७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

टुर डे लुम्बिनी

देबेन्द्र बस्न्यात
‘टुर डे लुम्बिनी’ एउटा साइक्लिङ अभियानको नाम। चार दिने शान्ति साइकल यात्रालाई टुर डे लुम्बिनीका रूपमा ब्राण्डिङ गरिएको। काठमाडौंको स्वयम्भू महाचैत्य, भगवान पाउबाट साइक्लिङ सुरु भएर मुलुकका विभिन्न सहर भ्रमण गर्दै बुद्ध पूर्णिमाका दिन बुद्ध  जन्मस्थल लुम्बिनीमा पुगेर शान्ति दीप प्रज्ज्वलन गरेपछि टुर डे लुम्बिनीको समापन गरिन्छ।

यस अभियानमा स्वदेशी तथा विदेशी साइकलयात्री सहभागी हुन्छन्। काठमाडौंबाट यात्रा सुरु गर्दा सहभागी र स्वयंसेवक गरी करिब ७५ जना हुन्छन्। बिस्तारै हेटौंडा, नारायणगढ, बुटवल लगायत ठाउँबाट साइकलेहरू थपिएर लुम्बिनीसम्म पुग्दा न्यूनतम १०८ साइकल यात्री सहभागी गराइन्छ। १०८ संख्याले पूर्वीय दर्शनमा विशेष महत्व राख्छ।  

बुद्ध नेपालमा जन्मिएको सत्यलाई तोडमोड गर्ने प्रयास बेलाबेलामा भइरहन्छ। हाम्रो कार्यक्रमले केही हदसम्म त्यो भ्रम चिर्न सहयोग पु¥याएको छ। साथै दस वर्से द्वन्द्वबाट देशमा शान्ति बहाली भएपश्चात् खुसीयाली मनाउन हामीले यो साइक्लिङ अभियान सुरु गरेका थियौं। कार्यक्रमलाई देश विदेशमा प्रचार गर्ने, देशका विभिन्न भागबाट साइकल यात्रा गरी लुम्बिनी आउने। भय, चिन्ता, अशान्त, द्वन्दबाट आक्रान्त सांसारिक गृहस्थी जीवनयापन गर्ने आधुनिक समाजलाई बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धका शान्तिका सन्देश गहण गर्न प्रेरित गर्ने उद्देश्य बोकेको छ अभियानले।

वैशाख–जेठको धुपमा पाउदानी चाल्दै करिब ३७० किमी पार गरेर काठमाडौंबाट निस्केको चौंथो दिन अर्थात् बुद्ध पूर्णिमामा लुम्बिनी पुग्छौं हामी। हाम्रो ‘टुर डे लुम्बिनी’ अभियानले शान्तिको सन्देश फैलाउन, साइक्लिङ संस्कृति विकास गर्न र आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु¥याएको छ।

विसं ०६९ बाट ‘टुर डे लुम्बिनी’ नाम दिएर सुरु गरिएको शान्ति साइकल ¥याली ०७६ सम्म आइपुग्दा सातौंपटक गरियो। आठौंपटक हुनु पर्ने हो तर भूकम्प गएको वर्ष ०७२ सालमा साइक्लिङ गर्न सकिएन।   यसपाला पनि जेठ १ गते सबेरै स्वयम्भू भगवान् पाउको भुइँखेल चौरमा साइकल यात्रीको बाक्लो उपस्थिति थियो। बुद्धको २६४३ औं जयन्ती मनाउन चार दिने साइकल यात्रा सुरु गर्ने समयको प्रतिक्षामा थिए साइकलयात्री तथा स्वयंसेवकहरू।

