मोरङ कारागारभित्र कैदीबन्दीबीच पुनः विवाद र झडप भएपछि १८ जना कैदीबन्दीलाई अन्य जिल्लाका विभिन्न कारागारमा स्थानान्तरण गरेको छ।
सोमबार विराटनगर महानगरपालिका–८ स्थित कारागारको ‘बी’ ब्लकमा रहेका दुई समूहबीच विवादले झडपको सिर्जना भएपछि प्रहरी र कारागार प्रशासनले हस्तक्षेप गरेर विवादित १८ जनालाई मोरङ कारागारबाट अन्यत्र स्थानान्तरण गरेको कारागार प्रशासनले जनाएको छ।
समूह खडा गरी अराजकता मच्चाएको र अन्य कैदीबन्दीलाई यातना दिएको आरोपमा उनीहरूलाई सोमबार स्थानान्तरण गरिएको हो। यसअघि, कारागारभित्र वर्षाैंदेखि आफ्नो दबदबा कायम राख्दै आएका मुख्य नाइके भारतीय नागरिक चञ्चल बरमन र चौकिदार मनिष विश्वकर्मासहित १९ जनालाई भदौ १९ गते मात्रै सात जिल्लाका विभिन्न कारागारमा पठाइएको थियो। उनीहरुकै समूहले अर्को समूहलाई यातना दिने र रकम असुल्ने गरेका थिए।
अहिले सरुवा गरिएका १८ जना पनि चञ्चल समूहकै रहेका छन्। यो समूहले ‘बी’ ब्लकलाई आफ्नो कब्जा पारेको र बाहिरबाट कसैलाई पनि भित्र पस्न नदिने र त्यहाँभित्र रहेका अर्को समूहका कैदीबन्दीलाई कुटपिट, यतना र रकम असुली गर्दै आएका थिए।
तर, भदौ १९ गते पीडित समूहले एकाएक अर्को समूहलाई कुटपिट गर्दै गेट बाहिर निकालेपछि दुई पक्ष झपड भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएर विवादित समूहलाई यहाँबाट अन्यत्र स्थानान्तरण गरेको थियो।
‘बी’ ब्लकभित्र कैदीबन्दीका दुई समूहबीच सोमबार दिउँसो झगडा भएको जिल्ला कारागार मोरङका प्रमुख राजन घिमिरेले बताए। उनका अनुसार यसअघि स्थानान्तरण गरिएका कैदीहरूकै समूहका सदस्यहरूले पुनः विवाद गर्न थालेपछि थप १८ जनालाई अन्य कारागार पठाइएको हो।
कुन कारागारमा को–को पठाइए
प्रशासनका अनुसार १८ जनामध्ये १० जनालाई मकवानपुरको भीमफेदी कारागार पठाइएको छ। भीमफेदी लगिनेहरूमा मो.सरफराज, नजाम अन्सारी, राजेशकुमार कामत, सञ्जय साह, उमेशकुमार कामत, अमन सरदार, श्रीकान्त दास, शिवकुमार राम, जयबहादुर विश्वकर्मा र रमन राई छन्।
त्यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) कारागारमा अफ्ताब भन्ने अफ्तार आलम, ज्ञानेन्द्र ढुंगाना र मुकेशकुमार साहलाई पठाइएको छ। चितवन कारागारमा छिरिङ तामाङ भन्ने छिरिङ घिसिङ, मो. रिजवान र सकिम हुसेनलाई स्थानान्तरण गरिएको छ।
यस्तै, सुनसरीको झुम्का कारागारमा इशान चौधरी र प्रेमबहादुर तामाङलाई पठाइएको कारागार प्रशासनले जनाएको छ।
प्रकाशित: २३ भाद्र २०८३ १०:१४ मंगलबार





