१६ चैत्र २०८० शुक्रबार
समाज

ललिता निवासको जग्गा धितोमा सवा दुई अर्ब कर्जा

काठमाडौं - बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घरानाले ललितानिवासको सरकारी जग्गा धितो राखेर १५ बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी कर्जा लिएको तथ्य खुलेको हो।

२०६३ देखि २०७३ सालसम्मको अवधिमा उनीहरूले सरकारी जग्गा धितो राखेर कर्जा लिएको स्रोतले जानकारी दियो। नागरिकलाई प्राप्त विवरणअनुसार भूमाफिया र व्यापारीले नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, कैलाश विकास बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, युनिक फाइनान्स, बैंक अफ एसिया, नेपाल डेभलपमेन्ट एन्ड इम्प्लोइमेन्ट कमर्सियल प्रमोसन बैंक, आर्यतारा बचत तथा सहकारी संस्था, काष्ठमण्डप डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, किस्ट बैंक, यती डेभलपमेन्ट बैंक र आइएमई फाइनान्सियल इन्टिच्युसनबाट सो कर्जा लिएको देखिन्छ।

यसमध्ये पछिल्लोपटक यती र महालक्ष्मी मर्ज भएर महालक्ष्मी विकास बैंक भइसकेको छ। त्यस्तै आइएमई फाइनान्स र ग्लोबल बैंक मर्ज भएर ग्लोबल आइएमई बैंक बनिसकेको छ। यी बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा भूमाफियाले अन्यत्र जग्गा खरिदमै लगानी गरेको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ।

‘ललितानिवासका तत्कालीन भोगाधिकारीबाट आफ्नो नाममा जग्गा ल्याएपछि गुरुङ, ढकाल र सुवेदी तथा अन्य व्यापारीले सेटिङमै करिब डेढ दर्जन बैंकबाट दुई अर्ब ३० करोड रुपैयाँ कर्जा लिएका रहेछन्,’ स्रोतले भन्यो, ‘उक्त कर्जा व्यक्तिगत तथा सामूहिक रूपमा जग्गा खरिदमै लगानी गरेको पनि देखियो।’ ललितानिवासको जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेका छन्। उनीहरूमाथि ठगी, किर्ते/जालसाझी र संगठित अपराध कसुरमा छानबिन भइरहेको छ।

यसमध्ये गुरुङ, ढकाल र सुवेदीका परिवारका नाममा मात्रै चारवटा बैंक तथा वित्तीय संस्थाले ६२ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। बाँकी कर्जा अन्य व्यक्ति तथा संस्थाका नाममा प्रवाह भएको हो। प्राप्त विवरणअनुसार भूमाफिया भनेर चिनिएका डा. ढकालले ग्लोबल आइएमई बैंकबाट तीन करोड ७५ लाख रुपैयाँ कर्जा लिएका छन्। त्यस्तै साबिक आइएमई फाइनान्सबाट उमाकुमारी ढकाल र माधवी सुवेदीले दुई करोड ६२ लाख र इन्भेस्टमेन्ट बैंकबाट विवेक सुवेदीले १० करोड रुपैयाँ कर्जा लिएका छन्। उमाकुमारी ढकाल भूमाफिया शोभाकान्त ढकालकी पत्नी हुन् भने माधवी र विवेक अर्का भूमाफिया रामकुमार सुवेदीका पत्नी र छोरा हुन्।

यसैगरी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको परिवारले ललितानिवासकै जग्गा धितो राखेर लक्ष्मी बैंकबाट ४६ करोड रुपैयाँ कर्जा लिएका छन्। लक्ष्मी बैंकले मीनबहादुरकी छोरी कामनाका नाममा १४ करोड, छोरा कल्याणका नाममा १८ करोड र बुहारी सरलाका नाममा १४ करोड कर्जा प्रवाह गरेको छ। कामना पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङकी बुहारीसमेत हुन्। यसैगरी हिमालयन बैंक लिमिटेडले संगीता कोठारी राखेचाका नाममा ललितानिवासले चर्चेकै जग्गा धितो राखेर तीन करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अन्य व्यापारी र भूमाफिया गरी दुई दर्जन व्यक्तिका नाममा बाँकी कर्जा प्रवाह भएको छ।
२०२१ सालमा सुवर्णशमशेर तथा उनको परिवारका नाममा भएको जग्गा सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको थियो।

तर मुआब्जा लिएको जग्गालाई जफत भनेर गैरकानुनी रूपमा तत्कालीन भोगाधिकारीले सेटिङमै एक सय १४ रोपनी आफ्नो बनाएका थिए। त्यसको १२ वर्षपछि राणा परिवारले गुरुङ, सुवेदी र ढकालसहितका भूमाफियालाई सो जग्गा बिक्री गरेका थिए। सुवर्णशमशेरका हकदारहरू सुनीति राणा, शैलजा राणा, रुक्मशमशेर, हेमनशमशेर र हाटकशमशेरले करिब एक सय १४ रोपनी जग्गा २०६१ सालमै भूमाफियालाई बिक्री गरेका थिए। त्यही जग्गा भूमाफिया र व्यापारीले बैंकमा धितो राखेर ऋण लिएको अनुसन्धानबाट खुलेको हो।

पूर्वप्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेका निर्णयको गतल व्याख्या गरी सरकारी जग्गा व्यक्तिका नाममा गराइएको छानबिनबाट पत्ता लागिसकेको छ।

प्रकाशित: २९ वैशाख २०७६ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App