१६ चैत्र २०८० शुक्रबार
समाज

निस्दीका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै

रामपुर - पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ। निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन्। निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताए।

जिल्ला कृषि विकास कार्यालय पाल्पामा विसं २०६४ मा जनसुधार आइपिएम कृषक पाठशाला दर्ता गरेर सूर्यमुखी खेती थालिएको बताएका छन्। परम्परागत मकैखेतीबाट सोचेजति आम्दानी लिन नसकेकाले सूर्यमुखीको परीक्षणस्वरुप पहिलोपटक खेती गरिएको धनबहादुर ठाडाले बताए।

समुद्री सतहदेखि करीब एक हजार ५०० मिटर उचाइमा रहेको क्षेत्रमा किसानले अहिले पहिलोपटक सुर्यमुखी खेती गरेका हुन्। यसअघि परम्परागत ढङ्गबाट मकैखेती तथा केही तरकारी खेती गर्दै आएका थिए। बढी उत्पादन लिन हाइब्रिड सूर्यमुखी खेती गर्न लागेको आइपिएम कृषक पाठशालाका अध्यक्ष मीनबहादुर सुनारीले जानकारी दिए। स्वास्थ्यका हिसाबले पनि सूर्यमुखीबाट उत्पादन हुने तेल फाइदाजनक मानिने उनको भनाइ छ।

यसपालि सूर्यमुखी खेतीको राम्रो उत्पादन लिनसके मित्याल क्षेत्रलाई सुर्यमुखीको पकेट क्षेत्रका रूपमा समेत विकास गर्ने कृषकको लक्ष्य छ। सूर्यमुखी उत्पादन भएपछि यसको बिक्री तथा तेल व्यवस्थापनका निम्ति सहयोग गर्ने निस्दी गाउँपालिका कृषि शाखा संयोजक नवराज घिमिरेले बताए। कृषि शाखाले सूर्यमुखीमा लाग्ने रोग किरा नियन्त्रणमा सहयोग गर्दै आएको शाखाले यसको बिक्री व्यवस्थापनमा समेत सहयोग गर्ने बताएपछि कृषक उत्साहित भएका छन्

प्रकाशित: २० वैशाख २०७६ ०४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App