हिजो जस्तो लाग्छ विश्व साइकल यात्री पुस्कर शाहले ‘अहिलेको वर्ष बुद्ध जयन्ती मनाउन लुम्बिनी जाऔं’ भनेको। दिन बितेको पत्तै नहुने। बुद्ध जयन्तीका अवसरमा सातौंपटक साइकल चलाउँदै लुम्बिनी जान लागेका बखत मथिङ्गलमा एक किसिमको भुमरी चलिरहेको थियो। ‘टुर डे लुम्बिनी’ विश्व साइकलयात्री प्रतिष्ठानले २०६९ सालमा पहिलोपटक आयोजना गरेको थियो। शान्ति साइकल ¥यालीको नेतृत्व पुस्कर शाहले सम्हाले। बुद्ध नेपालमा जन्मिएको विषयमा छिमेकीले बेलाबेला  बखेडा निकाल्ने गर्छन्। देश द्वन्द्वबाट बिस्तारै शान्ति बहालीको बाटोमा उन्मुख हुँदै गरेका अवस्था थियो त्यो। राजनीतिक आस्था, जाति, धर्म, क्षेत्रीयता आदि विभिन्न मुद्धाले फाटेको समाज। यी सबै विषयलाई शान्ति, एकता र सद्भावको लागि सांकेतिक रूपमै भए पनि सम्बोधन गर्न नागरिकस्तरबाट आयोजना गरिएको यो कार्यक्रम सान्दर्भिक लाग्यो। सहभागी तथा स्वयंसेवकका रूपमा म पनि मिसिएँ।

आज त्यसकै निरन्तरता स्वरुप सातौं वर्षको कार्यक्रम मनाउन जाँदै थियाैँ। मनमा कुरा खेल्दै गर्दा सहभागी तयार हुँदै थिए। धमाधम अतिथिहरू उपस्थित भए।
यात्रामा पहिलो दिन काठमाडौंबाट थानकोट, चन्द्रागिरि, चित्लाङ, कुन्छाल, पालुङ, दामन, भैंसे हुँदै हेटौंडा ११२ किमी यात्रा गरिन्छ। दोस्रो दिन हेटौंडा, मनहरि, लोथर, टाँडी, नारायणगढ, गैंडाकोट, रजहर भएर प्रिपहर १०४ किमी साइकल चलाइन्छ। तेस्रो दिन रजहर, कावासोती, चोरमारा, दुम्किबास, दाउन्ने, बर्दघाट, सुनवल, खैरहनी हुँदै बुटवल १०० किमी। र, चौंथो दिन बुटवलबाट नयाँगाउँ, सैनामैना, कुलौनी चोक, शिवगढिया पर्सा चोक भएर मायादेवी मन्दिर सम्म ४४ किमी यात्रा गरिन्छ।

पहिलो दिन
बौद्ध गुरुहरूले अष्ट मंगल उच्चारण गरेपछि भुइँखेलमा सहभागीहरूलाई टीका र तोरण लगाई दिएर, सगुन खुवाएर सफल यात्राको कामना गर्दै विदाइ गरिन्छ।
साइकलयात्रीका लागि सुरक्षा सबैभन्दा ठूलो चुनौती हो। सुरुका वर्षमा थानकोट–मुग्लिङ–नारायणगढ खण्ड भएर यात्रा गरिन्थ्यो। तिनताका थानकोट–मुग्लिङ–नारायणगढ खण्डमा अहिलेको दाँजोमा सवारी चाप कमै अनुभव गरिथ्यो। हालका वर्षमा उक्त खण्डमा सवारी चाप बढेको छ। मुग्लिङ– नारायणगढ खण्ड विस्तार हुन थालेसँगै यस कार्यक्रमको नियमित रुट परिवर्तन गरियो। ०७४ बाट चित्लाङ–दामन–पालुङ हुँदै हेटौडा पुग्छौं। पहिले साइकलमा चन्द्रागिरी चढ्नु निकै चुनौतीपूर्ण थियो। चन्द्रागिरीमा केवलकारको सुविधाले भने आम साइकल यात्रीलाई सहज बनाइदियो।

चित्लाङको बाटो रोज्नु सडक सुरक्षा, सहजता र विकल्पका लागि मात्र होइन, अर्थपूर्ण पनि छ। प्राचीनकालदेखिकै चल्तीको बाटो। धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक दृष्टिले महŒवपूर्ण। अझ बुद्ध जयन्तीमा यो बाटो प्रयोग गर्दा विशेष महŒव हुन्छ नै किनकि चित्लाङको अशोक चत्य दर्शन गर्न पाइन्छ। मौर्य सम्राट अशोकले ईसापूर्व करिब २६० मा कालिङ्गाको युद्ध जिते। ठूलो नर संहारपछि प्राप्त विजयबाट विरक्तिए। युद्ध जितेको केही वर्षमै राज पाठ छोडे, बुद्धका अनुयायी बने। एसियाभर बौद्ध दर्शन प्रचारमा जुटे। बुद्धसँग प्रसंग जोडिएका ठाउँमा स्मारक बनाउदै हिँडे। त्यही क्रममा छोरी चारुमतीसँग लुम्बिनीबाट चित्लाङ्गको बाटो भएर काठमाडौं घुम्न आए। सम्झनामा अशोक चैत्य बनाए। अशोककालीन प्राचीन चैत्य चित्लाङमा छँदै छ।

