१६ चैत्र २०८० शुक्रबार
समाज

हुरीपीडितका लागि नमुना घर, चार सय १० घरको जग खनियो

हुरीपीडितका सेनाले पुरैनियामा निर्माण गरेको लागि नमुना घर। तस्बिर: नागरिक

बारा - नेपाली सेनाले हुरीपीडितका लागि फूलवरिया, चैनपुर र पुरैनियामा नमुना घर बनाएको छ। गत चैत १७ गते आएको विनाशकारी हुरीबाट क्षति भएका घरहरूको पुनर्निर्माण गर्न वैशाख २१ गते शिलान्यास गरिएको थियो।

‘हुरीपीडित परिवारका लागि निर्माण हुने घरको बारेमा सम्बन्धी पक्षलाई जानकारी गराउन सुरुमा नमुना घर निर्माण गरिएको हो,’ जनता आवास कार्यदलको नेतृत्व गरिरहेका सेनाका सहायक रथी विनयविक्रम राणाले भने, ‘नमुना घर निर्माण गरिएपछि सेना र हुरीपीडित परिवार दुवैलाई सजिलो भएको छ।’

निर्माण गरिने घरहरू वातावरणमैत्री हुनुपर्ने माग आएपछि नमुना घरमा त्यसैअनुसारको निर्माण सामग्री प्रयोग गरिएको सहायक रथी राणाले बताए। अत्यधिक गार्मी हुने भएकाले घरको छानामा कोरियन कम्पनीले निर्माण गरेको कम गर्मी दिने आधुनिक जस्तापाता प्रयोग गरिएको छ। घरमा झयाल, कोठालगायत सामग्रीहरू वातावरणमैत्री रहेकाले निर्माणाधिन घरमा चिसो, गर्मी र वर्षायाम गरी तीनै मौसममा बस्न सजिलो हुने सेनाको दाबी छ।

हाल तीन स्थानमा एउटा–एउटा नमुना घर निर्माण गरिए पनि पहिलो चरणमा निर्माण गरिने घरहरू कार्य तिब्र गतिमा अगाडि बढाइएको सहायक रथी राणाले बताए। पहिलो चरणमा जेठ अन्तिम हप्तासम्म चार सय ८२ वटा घर निर्माण गर्नेगरी काम अगाडि बढाइएको उनले बताए।

क्षति भएका घरहरूमध्ये सेनाले एक हजार ६२ घरमात्रै निर्माण गर्ने भएपछि एक हजार एक सय ३१ घरहरू त्यसै रहने अवस्था छ।

निर्माणाधीन चार सय ८२ वटा घरमध्ये अहिलेसम्म चार सय १० घरको जग खन्ने कार्य सकिएको, जग खनिएकोमध्ये एक सय ७८ घरहरूको तीन फिटसम्म इँटाको पर्खाल जडान गरिएको र ७७ वटा घरहरूको जगभन्दा माथि पर्खाल लगाएर त्यसमा फलामको पिलर राखिएको राणाले बताए।

पहिलो चरणमा सुरु गरिएका घरहरूको निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा पनि चार सय ८२ घर निर्माण गरिने र तेस्रो चरणमा तीन महिनाभित्र एक हजार तीन सय ६२ वटा घर निर्माण गर्नेगरी सैनिक जनशक्ति परिचालित भएको छ। आगामी साउन अन्तिम हप्तासम्मा पूर्ण क्षति भएका सबै घरहरूको निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको सेनाका अधिकारीहरूले जनाएका छन्।

हुरीपीडितका लागि निर्माण गर्न लागिएको घरमा दुईवटा कोठा, एउटा बरन्डा र एउटा बाथरुम रहेको छ। सेनाले निर्माण गर्न जिम्मा पाएको एउटा घरको निर्माण मूल्य अभिवृद्धि करसहित पाँच लाख ४५ हजार रुपैयाँ खर्च हुने बताइएको छ।

हुरीबाट बाराका आठ स्थानीय तहका विभिन्न गाउँमा गरी दुई हजार चार सय ९३ घरहरूमा क्षति भएको विवरण सुरुमा जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक गरेको थियो। क्षति भएका घरहरूमध्ये सेनाले एक हजार तीन सय ६२ घरमात्रै निर्माण गर्ने भएपछि एक हजार एक सय ३१ घरहरू त्यसै रहने अवस्था छ। हुरीबाट पूर्णरूपले क्षति भएको एक हजार तीन सय ६२ घरहरू पहिलो प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाइएको सेनाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार फेटा गाउँपालिकाको भलुही भरवलियामा एक सय ७४, पुरैनिया ६८, कलैया उपमहागनरपालिकाको मनगढवामा एक सय ८८, धर्मनगरमा एक, फूलवरियामा १५, सुवर्ण गाउँपालिकाको हर्दियामा एक सय ४३, पशरामपुरमा ६५, औरहिया र पशरामपुरमा २०, प्रसौनी गाउँपालिकाको खुटवामा एक सय ५६, महागढीमाई नगरपालिकाको तेलगाईमा ५७, देवताल गाउँपालिकाको रामपुर्वामा ७७, पचरौता नगरपालिकाको बेनौलीमा २८, बैरियामा सात र परवानीपुर गाउँपालिकाको शिवपुर, रामटोल र बिर्ताटोलमा दुई सय ७२ गरी पहिलो चरणमा एक हजार तीन सय ६२ घर निर्माण कार्य अगाडि बढेको छ।

प्रकाशित: २० जेष्ठ २०७६ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App