेपछि परिवारजनले पराल र कुसको पुत्ला बनाई अन्तिम संस्कार गरेको प्रखुम जिल्ला अधिकारी ढकालले बताए।

गोताखोरको टोलीले पनि बेपत्ताहरुको शव फेला पार्न नसकेपछि शोकाकुल बेपत्ता परिवारका आफन्त र स्थानीय भने निरास भएका छन्। गोताखोरको विशेष टोली आएपछि आफन्त तथा स्थानीयमा बेपत्तहरु भेटिने आसा पाएको थियो। तर टोलीले पनि फेला पर्न नसकेपछि उनीहरुको आसा निरासामा परिणत भएको छ।   गोताखोर टोलीले नै केही गर्न नसकेपछि अब खोजीका अन्य कुनै उपाय नै नभएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।

जीपमा सवार खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, चालक सिमकोट ८ का मणीराज शाही, खार्पुनाथ ४ का चन्द्र हमाल, नैन सिंह भण्डारी बेपत्ता छन्। त्यस्तै खार्पुनाथ ५ की बसन्ती शाही, गोकुल सुनार, नन्ददेवी सिंह खार्पुनाथ एक पिउसकी कौर दमाई र उनको नाम नखुलेको दुई वर्षे छोरा र काठमाडौ थानकोट निवासी राजु श्रेष्ठ र अर्को एक जना नाम नखुलेका ब्यक्ति रहेका छन्।

प्रकाशित: ७ असार २०७६ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App