१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

क्रसरका कारण सिंगो बस्ती सुक्खा

कालाकाटे डाँडागाउँमा धाराअगाडि गाग्रीको लाम। तस्बिर: देवेन्द्र बस्नेत/नागरिक

दाङ - धारामा पानी थाप्न बिहानैदेखि गाग्रीको लस्कर लाग्छ तर पानी भने अर्को दिन बिहान झिसमिसेमा बल्ल भरिन्छ। भरिएको पानी पनि सारा गाउँलेले भागबन्डा गर्नुपर्छ। एक घरको भागमा पर्छ– मात्र दुई गाग्री पानी।

देउखुरी गढवा गाउँपालिका–१ कालाकाटे डाँडागाउँमा गर्मीयाम सुरु भयो कि पानीको हाहाकार हुन्छ। गाउँनजिकै इनार छ। इनारमा पानी सुक्दै गइरहेको छ। त्यही इनारको पानी मोटर जडान गरेर धारासम्म ल्याइन्छ। ३२ घर–परिवार रहेको यो गाउँका नागरिक अहिले पानी बाँडफाँट गरेरै पिउने गरेका छन्। ‘एक घरलाई दुई गाग्री भागमा पानी पर्छ,’ सिर्जना पुनले भनिन् ‘दिनभरिका लागि त्यही दुई गाग्री पानीमात्रै हो।’

भागबन्डामा मिल्ने दुई गाग्री पानीले नपुग्ने हुँदा नजिकै रहेको खोलाको फोहर (लेदो)सहितको पानी छानेर पिउन बाध्य हुनुपरेको उनले सुनाइन्। ‘दुई गाग्रीले खाना बनाउन, पिउने कहाँ पुग्छ ?’ उनले भनिन्, ‘खोलाको पानी ल्याएर पिउँछौं।’ उनका अनुसार धारामा झिसमिसेमा एकपटकमात्रै पानी आउँछ। सुक्खा बन्दै गएको इनारबाट आउने सीमित पानी गाग्रीमा भागबन्डा हुन्छ। भागबन्डामा पाएको पानी भाँडोमा खन्याएर गाग्री फेरि धारामै लाइन लगाइन्छ। ‘फागुन महिनादेखि हामी त काकाकुलबराबर हुनुपर्छ,’ पुनले भनिन्।

२०६० सालसम्म समथर भूभाग (रणनसिङ) खोलाको छेउमा थियो। २०६० सालमा खोलामा आएको बाढीले बस्ती सोहो-यो। बाढीले लखेटेपछि यो बस्तीका नागरिक डाँडातिर उक्लिए। गाउँमा रहेको पानीको स्रोत इनार पनि बर्सेनि सुक्खा बन्दै जान थाल्यो। कारण– खोलैभरि क्रसर उद्योग भरिए। क्रसरले खोलामा गरेको मनपरी उत्खननका कारण पानीको सतह भासिँदै गयो। खोलामा पानी सुक्दै जान थाल्यो, त्यसको असर खोलानजिकैको इनारमा पनि प-यो। गर्मीयाम सुरु भयो कि इनार सुक्खा भइहाल्छ। ‘खोलैभरि क्रसरमात्रै भरिएका छन्, क्रसरले खोला सुकाए, इनारसमेत सुकाइदिए,’ स्थानीय नेत्र केसीले भने, ‘क्रसरले हामीलाई काकाकुल बनाएर नाफा कमाइरहेका छन्।’

क्रसरका कारण इनारमा पानीको मात्रा घट्दै गएको दाबी गर्ने स्थानीयले क्रसरकै कारण अस्वस्थ पानी पिउनुपरेको गुनासो गरे। बस्तीदेखि खोलाको उपल्लो क्षेत्रमा सञ्चालन गरिएका क्रसरहरूले खोला खनिरहेका त छन् नै, त्यसमाथि गिटी–बालुवा धोएको फोहर पानी सीधै खोलामा बगाइदिन्छन्। ‘क्रसरले बालुवा धोएको लेदोसहितको पानी खोलामै छोडिदिन्छन्, हामी त्यही पानी पिउन बाध्य छौं,’ स्थानीय प्रेम पुनले भने ‘गिटी–बालुवा धोएको लेदो खोलामा नहालिदिए पनि धेरै राहत हुन्थ्यो।’

पर्याप्त पानी नभएका कारण बालबालिकाहरूसमेत त्यही खोलाको फोहर पानी पिउन बाध्य छन्। ‘घरमा भएको पानी सकिइहाल्छ अनि खोलामा गएर पानी पिउँछौं,’ तीन कक्षामा अध्ययनरत निर्मल परियारले भने, ‘फोहर भए पनि पानी त पिउनै प-यो।’

फोहर पानी पिएकै कारण स्थानीय बिरामीसमेत पर्ने गरेका छन्। फोहर पानीका कारण शरीर चिलाउने समस्या देखिने गरेको स्थानीय बताउँछन्। यो गाउँमा वडा कार्यालयले केही समयअघि स्वास्थ्य शिविरसमेत आयोजना गरेको थियो। ‘यहाँका नागरिकले फोहर पानी पिएका कारण शरीर चिलाउने समस्या भएको जानकारी हेलो सरकारसम्म पुगेछ,’ वडाध्यक्ष बाबुराम अधिकारीले भने, ‘त्यसपछि हामीले गाउँमै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियौं, त्यो बेला फोहर पानी पिएका कारण स्वास्थ्य समस्या आएको देखिएको थियो।’

डाँडागाउँमा पिउने पानीको समस्या विकराल भएपछि वडा कार्यालयले यो बस्तीमा पिउने पानीको सहजताका लागि पहल थालेका छन्। अहिले बस्तीनजिकै ठूलो इनार निर्माणको काम थालिएको छ। वडाध्यक्ष अधिकारी भन्छन्, ‘यो इनार निर्माण पूरा भएपछि यहाँ पानीका लागि धेरै सहजता हुनेछ, लामो समयदेखि यो बस्तीले पानीको विकराल समस्या खेप्दै आएको छ, हामी यो समस्याप्रति गम्भीर छौं।’ वडा कार्यालयले दुई लाख रूपैयाँ लागतमा नयाँ इनार खन्ने काम गरिरहेको छ।

प्रकाशित: १८ जेष्ठ २०७६ ०१:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App