coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पढाइ सीप विकासका लागि शिक्षक तालिम

तालिममा सहभागी कक्षा १ देखि ३ सम्मका शिक्षकशिक्षिका।

सोलुखुम्बु - प्रारम्भिक कक्षाका बालबालिकामा पढाइ सीपको विकासका लागि नेचासल्यान गाउँपालिकामा शिक्षक तालिम आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोग र रिड नेपालको प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको हो।

कक्षा १ देखि ३ सम्मका बालबालिकामा पढाइ सीपको विकास गराउने उद्देश्यले नेचासल्यान क्षेत्रका १५ विद्यालय र रिड नेपालले नमुना विद्यालयका लागि काम गरिरहेको सातवटा विद्यालयका दुई÷दुईजना शिक्षक सहभागी तालिम १० दिनसम्म चल्नेछ। ‘पढ्न सकिएन भने बोध हुँदैन, बोध भएन भने अभिव्यक्त गर्न सकिँदैन’ भन्ने मान्यतालाई ध्यानमा राखी साना बालबालिकालाई पढ्ने बानीको विकास गराउन र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

रिड नेपालले विगत दुई वर्षदेखि सोलुदुधकुण्ड नगरपालिकाका आठवटा विद्यालयमा पढाइ सीप विकास कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यसको प्रतिफल सकारात्मक देखिएपछि नेचासल्यान गाउँपालिकाले पनि शिक्षकलाई तालिमको व्यवस्था गरेको हो। तालिमपछि जिल्लाका २९ वटा विद्यालयमा पढाइ सीप विकास कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

जनजागृति आधारभूत विद्यालयकी शिक्षिका केशरी श्रेष्ठले सो कार्यक्रमपछि सिकाइ उपलब्धिमा ७५ प्रतिशत सुधार आएको बताइन्। सरकारले २०७३ सालदेखि सुरु गरेको पढाइ सीप विकास कार्यक्रम लागू गर्न शैक्षिक क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले सहयोग गरिरहेका छन्। विद्यार्थीमा पढ्ने बानीको विकास नभएकै कारण आशातीत नतिजा हासिल गर्न नसक्ने यथार्थलाई परिवर्तन गर्न तालिम प्रभावकारी हुने रिड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले बताए।

प्रकाशित: २० वैशाख २०७६ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App