१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदूषण कम गर्न सामूहिक प्रयासको खाँचो

ललितपुर – परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने प्रचलन र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रहरुमा स्वास्थ्यजन्य समस्या जटिल बन्दै गएको विज्ञहरुले औंल्याएका छन्।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र बेलायतस्थित नटिङ्घम विश्वविद्यालयद्वारा आयोजित हिन्दूकुश हिमालय क्षेत्रमा वायु प्रदूषण र स्वास्थ्य शीर्षकको कार्यशालाका सहभागी विज्ञका अनुसार यस क्षेत्रमा वायु प्रदूषण जटिल बन्दै गएको र यसले मानव स्वास्थ्यमा गम्भीर असर ल्याएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी झन्डै २४ लाख मानिसको मृत्यु हृदयाघात र १४ लाख मानिसको मृत्यु मस्तिस्कघातबाट हुने बताउँदै कार्यक्रममा विश्वका ९१ प्रतिशत जनसंख्या वायु प्रदूषणको चपेटामा रहेको र त्यसको ठूलो अंश कम आय भएका मुलुकमा रहेको जनाइयो।

वायु प्रदूषणका कारण वार्षिक ५० अर्ब अमेरिकी डलरबराबरको वातावरणीय नोक्सानी हुनेगरेको र अनेक रोगव्याधीका कारण त्योभन्दा बढी रकम खर्च हुने गरेको छ।

नेपालमा हाल खाना पकाउने प्रयोजनमा झन्डै ७६ प्रतिशत वायोमासको प्रयोग हुने र यसले घरभित्रको वायु प्रदूषणलाई बढाई श्वासप्रश्वास, दम, खोकी, क्यासन्सरलगायतका नसर्ने रोगबाट १२ हजार मानिसको मृत्यु हुने गरेको कार्यशालामा जानइयो। घरभित्रको वायु प्रदूषणको सिकार बढी मात्रामा महिला र बालबालिका हुने गरेका छन्।

कार्यशालामा डा. ओमप्रकाश कुर्मीले शहरी क्षेत्रमा बाह्य र ग्रामीण क्षेत्रमा घरभित्रको वायु प्रदूषणको समस्या जटिल रहेको र यसबाट अकालमै मर्नेहरुको संख्या बढ्दै गए पनि यसलाई नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान नदिएको बताए। ‘स्वच्छ ऊर्जाको प्रयोग तथा गाडीको संख्या कम गरी विद्युतीय सवारी प्रोत्साहन गर्ने, उद्योगधन्दामा प्रदूषणरहीत उपकरणको प्रयोगमा ध्यान दिनु आवश्यक छ,’ उनले भने।

वरिष्ठ चिकित्सक डा. मृगेन्द्रराज पाण्डेले सन् १९८४ मा आफूले जुम्लामा गरेको अध्ययनमा घरभित्रको वायु प्रदूषणका कारण दम, खोकीलगायतका रोगको संक्रमण बढी पाइएको र सो अवस्था अहिले पनि यथावत रहेको बताउँदै यसलाई कम गर्न राज्यले स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिनुपर्ने धारणा राखे।

नटिङ्घम विश्वविद्यालय डा. चालोट्ले बोल्टनले वायु प्रदूषणले जनस्वास्थ्य र वातावरणमा मात्र प्रतिकूल असर गर्ने नभई देशको सामाजिक–आर्थिक विकासमा अवरोध ल्याउने हुँदा यसतर्फ सरकारहरुले ठोस कार्यक्रम र योजना ल्याउनुपर्नेमा जोड दिए। उनले वायु प्रदूषणका कारण वार्षिक ५० अर्ब अमेरिकी डलरबराबरको वातावरणीय नोक्सानी हुनेगरेको र अनेक रोगव्याधीका कारण त्योभन्दा बढी रकम खर्च भएको बताए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा. मेघनाथ धिमालले नेपालमा वायु प्रदूषणले स्वास्थ्य क्षेत्रमा पारेका असरबारे केही अध्ययन भए पनि विस्तृत अध्ययनको खाँचो रहेको बताउँदै समस्या समाधानका लागि सामूहिक प्रयासको खाँचो रहेको औंल्याए।

हिन्दूकुश हिमालय क्षेत्रमा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि सामूहिक प्रयासको खोजी गर्दै वायु प्रदूषणको गुणस्तर र अनुसन्धानबीच रहेको अन्तरको पहिचान गरी आगामी दिनमा सहयोग, समन्वय बढाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको इसिमोडका भूपेश अधिकारीले बताए। दुई दिन सञ्चालित कार्यशालामा नेपाललगायत भुटान, भारत, श्रीलंका र पाकिस्तानका चिकित्सक, वैज्ञानिक, समाजशास्त्री र नीतिनिर्माता गरी ६० जनाको सहभागिता थियो।

प्रकाशित: १ असार २०७६ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App