धादिङ - भीरपाखा र उकालोओरालो बाटो हुँदै उत्तरी धादिङका स्थानीय पुस्तौंदेखि सदरमुकाम आउजाउ गर्दै आइरहेका छन्। खाद्यान्न कि खच्चडको भरमा कि आफैंले बोकेर पु¥याउनुपर्छ। खोलामाथिका झोलुंगे पुल पनि जीर्ण भइसकेका छन्। पक्की सडक र पुल उनीहरूका लागि वर्षौंदेखि सपना बनेको छ। उत्तरी क्षेत्रका यिनै सपना पूरा गर्न ग्रामीण भेगमा सडक निर्माण र पुल निर्माणका कार्य थालिएको छ।
सडक सञ्जालबाट टाढा रहेको उत्तरी धादिङको रुबिभ्याली, गंगाजमुना र खनियाबास गाउँपालिकाका बस्तीमा सडक पु¥याउन राजनीतिक दल तथा जनप्रतिनिधि पनि लागिपरेका छन्। आफ्नो गाउँको विकासका लागि जनप्रतिनिधि पनि सडक निर्माणमा तल्लीन छन्। तर उत्तरी धादिङलाई जिल्ला सदरमुकामसँग जोड्ने नाकाको रूपमा रहेको डुन्डुरे खोलामा पक्की पुल बन्न ढिलो हुँदा सडक पुगेको ठाउँसम्मका स्थानीयले समेत सास्ती खेप्न बाध्य छन्।
जिल्ला सदरमुकामदेखि रुबिभ्यालीस्थित तिप्लिङसम्म जोड्ने ‘दामन पाख्रिन स्मृति मार्ग’को नाम नै धादिङबेंसी–साङकोष–तिप्लिङ सडक राखिएको छ। तर सो सडक निर्माण सुरु भएको ३५ वर्ष नाघिसक्दा पनि डुन्डुरे खोलामा पुल नबन्दा उत्तरी धादिङलाई सदरमुकामसम्म सडक सञ्जालमा जोड्न सकिएको छैन।
गाडीले सदरमुकामबाट लगिएका सामान खनियाबास गाउँपालिकास्थित डुन्डुरे खोलामै झारिदिने गर्छन्। डुन्डरे खोलामा पु¥याएपछि अनलोड गर्नुपर्ने र मानिसले बोकेर खोला तारेपछि फेरि अर्को गाडीमा लोड गरी झार्लाङ र सेर्तुङसम्म लैजाने झन्झट रहेको झार्लाङका नरसिंह तामाङले बताए। ‘सडक निर्माण नहुँदा कि खच्चड कि आफैंले बोक्नुपथ्र्यो, भर्खरै सडक पुगेको छ तर गाडी पु¥याउनै गाह्रो छ,’ उनले भने, ‘सडक निर्माण भइरहे पनि मोटर गुड्ने पक्की पुल निर्माणमा ढिलाइ हुँदा सदरमुकामबाट लगिएका सामान पल्ट्री गर्नुपर्ने बाध्यता छ।’
डुन्डुरे खोलामा हाल मानिस र खच्चडलाई वारपार गर्न झोलुंगे पुल रहेको छ भने झोलुंगे पुलछेउमै पक्की पुल बन्दै छ। दुई पहाडको खोंचमा गहिरो खोला रहेको र त्यही खोंचबीच पुल बनाउनु पर्दा भौगोलिक रूपमा कठिनाइ भएपछि केही सवारीसाधन बन्दै गरेको पुल पारी नै रहेका छन्। सडक सञ्जाल नपुगेको रुबिभ्यालीको लापामा भने खच्चडले सामान ओसार्ने गरेका छन्।
जिल्ला सदरमुकामदेखि रुबिभ्यालीस्थित तिप्लिङसम्म जोड्ने ‘दामन पाख्रिन स्मृति मार्ग’को नाम नै धादिङबेंसी–साङकोष–तिप्लिङ सडक राखिएको छ। तर सो सडक निर्माण सुरु भएको ३५ वर्ष नाघिसक्दा पनि डुन्डुरे खोलामा पुल नबन्दा उत्तरी धादिङलाई जिल्ला सदरमुकामसम्म सडक सञ्जालमा जोड्न कठिन हुँदैआइरहेको छ।
डुनडुरेखोलामा पुल नबनेकै कारण उत्तरी धादिङको रुबिभ्याली गाउँपालिकाअन्तर्गत पर्ने साविकको तिप्लिङ, सेर्तुङ, लापा र खनियाबास गाउँपालिकाअन्तर्गत पर्ने झार्लाङ जिल्ला सदरमुकामसँग सडक सञ्जालमा जोडिएको छैन। सेर्तुङको बोराङसम्म सडक खनिए पनि डुन्डुरे खोलामा पुल नहुँदा सवारीसाधन खोलावारि नै रोकिने गरेका छन्। यात्रुवाहक जिप र बसले यात्रुलाई डुन्डुरेसम्म मात्रै पु¥याउने गरेका छन्। निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान पनि डुन्डेरे खोलासम्म मात्र पु¥याउने गरिएको छ।
आधारभूत आवश्यकताबाटै वञ्चित हुनुपरेको स्थानीयको वर्षौंदेखिको माग र पहलपछि स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) ले पुल बनाउने सम्झौता गरेको थियो। तर पुलको डिजाइन नै गलत भएपछि पुल निर्माणमा ढिलाइ भएको हो। स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत डुन्डुरे खोलामा पाई आकारको स्ट्रिल ट्रस्ट ब्रिज बनाउन गत आवमै आरजे कन्स्ट्रक्सन–हिम्दुङ एन्ड थोकर कम्पनीले ठेक्का पाएको थियो। गत अगस्टमै पुल बनाइसक्नुपर्ने सम्झौता भए पनि भौगोलिक अवस्थाका कारण डिजाइन सुधार गर्नुपरेकाले पुल निर्माणमा ढिलाइ भएको साइड इन्चार्ज रामसिंह तामाङले बताए। ‘सम्झौता भएपछि डिजाइनअनुसार डुन्डुरे खोलामा पुल बनाउनसक्ने अवस्था रहेन, बीचमा डिजाइन सुधार गर्न समय लागेकाले पुल बन्न ढिलाइ भएको हो,’ उनले भने, ‘अहिले डिजाइन सुधार गरिएपछि स्ट्रिल ट्रस्ट ब्रिज बन्ने क्रममा छ।’
अहिले डुन्डुरे खोलाको दुवैतर्फ ट्रस्टका लागि फाउन्डेसन बनाउने काम भइरहेको छ। जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालका अनुसार आगामी असार मसान्तसम्ममा ठेकेदार कम्पनीलाई पुल बनाइसक्न निर्देशन दिइएको छ। तर भौगोलिक रूपमा विकट क्षेत्र रहेकाले तथा ट्रस्टका सामान लैजान समस्या पर्ने भएपछि आगामी असार मसान्तसम्ममा पनि काम सकिने छाँटकाँट देखिएको छैन। डुन्डुरे खोलामा पुल निर्माण सम्पन्न भए उत्तरी धादिङको विकास निर्माणमा कोशेढुंगा सावित हुनेछ। स्थानीयले भूकम्पपछि घर निर्माणका लागि आवश्यक निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री खच्चडलाई बोकाएर लैजाने गरेका छन्।
क्याप्सन ः
खनियाबास गाउँपालिकाको डुन्डुरेखोलामा बन्दै गरेको पक्की पुलको संरचना।
तस्बिर ः सरिता÷नागरिक
प्रकाशित: १ असार २०७६ ०२:३२ आइतबार