७ वैशाख २०८१ शुक्रबार
समाज

शक्तिको आडमा कालिञ्चाेक ‘कब्जा’

दोलखाको पर्यटकीय नगरी कालिञ्चोक क्षेत्र। फाइल तस्बिर: नागरिक

दोलखा - शक्तिको आडमा सुन्दर पर्यटकीय क्षेत्र कालिञ्चोकमा सार्वजनिक जग्गा कब्जाले तीव्रता पाएको छ। जिल्लास्थित स्थानीय तह र सरकारी निकाय दुवै शक्तिशाली व्यक्तिहरूका अगाडि निरिह बन्दा कालिञ्चोकमा सार्वजनिक जग्गा कब्जा गरेर अतिक्रमण गर्ने काम बढेको हो।

पर्यटकको चापका कारण कालिञ्चोक क्षेत्रको भविष्य उज्ज्वल देखेकाहरूले जग्गा अतिक्रमण अत्यधिक रूपमा बढाएका हुन्। जग्गा कब्जा गर्नेमा यहाँ सञ्चालित एउटा निजी केबल कार कम्पनी साथै स्थानीयसमेत छन्।

शुक्रबार केबुलकार कम्पनीले कालिञ्चोकको ठुलो क्षेत्र ओगट्ने मनसायसहित कुरीबजारदेखि भगवती मन्दिरसम्म घेराबेरा लगाउन खोजेपछि स्थानीयले घेराबेरा लागि गाडिएका पोलहरू उखेलेर फालिदिएका छन्। पर्यटकीय क्षेत्र कालिञ्चोक आफ्नो भएको दाबी गर्दै दुई सरकारी निकायहरू गुठी संस्थान र वन लामो समयदेखि आपसमा लड्दै आएका छन्। त्यसैको फाइदा उठाउँदै पछिल्ला केही वर्षयता कालिञ्चोकमा जग्गा कब्जासहित सार्वजनिक क्षेत्र अतिक्रमण गर्ने होडबाजी नै चलेको हो।

कालिञ्चोक क्षेत्रमा रहेका आठवटा खर्कलाई प्राचीन नगरी दोलखा बजारको जात्रा–पर्व चलाउनका निम्ति कालिञ्चोक भगवती, त्रिपुरा सुन्दरी भीमेश्वर गुठी अन्तर्गत राखिएको १८८६ वैशाख १४ गतेको लालमोहरलाई आधार मान्दै गुठी संस्थानले कालिञ्चोक क्षेत्र आफ्नो भएकाले नापी हुनुपर्ने भन्दै दाबी गर्दै आएको छ।

यस्तै वन मन्त्रालयले ती जग्गाहरू खर्क भएकाले खर्क ऐन २०३४ अनुसार सबै खर्कहरू राष्ट्रियकरण भइसकेकाले कालिञ्चोक क्षेत्र वनअन्तर्गत रहेको दाबी गर्दै आएको छ। शक्ति केन्द्रको दबाबमा गुठी संस्थानले गुठीअन्तर्गत नाप–नक्सा गर्न पटकपटक प्रयास गरे पनि वन कार्यालयको विमति र अवरोधकै कारण यो क्षेत्रको नाप–नक्सा हुन सकेको छैन। कालिञ्चोकमा पछिल्ला वर्षहरूमा पर्यटकको चाप बढ्दै गए पनि सुन्दर फाँट र डाँडाकाँडा नै कुरूप हुने गरी अतिक्रमण गरिएको छ। अतिक्रमण बढाउन डाँडाकाँडाको सुन्दरता खोस्रिएर कुरूप पारिएको छ।

यसैबीच निजी कम्पनी कालिञ्चोक दर्शन प्रालिले गुठी संस्थानसँग सम्झौता गरेर कुरीबजारदेखि भगवती मन्दिरसम्म केबुलकार निर्माण गरिसकेको छ। केबुलकारको निर्माण सम्पन्न गरिसकेको उक्त कम्पनीका सञ्चालकहरूले समेत गुठीकै नाममा नाप–नक्सा गर्न सरकारीस्तरबाट जिल्ला तहका अधिकारीहरूलाई दबाब सिर्जना गर्दै आएका थिए। गुठीको नाममा नाप–जाँच गराउन पाए गुठी संस्थानसँग थप जग्गा भाडामा लिएर सुविधासम्पन्न होटल र अन्य व्यवसाय सञ्चालन गर्न सकिने दाउमा केबुलकार सञ्चालकहरू छन्।

– कालिञ्चोकको जग्गा गुठी संस्थानको नाममा नाप–जाँच गराउन पाए थप जग्गा भाडामा लिएर सुविधासम्पन्न होटल र अन्य व्यवसाय सञ्चालन गर्न सकिने दाउमा केबुलकार सञ्चालकहरू छन्।

यो केबुलकार कम्पनी नेकपानिकट व्यवसायी बालकृष्ण शिवाकोटीलगायतको प्रत्यक्ष लगानीमा सञ्चालित छ। संरचना बनाइसकेर सञ्चालन नै थालिसकेको केबुलकारले वरपरका बाँकी जग्गा लिएर होटल, लज तथा रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै शुक्रबार कुरीबजारदेखि मन्दिरको तल्लो भागसम्म घेराबार लगाउन खोजेपछि स्थानीय र केबुलकार कम्पनीबीच विवाद भएको थियो। कुरीमा होटल तथा व्यवसाय सञ्चालन गरी बसेका स्थानीयले थप जग्गा कब्जा गर्न खोजेको भन्दै तारबार उखेलेर फालिदिएका छन्।

