८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

डोल्पाका यार्चा पाटनमा अस्थायी मानवबस्ती

डोल्पा- विगतका वर्षहरुझै यो वर्ष पनि हिमाली जिल्ला डोल्पाका पाटनहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्नेको भिड लागेको छ।

एक पटकको कमाईले वर्षभरिको घरखर्च र पढाई खर्च समेत धान्ने भएपछि मानिसहरु अहिले गाउँघर खालीगरेरै यार्सागुम्बा पाइने हिमपाटनहरुमा अस्थाई बस्ती बसालेका छन।

प्रत्येक वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्मको समयावधी बेमौसमी खेती मानिने यार्सागुम्बालाई घर भित्र्याउने समयको रुपमा डोल्पालीले लिदै आएका छन्।

डोल्पाली मात्र होइनन् छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, दैलेख र जुम्ला लगायत नेपालगन्ज काठमाडौं, सिन्धुपाल्चोक र रामेछापसम्मका हजारौ मानिसहरुलाई हिमपाटनहरुमा बहुमुल्य जडिबुटी यार्सागुम्बाले तानेको छ।

एक पटकको कष्टपूर्ण संघर्षबाट मनग्य आम्दानी हुने भएपछि मानिसहरु यार्सागुम्बा प्राप्तीको जोखिपूर्ण यात्रासंग रमाई रमाई जस्तोसुकै दु:ख र पीडालाई पनि यार्साको प्रयाप्ती पछि भुल्ने गर्छन।

'उमेरले नेटो काटि सक्यो पहिलेको जस्तो घामपानी असिना केहि नभेर पचाउने अवस्था अहिले छैन। यो वर्ष हिउँपनि धेरै पर्यो जाडो पनि धेरै छ। उमेर र मौसम फेरबदलका कारण यो वर्ष पाटन नजाने निधो गरेको थिएँ तर मनले मान्दै मानेन',  ठूलीभेरी नगरपालिका ६ दुरगाउँका ६९ वषीय गोरे रोकायले भने,  'गाउँका सबै जना नाबालक सहित पाटन तीर गएपछि मन पनि त्यसै थामिएन र म पनि तरपरे पाटनमा पुगेर अरुसरह नै यार्सा खोज्दैछु।'

उमेर छदा र आँखाले भ्याएसम्म विगतमा दिनको ५० देखि ६० ओटासम्म यार्सा टिपेका उनले अहिले तीन दिनमा बल्ल बल्ल ६ ओटा मात्र पाउन सफल भएको बताए। 'एक वटा यार्सा भनेको हजारको नोट हो', उनले भने, 'लक्ष्मी पाउन सहज हुदैन यो त भाग्यमा लेखेकाले मात्र पाउँछन।' यसो त पाटन पुगेका सबैले यार्सा पाएर फर्कन्छन भन्ने छैन।

रोकायाले भने झै कसैले दिनमा एक सयदेखि दुई सय ओटा जीवनबुटीसम्म पनि पाउने गर्छन त कसैले महिनाभर बसेपनि खाली हात फर्कने गर्छन।

यत्तिखेर मानिसहरु पाटनमा गएकाले डोल्पाका गाउँबस्तीहरुमा सन्नाटा छाएको छ। के दुधेवालक के वृद्ध के अपाङ्ग के अशक्त के विद्यार्थी सबैजना पाटनमा प्रकृतिप्रदत्त हिमाली सुन भनेर चिनिने यार्सागुम्बा टिप्न गएपछि गाउँघर सुनसान बनेका छन। डोल्पाका सरकारी कार्यालयमा कार्यरत कर्मचारी समेत विदा मिलाएर पाटनमा जीवनबुटी टिपीरहेका छन।

विद्यार्थी र शिक्षक यार्सा टिप्न पाटनमा आएकाले जिल्लाका १ सय १५ ओटै सामुदायिक विद्यालयहरुमा असार १५ सम्मको लागि ताला लागेका छन्।

त्रिपुरासुन्दरी नगरपालिका १ का ९६ वर्षिय विष्णुरुद्र उपाध्यायले भने, 'सबैजना यार्सा टिप्नैको लागि पाटन गका छन्। गाउँ सुनसान छ यसो बसेर समय बिताउ भनेपनि साथी छैनन्।'

गाउँघरमा कोही कसैलाई तलमाथि भयो भने फाल्ने मलामी पाउन पनि गाह्रो हुने अवस्था भएको  उपाध्यायले बताए।

तिब्बती भाषामा यार्चाकुन्भूको परिभाषा यार भनेको वर्षा,चा भनेको घाँस वा झार,कुन् भनेको हिउँद र भू भनेको कीरा हो। तसर्थ यसको नाम वर्षे झार हिउँदे कीरा पनि हुन आउँछ।

हिउँमा हिउँदभित्र कीराको रुपमा रहने र हिउँ पग्लेपछि बनस्पतीको रुपमा जमिनमाथी देखापर्ने हुँदा यसलाई यार्चाकुन्भू भन्ने गरिएको भनाई छ।