चित्लाङ, बिशंखेल हुँदै बज्रबाराहीमा साइकलेको दिवा भोजन हुन्छ। नेवार समुदायको बाहुल्यता रहेको बज्रबाराही (१,६०० मीटर)बाट २५ किमि दूरी तय गर्दै सिमभञ्ज्याङ (२,५०० मिटर) पार गर्नु निकै चुनौतीपूर्ण हुन्छ। सिम भञ्ज्याङबाट ४२ किमी ओह्रालो, १० किमीसम्म बाटो कटे पछि हेटौडा पुगिन्छ।  एकनासको ओह्रालो तर शान्त बाटो भएर करिब ३ घण्टामा सकुशल हेटौंडा पुगिन्छ।

दोस्रो दिन
पहिलो दिन उकालो–ओह्रालोको कठिन चुनौती सामना गरेर आएका साइकलयात्रीहरूले दोस्रो दिन बैशाख–जेठको प्रचण्ड गर्मी, राजमार्गको व्यस्त सडकमा साइकलको पाउदान मार्नु पर्ने। त्यो पनि थोरै होइन सय किमी। कार्यक्रमको दोस्रो दिन हेटौंडाबाट साइकलयात्री थपिन्छन्। बाटोमा भद्र, शालीन भएर साइकल चलाउँदा डफ्फा ठूलो हुन्छ। डफ्फा जति ठूलो भयो आयोजकलाई समस्या। घरबास जुटाउन, खाना तथा अन्य सुविधा जुटाउन।
चितवनको चर्को गर्मी, मद्यान्ह पछिको समय राजमार्गमा साइकल कुदाउनु निकै गाह्रो। केहिबेर गर्मी छलेर साँझपख पिप्रहर होमस्टेमा बास बस्न पुगिन्छ। त्यहाँ होमस्टेको बसाइ विशेष नै लाग्छ। पाहुनालाई गरिने आत्मीय व्यवहार, सरसफाइ, स्थानीय खानाका परिकार, रात्रि समयमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रम सबै चित्ताकर्षक हुन्छन्।

पिप्रहरमा एक रात बसाइले धित मर्दैन। यहाँ वरिपरि घुम्ने धोको सधैं अपुरो रह्यो। अझ नारायणी नदी पारिबाट गैंडाले दिएको दर्शनले त मन निक्कै चुक्चुकाउँछ।  
पिप्रहर (५०० मी.)बाट नारायणगढ (१५० मी)को सतहमा हुँदै आँउदाको निकै उखरमाउलो गर्मी बिर्साउँछ। यहाँ हाँस, कुखुरा, माछा, घोंगी, लगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ।

तेस्रो दिन
सबेरै साइकलयात्रीको कल्पना दाउन्नेको उकालोमा गएर रोकिन्छ। पिप्रहरबाट करिब ५५ किमी दूरी तय गरेपछि दाउन्ने पुगिन्छ। सामथ्र्य जाँच गर्ने ठाँउका रूपमा लिन्छन् हरेक साइकलयात्रीहरू दाउन्नेको उकालोलाई। दिवा खाना खाने समयभन्दा अगाडि सात किमी उकालो उकालो काट्नु पर्ने। मध्यान्हको गर्मी, सडकको अवस्था, सवारीको चाप, तेस्रो दिनको लामो यात्रा तथा विविध कारणले दाउन्नेको उकालो चुनौतीपूर्ण बन्छ।
उखर्माउलो गर्मीमा पाउदान मार्दै उकालो लाग्दा अनुभवमा काँचा साइकलेको सातो उडाउँछ। बाटोमा सितल भन्ने कहिं छैन। हिम्मत नहार्ने यात्रीले सकुन्जेल चढ्छन्। नसके पछि डोहो¥याउँछन्। घिस्रेरै भए पनि लक्ष्यमा पु¥याउँछन्। त्यसपछिको असीम आनन्द अनुभूत गर्छन। पूर्व तयारी र अभ्यस्त साइकलेहरू सहजै चढ्छन्। केहिले आफूलाई हिम्मतदार सावित गर्न सफल हुन्छन्। कतिपयले हिम्मत हारेर गाडीको सहायता लिन्छन्। दाउन्नेमा दिवा खाना पछि तेस्रो दिनको गन्तव्य बुटवल पुगेर समाप्त हुन्छ।

