१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुवै मृगौला फेल भएपछि सहयोग खोज्दै मित्रप्रसाद

इलाम– दुवै मृगौला फेल भएर पीडित सूर्याेदय नगरपालिका–६, कन्यामका मित्रप्रसाद चापागाईंले सहयोगको आग्रह गरेका छन्। डेढ महिनायता काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत ५१ वर्षे चापागाईंले अहिलेसम्म उपचार गर्दा भएभरको जेथो सकिएपछि आफ्नो जीवन बचाइदिन सबैसँग याचना गरेका हुन्। 

पीडितका परिवारजन र आफन्तले आइतबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी उपचारमा सहयोग जुटाउने पहल गरिदिन सञ्चारकर्मीसँग आग्रह गरे। पीडितका भतिजा हेमचन्द्रले दुवै मृगौला प्रत्यारोपण गर्न २२ लाख रुपैयाँ खर्च हुने बताए। ‘आर्थिक अवस्था कमजोर भएकाले परिवारले यतिको रकम जुटाउन असम्भव भएर सहयोग गुहार्नुपरेको छ,’ उनले भने, ‘सम्पत्तिका नाममा भएको डेढ रोपनी जमिनसमेत उपचारमै खर्च भइसकेको छ।’ उनले काका मित्रप्रसादको उपचार गर्दा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको बताए। 

मित्रप्रसादको मृगौला डाइलाइसिस गर्दा सातामा १० हजार रुपैयाँ खर्च भइरहेको छ। ‘सातामा २ पटक डाइलाइसिस गराउनुपर्छ,’ उनले भने, ‘सधैं डाइलाइसिस गरिरहन पनि भएन, भएभरको रकम अहिलेसम्मकै उपचारमा सकिइसक्यो।’ जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिएको उनले जनाए। मित्रप्रसादको उपचार सहयोगका लागि कन्याम टोल विकास संस्थासमेत जुटेको छ। 

‘हामी टोलबासी नै लागेर उहाँको उपचारमा सहयोग पहल गर्दैछौं,’ संस्था अध्यक्ष लेखनाथ दाहालले पत्रकार सम्मेलनमा भने, ‘मित्रप्रसादको उपचार सहयोग रकम संकलन गर्न ग्लोबल बैंकको फिक्कल शाखामा लेखनाथ दाहाल र हेमचन्द्र चापागाईंको नाममा २७०७०१०००९४५४ नम्बरको खातासमेत खोलिसकेका छौं।’ अध्यक्ष दाहालले पीडितको आर्थिक अवस्था दयनीय भएकाले उनको जीवन बचाइदिन देश–विदेशका आफन्तजन, इष्टमित्र र सहयोगी दाताले उपचारमा सहयोग जुटाइदिने अपेक्षा गरेको पनि बताए। 

मित्रप्रसाद केही वर्षयत काठमाडौंको एक होटलमा रोजगारी गरिरहेका छन्। आफ्नो रोजगारीले परिवार चलाउन नसकेपछि उनी करिब अढाई वर्ष भारतको दार्जिलिङ गएर त्यहाँ पनि होटलमै काम गरेर बसेका थिए। आफ्नो शरीरमा लामो समयदेखि रक्तचापको समस्या रहेकाले काठमाडौं नै फर्केर शिक्षण अस्पतालमा जाँच गराउँदा दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेको थियो। 

प्रकाशित: ५ जेष्ठ २०७६ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App