यार्सागुम्बा पाइने बस्तीहरुमा यसलाई जीवनबुटी,जरा,च्याउ,च्याउकीरा,कीरा,र हरियो सुनको नामले चिन्ने गरेको डिभिजन बन कार्यालय डोल्पाका प्रमुख नरबहादुर क्षेत्री बताउँछन्।

वनस्पति र प्राणी दुवैको विशेषतायुक्त यो यार्साकुन्भू बहुउपयोगी जडीवुटीको रुपमा चिनिन्छ। यार्चाकुन्भू औसत ५.० देखि १० से.मि. लामो र १.८ देखि २.१ से.मि.मोटो र सुनौलो तामा रङको हुने गर्छ।

यसको औसत तौल ०.५० देखि ४.२ ग्रामसम्म हुने र डोल्पामा पाइने  यार्सागुम्बा अपेक्षाकृत ठूलो आकारको हुने र एक किलोग्राममा २ हजार ५ सयदेखि ३ हजार ३ सय वटासम्म यार्सागुम्बा हुने जिल्ला डिभिजन बन कार्यालय डोल्पाले प्रकाशित गरेको यार्सागुम्बा परिचय हाते पुस्तकमा उल्लेख छ।

डोल्पा र दार्चुला जिल्लामा मुख्यरुपमा पाइने भएपनि मुगु, हुम्ला, जुम्ला, मनाङ, गोरखा,बझाङ्ग,रुकुम,लमजुङ,सिन्धुपाल्चोक,संखुवासभा,धादिङ,ताप्लेजुङ र रसुवा लगायतका २० ओटा नेपालका जिल्ला र भुटान,भारत,चीन र तिब्बतमा पनि यार्सागुम्बा पाइन्छ।

सामान्यतया ६ महिना हिउँ पर्ने र ६ महिना हिउँ पग्लने हिमरेखाको आसपास समुद्र सतहबाट ३ हजारदेखि ५५ सय मिटरसम्मको घाम लाग्ने पारिलो मोहडाका पाटन क्षेत्रमा यार्सागुम्बा पइने अनुसन्धान कर्ता शिव देवकोटाले ०६४ सालमा डोल्पामा गरेको सर्वेक्षणमा उल्लेख छ।

प्रतिगोटा २००  देखि ३०० रुपैयाँसम्म पाटन क्षेत्रमा मुल्य पर्ने यो यार्सागुम्बा डोल्पाको सदरमुकाम दुनै आइपुग्दासम्म प्रतिगोटाको ५०० देखि १००० रुपैयासम्म पर्ने गर्छ।

डोल्पामा प्रतिकिलो यार्सागुम्बाको १४ देखि १६ लाखसम्म पर्छ भने छिमेकीमुलुक चीनको स्वशासित क्षेत्र तिब्बतमा १६ देखि २६ लाखसम्म पर्ने गर्छ। यार्सागुम्बा डोल्पालीको लागि आयआर्जनको राम्रो स्रोत बन्दै आएको छ।

यो वर्ष शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज बन क्षेत्रमा पर्ने सामुदायिक बनहरुमा जेठको १३ गतेबाट यार्सागुम्बा संकलनको लागि पाटन खुला गरिएपनि नीजि तथा सामुदायिक बनहरुमा पर्ने यार्सापाटनहरु जेठ १५ बाट खुला गरिएका छन्।

निकुन्ज बन क्षेत्रमा पर्ने हिमपाटनहरुमा बाहिरी जिल्लाबाट मात्र ७ हजार ९ सय ९९ जना यार्सासंकलकहरुले पास प्राप्त गरेका छन्।

निकुन्जको सुलिगाड नाका लगायत त्रिपुराकोट बगर नाकामा पेस गरेको विवरणको आधारमा शुरुवातीमा २ करोड ९१ लख रुपैयाँ उठेको र अन्य निकुन्ज नाकाको राजस्व के कति उठ्यो विवरण आउन बाँकी रहेको निकुन्जका संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए।

साविकको माझफाल गाविस हालको ठूलीभेरी नगरपालिका ५ र ६ मा पर्ने बाघडाँडा,तरपरे,रुपपाटन,माटे र साइक्वारी यार्सापाटनमा मात्र बर्षनी ४० हजार भन्दा धेरै यार्सासंलकहरु प्रवेश गर्ने गरेको जिल्ला डिभिजन बन कार्यालयको रेकर्डमा उल्लेख छ। वर्षनी हजारौको संख्यामा मनिसहरु डोल्पा प्रवेश गर्ने र अब्यवस्थित संकलन पद्दतिका कारण यार्सागुम्बाको उपलब्धतामा ह्रास दाउराको अधिक प्रयोग बन्यजन्तुको शिकार आगलागी जस्ता कारणले जैविक विविधता संरक्षणमा चुनौती थपिदिएको छ।

 

 

 

 

 

 

 

 

प्रकाशित: १७ जेष्ठ २०७६ ०७:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App