चौंथो दिन
यात्राको अन्तिम दिन, करिव ४५ किमी यात्रा गर्न बाँकी हुन्छ। बुटबलबाट स्थानीय साइकल यात्रीहरू थपिन्छन्। यहाँबाट निस्कँदा साइकलयात्रीको लाम लामोे बन्छ। ठाउँठाउँमा बाजागाजासहित स्वागत कार्यक्रम हुन्छ। स्थानीयको स्वागत ग्रहण गर्दै लुम्बिनीको मायादेवी मन्दिरमा पुगेपछि कार्यक्रमले विश्राम लिन्छ। त्यहाँ पुगेपछि साइकलेहरू मायादेवी दर्शन गर्ने, प्रवचन वा ध्यानमा सरिक हुने र घुमफिर गर्ने गर्छन्। साँझ मायादेवी मन्दिरमा बत्ती बालेर फर्कन्छन्। यसरी टुर डे लुम्बिनी यात्रा पूरा हुन्छ।

थप कुरा
पहिलो वर्षका अधिकांश सहभागी तन्नेरी थिए। केहि जोसिला तन्नेरीका साइकल हेर्दा सबै लुम्बिनी पुग्नेमा ढुक्क थिइनँ म। कतिपय साइकल पुराना, मर्मतै नभएका। कतिपय त साइकल मात्र चढ्न जानेका, अनुभव भने निकै कम। साइकलको गियर चलाउन पनि नजान्ने। तैपनि लुम्बिनी जाने आँट भने अदम्य। उनीहरूलाई आँट जगाउनेचाहिँ पुष्कर शाह नै हुन्। उनको चाहना विश्व साइकलयात्रामा संगालेका अनुभव आफ्नो माटोमा पोखेर जन्मभूमिलाई उर्वर बनाउनु थियो।

आयोजकको उद्देश्य राम्रो। साइकलयात्रीको पूर्व तयारी निकै फितलो। कार्यक्रम व्यवस्थापनका लागि सिमित स्रोत, साधन, सडक सुरक्षा, आदि चुनौतीका चाङ। साइकलप्रेमीहरूको समूहगत कार्य, आपसी सहयोगको भावनाले चुनौतीका बाबजुद तीन दिने कार्यक्रम कुशलतापूर्वक सम्पन्न भयो। तन्नेरीको हुलमा सबैभन्दा पाका थिए मेघ आले। यात्रामा बाटो काट्दै गर्दा मेघ दाइ पाउदान मार्दै ठूल–ठूला महत्वाकांक्षी सपना देख्थे। ती सपना भलीभाँती मलाई बाँड्थे। सपना चानचुने होइन, ‘टुर डे लुम्बिनी’लाई भविष्यमा ‘टुर डे फ्रान्स’ जस्तै रेस खेलाउने विश्वव्यापी बनाउने। लाखौंलाख पर्यटक भिœयाउने। आर्थिक सम्वृद्धिमा टेवा पु¥याउने। यसलाई संस्थागत गर्दै भव्य बनाउने।