केबुलकार कम्पनीले भने केही अराजक समूहले केबुलकारमा तोडफोड गरेर डेढ करोड बराबरको क्षति पु¥याएको आरोप लगाएको छ। कम्पनीका प्रबन्ध निर्देशक अशोक शिवाकोटीले केबुलकारमा अराजक समूहले आक्रमण गरेको भन्दै आक्रमणबाट डेढ करोड रूपैंयाको क्षति भएको बताए। उनले आक्रमणकारीलाई कारवाही नगरिए केबलकारको साँचो प्रशासनलाई बुझाइने चेतावनी पनि दिए।

‘गुठी संस्थानसँगको सम्झौताअनुसार हामीले भाडामा लिएको ४७ रोपनीमध्ये केबुलकारको संरचना जोगाउन १६÷१७ रोपनी जग्गामा घेराबेरा गर्न खोज्दा केबुलकारमाथि आक्रमण गरियो,’ उनले भने, ‘सम्झौताभन्दा बढी एक इन्च पनि जग्गा कब्जा गर्न खोजेको भेटिए जस्तोसुकै कारबाही भोग्न हामी तयार छौं।

केबुलका कार सञ्चालनका लागि दोलखा दर्शन प्रालिले गुठी संस्थानसँग प्रतिवर्गमिटर वार्षिक १५ देखि ५० पैसा भाडा पाउने गरी सम्झौता गरेको थियो। शिवाकोटीले केबुलकार सञ्चालन गरेर आफूहरूले सरकारलाई आम्दानी करसहित भूबहाल करसमेत तिरेको दाबी गरे। शुक्रबारको घटनापछि आइतबार कालिञ्चोक पुगेका स्थानीय प्रशासन र सुरक्षा अधिकारीहरूको टोलीले केबुलकार कम्पनीले ठूलो क्षेत्रफल ओगट्ने नियतले घेराबार लगाउन खोज्दा विवाद भएको टोलीमा सहभागी एक सुरक्षा अधिकारीले बताए।

स्थानीय ग्याल्बो लामाले चौंरी गोठहरू रहेको कालिञ्चोकमा चौंरी आऊजाऊ गर्ने बाटो नै बन्द हुने गरी केबुलकार कम्पनीले सार्वजनिक जग्गामा घेराबेरा लगाएका कारण चौंरी गोठालाहरूले घेराबार उखेलेको बताए। ‘कुरीदेखि मन्दिरको क्षेत्रसम्म नै घेराबार लाउन थालेपछि स्थानीय चौंरी गोठालाहरूले विरोध गर्नुभएको रहेछ,’ उनले भने, ‘उखेलेको पोलहरू सुरक्षित राख्नुभएको छ।’

कालिञ्चोकमा केबुलकारसँगै स्थानीयले समेत अतिक्रमण व्यापक बनाएका छन्। पाँच् वर्षको बीचमा डेढ सयभन्दा बढी घर–टहरा निर्माण भइसकेका छन्। अतिक्रमण बढ्दै जाँदा सुन्दर क्षेत्र कुरूप बन्दै गएकोमा यहाँ पुगेर फर्कनेहरू जो कोही पनि चिन्तित हुन्छन्। केबलकार कम्पनी सञ्चालकहरूसमेत ठुला होटल तथा रेष्टुरेन्ट बनाउने तयारीमा छन्। कम्पनीले टाँकुरामा रहेको भगवती मन्दिरनजिकै होटल सञ्चालनमा ल्याइसकेको छ। स्थानीयका अरू पनि थुप्रै होटल तथा कटेराहरू छन्।

केबलकार कम्पनीका निर्देशक शिवाकोटीले गुठी संस्थानसँग सम्झौता भएको जग्गामा मात्र कंक्रिट खालका नभई कालिञ्चोकको स्थानीय सुन्दरतामा मिल्ने खालका संरचना बनाइने सुनाए। ‘केबलकार मात्र चलाएर कम्पनीको लगानी थेगिँदैन’ उनले भने, ‘सम्झौताअनुसार त्यहाँभित्र साना होटल, रेस्टुरेन्ट, लज, कफी सपहरू सञ्चालन हुनेछन्।’

कालिञ्चोकमा भइरहेको अतिक्रमण रोक्न पटकपटक पहल गरेको जिल्ला प्रशासनले दाबी छ। ‘योभन्दा अगाडि पनि थुप्रै पटक अतिक्रमण रोक्ने सहमति भएको माइन्युट भेटेको छु,’ भर्खरै दोलखा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘ती सबैको अध्ययन गरेर कालिञ्चोकमा देखिएको समस्या सामाधानका निम्ति पहल गर्छु।’ गुठी संस्थान, वन र स्थानीय तहबीचको स्वामित्व विवाद नै कालिञ्चोकमा देखिएको समस्याको मूल जरो रहेको उल्लेख गर्दै प्रजिअ रिजालले भने, ‘सरोकारवालासहित सबै पक्षसँग छलफल गरेर कालिञ्चोकमा देखिएको समस्या सामाधान गर्नेबारे निष्कर्षमा पुग्नेछौं।’

प्रकाशित: ७ जेष्ठ २०७६ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App