१६ चैत्र २०८० शुक्रबार
समाज

सैनिक जवान हत्याका प्रतिवादी पक्राउ

लहान– बिदामा घर आएका सैनिक जवानलाई कुटपिट गरि हत्या गर्नमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरियारपट्टी–४ स्थित तेनुवापट्टी गाउँका ३८ वर्षिय मंगल साह रहेका छन्। 

बरियारपट्टी–४ सोहपुरस्थित घर आएका सैनिक जवान २५ वर्षीय अनिसकुमार सिंहलाई गत वैशाख २८ गने राति बिजुलीको पोलमा बाँधेर तेनुवापट्टीका केही व्यक्तिले कुटपीट गरेका थिए।

स्थानीयको कुटाइबाट घाइते उनको काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा जेठ १ गत्ते मृत्यु भएको थियो। अनिस संखुवासभाको खाँदबारीस्थित बराहदल गुल्ममा कार्यरत थिए।

तेनुवापट्टीका विलक्षण यादवको घरमा चोरी गर्न आएको भन्दै अनिसलाई पक्राउ गरेर स्थानीयले बिजुलीको पोलमा बाँधेर मरनासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिटको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भएको थियो।

पोलमा बाँधेको ठाउँबाट आफन्तले अनिसलाई बिहान ४ बजेमात्र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो। विराटनगरमा समेत उपचार हुन नसकेपछि वैशाख ३० मा अनिसलाई छाउनी लगिएको थियो।

अनिसको मृत्युलगत्तै तेनुवापट्टीको उत्तरबारी टोल सुनसानप्रायः भएको थियो। अधिकांश पुरुषहरु आफूलाई पोल्ने (आरोपित बनाउने) डरले गाउँ छाडेका छन्। विलक्षणको घरमा समेत ताला झुण्डिएको छ। 

घटनापछि मृतकका बुवा नरेन्द्रकुमार सिंहले प्रहरीमा दुई दर्जनभन्दा बढी व्यक्तिको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धानसँगै घटनामा संलग्नको विभिन्न टिम बनाएर खोजीलाई तीब्र बनाएको छ। 

चोरीको आरोप लगाए पनि मृतकका आफन्तले घरमै रहेको बेला गत वैशाख २८ गने राति अनिसलाई आँगनमा सुतिरहेको अवस्थामा १२ बजेपछि केही व्यक्तिहरुले अपहरण गरेर लगेको र डेढ किलोमिटर पश्चिमतिर पर्ने आधारभुत विद्यालय तेनुवापट्टीछेउ हातखुट्टा बाँधेर कुटपीट गरिएको दाबी गर्दै आएका छन्।

सिरहाका प्रहरी प्रमुख एसपी जीवनले श्रेष्ठले किटानी जाहेरी परेलगत्तै प्रहरीले घटनाको अनुसन्धान गरी संलग्नको खोजीलाई तीब्र पारिएको जनाए। अपहरण गरि कर्तब्य ज्यान गरेको मुद्दाका प्रतिवादी खोजतलासको क्रममा प्रहरीले मंगल साहलाई पक्राउ गरि जिल्ला अदालत सिरहाबाट अनुसन्धानका लागि म्याद थप गराएको एसपी श्रेष्ठले बताए। 

प्रकाशित: १३ जेष्ठ २०७६ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App