पुस्कर शाह व्यवहारिक पक्षबारे जोड दिन्थे र भन्थे, ‘खै र नेपालमा साइक्लिङ विधामा रोड रेस स्थपित भएको। अधिकतम नेपाली नागरिकको साइकल प्रतिको मोह जगाउन सक्नु पर्छ। हजारौं हजार साइकलयात्री लुम्बिनी ल्याउन सक्नु पर्छ अनि मात्र रेसका सपना साकार हुन्छ।’   संसारमा असम्भव केही छैन, लाखौं माइल यात्रा गर्न संघार बाहिर पाइलो राख्नै पर्छ। हरेक पाइलाले यात्राको गन्तव्यतर्पm डोहो¥याउँछ। केही त गर्नु पर्छ भनेर मेघ दाइ र शाह दुवैको भावना समेटेर ‘टुर डे लुम्बिनी’ नाम राखेर संस्था पनि स्थापना भयो। संस्था स्थापना ठूलो कुरो भएन, नियमित कार्यक्रम चलाउनु ठूलो कुरा हो। अनुभव, स्रोत साधन, दक्ष मानव संसाधन, आर्थिक तथा अन्य विविध कठिनाइका बावजुद सहयोगी मनहरूको सहयोगले हरेक वर्ष निरन्तर जगमा ईटा थप्ने काम भयो।  

कार्यक्रम कसरी उत्कृष्ट बनाउने भन्ने सिलसिलामा हरेक वर्ष नयाँ प्रयोग गर्दै गयौं। ७३ सालको कार्यक्रममा अलि नौलोपन दिने, सहभागीलाई टेन्ट क्याम्पको अनुभव दिलाउने, नयाँ स्वाद चखाउने प्रयास गरियो। पहिलो रात कुरिनटार, दोस्रो रात आरुङ खोला र तेस्रो रात भैरहवा क्रिकेट ग्राउण्डमा टेन्ट क्याम्प गरीयो। केही सहभागी टेन्ट क्याम्प गर्न निकै उत्साहित थिए भने केही त्रसित। तेस्रो दिन साँझपख रंगीचंगी टेन्टले झकिझकाउ भैरहवा क्रिकेट ग्राउण्ड छेवैमा सहभागी मध्येले सर्प देखेको कुराले धेरैको मन चिसो भयो। केही यात्री राति होटलतर्फ लागे। धेरैजसो त चौरमा खानपिन, नाचगान, ठट्टा हाँसोमै मस्त थिए। साँझको शीतल मन्द हावा मध्यरातमा हुरीमा परिणत भयो। बिहानसम्मको हुरी र पानीले कतिपय पाल च्यातिए, भागदौड मच्चियो। साइकलयात्रीको कन्त विजोग भयो। समस्याका बाबजुद धैर्यपूर्वक सम्हालेर कार्यक्रम सफल भयो।  

पाँचौं कार्यक्रमको जिम्मा आफ्नै काँधमा आयो। ०७४ सालबाट कार्यक्रमलाई एउटा उचाइमा पु¥याउने संकल्पकासाथ धेरै हेरफेर गरियो। विगत चार बर्षमा प्रयोग भएका रुट परिवर्तन गर्ने। टेन्टको विकल्पमा सामुदायिक होमस्टे खोज्ने। होमस्टे नभएको ठाँउमा स्थानीय होटल खोज्ने। अन्य प्राविधिक पक्षमा सुधार गरेर कार्यक्रम संचालन गर्ने। उपलब्ध हुन सक्ने सम्मको स्रोतसाधन खोजी गर्ने र अधिकतम परिचालन गर्ने। साइक्लिङ क्षेत्रका अनुभवी व्यक्तित्वहरू रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठले स्वयं सेवक भएर कार्यक्रम व्यवस्थापनमा सघाए। ७३ सालको पीडालाई ०७४ सालको अनुभवले बिर्साउन मद्दत ग¥यो।    

०७६ सालसम्म आइपुग्दा विभिन्न जिल्लाबाट सहभागिता बढ्दो छ। पछिल्ला वर्षमा उदयपुर, हेटौंडा, नारायणगढ, पोखरा, धरान, बुटवल, कपिलवस्तु, नेपालगञ्जबाट पनि सहभागी थपिन थालेका छन्। विदेशमा पनि बिस्तारै प्रचार हुँदै छ। यसपालि थाइल्याण्डबाट दश जना सहभागी आउनुले अभियानको भविष्य सुखद् रहेको संकेत मिलेको छ।

