२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

काठमाडौंमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले २०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्वपूर्ण दिन भएको बताए।

उनले भने, '२०५६ सालमा सुरेश वाग्ले र भीमसेन पोखरेलले गोरखामा सहादत प्राप्त गर्नुभयो । पार्टीको पोलिटब्युरो तहको सबैभन्दा उच्च नेतृत्व पंक्तिबाट भएको त्यो सहादतले तत्कालीन राज्यसत्ताविरुद्ध जनता र क्रान्तिकारी पंक्तिमा आक्रोश र ऊर्जा पैदा गर्‍यो तथा जनयुद्धलाई नयाँ उचाइमा पुर्‍यायो।'

प्रचण्डले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताए।

'सुरेश वाग्लेको निष्ठा, आदर्श र राजनीतिक उचाइ निकै उच्च थियो। उहाँको बलिदानपछि पैदा भएको नयाँ संकल्प र ऊर्जाले जनयुद्धलाई नयाँ उचाइमा लैजान र त्यसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान गर्‍यो,' उनले भने।

उनले जनमुक्ति सेनाका कुशल कमान्डर भीमसेन पोखरेलको योगदान र आदर्श पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे।

प्रचण्डले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिका विरुद्ध नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

'प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ,' उनले भने।

प्रकाशित: २३ भाद्र २०८३ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App