थाइल्याण्डबाट आएका साइकलयात्रीहरूले दुई देश बीचका जनता माझ आपसी सद्भाव कायम गर्न विद्यालयका विपन्न छात्राहरूलाई साइकल वितरण गरे। चितवन खुरखुरेका १२, नवलपरासी रजहरका १३ र लुम्बिनीका १० गरी ३५ जना छात्राले साइकल उपहार पाएर खुसीयाली मनाए।  

कार्यक्रम सफल बनाउन पर्यटन बोर्डको सहयोग निरन्तर छ। त्यसै गरी नेपाल टेलिकमले पनि आर्थिक सहयोग गरेको छ। कार्यक्रम सुचारु गराउन नेपाली चुल्होका तर्फबाट २ वटा, चियरफुल होलिडेका तर्फबाट एउटा जिप प्रयोग गर्न दिएर साइकल यात्रीलाई सहयोग पु¥याइयो। त्यसै गरी पहिलो दिनको दिवा खाना थाहा नगरपालिकाका नगर प्रमुखले खुवाए। दोस्रो दिनको दिवा खाना समाजसेवी हरिकुमार सिलवालले खुवाए।

बुटवल पुगेको साँझ रुपन्देही जिल्ला साइकल संघ, पेट्रोलियम डिलर्स एसोसिएसन, बुटवल साइकल सिटिले स्वगत गरे। बुटवलबाट लुम्बिनी जाँदा नयाँ गाउँमा नेपाल मगर संघ, सैना मैना तथा कलौनीका स्थानीयले न्यानो स्वागत गरे।     

यात्राका उपलब्धीहरू
लुम्बिनी साइकल यात्रामा बितेका सात बर्षको दौरानमा परिवर्तन धेरै देखिए। धेरै भोगियो, धेरै सिकियो। जीवन सँधै भोगाइ र सिकाइ नै रहेछ। कार्यक्रम गर्दा हरेक वर्ष नयाँनयाँ समस्या र चुनौती आइपरे। यसले आयोजक तथा साइकल यात्राका सहभागीलाई धेरै पाठ सिकायो। साइकल प्रेमीका लागि यो कार्यक्रमले उत्प्रेरकको भूमिका निर्वाह गरेको छ। विगतमा सहभागीले स्थानीयस्तरमा विविध कार्यक्रम संचालन गरेका छन्। यस्ता गतिविधिले साइकल संस्कृति, साइकलप्रेमी समूह, साइकल व्यवसाय पनि केहि मात्रामा फस्टाउने मौका मिलेको छ। नयाँ गन्तव्य पहिचान गर्न मद्दत गरेको छ। घुमफिर संस्कृति बढाएको छ। जनस्तरमा आपसमा मित्रता, भाइचाराको भावना स्थापित गरेर सामजिक सद्भाव बढाउन मद्दत गरेको छ। थोरै भए पनि स्थानीय स्तरमा आम्दानीका स्रोत बाँडफाँड गराएको छ। यसका फाईदा धेरै छन्। यतिमै सन्तुष्टि मान्नु हुँदैन।

टुर डे लुम्बिनी कार्यक्रमलाई व्यापक बनाउन देशका विभिन्न सहरबाट शान्ति ¥याली लुम्बिनी उतार्न सकिएको छैन। पाँच नंम्बर प्रदेशकै अत्यधिक सहभागी उतार्न सकिएको छैन। विदेशमा प्रचा प्रसारको कमी छ। स्थानीय सरकार, प्रदेश सरकार, पर्यटन बोर्डलगायत अन्य साझेदारहरूले वार्षिक कार्यक्रम पात्रोमा राख्ने गरेमा, स्थानीय सहभागिताका लागि प्रेरित गरेमा र कार्यक्रमको अपनत्व लिएर सहयोग गर्न सके यसको व्यापकता अझ बढ्छ।
आयोजकले पनि दक्षता बढाउन सक्नु पर्छ। आर्थिक पक्ष सबल बनाउन प्रायोजकहरू बढाउने। नयाँ स्वयंसेवक उत्पादन गरी जिम्मेवारी बहन गर्न सक्ने बनाउन सिकाउनु पर्छ। हरेक नगरपालिकाबाट बुद्ध जयन्तीमा शान्ति साइकल ¥यालीमा सहभागीको जमात बढाउन सक्नु पर्छ। अनि मात्र यसले परिकल्पना पूरा हुन्छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App