coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरु काममा फर्कन सहमत

काठमाडौं- भूकम्पपछिको पुनर्निर्माणमा कार्यरत इन्जिनियर प्राविधिकहरु काममा फर्कन सहमत भएका छन्।  

नेपाल इन्जिनियर्स एशोसियशनको मध्यस्थतामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त जनाएका हुन्। 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिइ काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिए।

काममा नगर्इ व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए प्राधिकरणले विभागीय कारवाही गर्ने भएको छ। ‘प्राविधिकहरुका माग सम्बोधन भैसकेको अवस्थामा सम्पूर्ण प्राविधिक साथीहरु प्रतिबद्ध भइ काममा लाग्नेछन्। यदि आगामी दिनमा काममा नगई व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकहरुलाई प्राधिकरणले विभागीय कार्वाही गर्न सक्नेछ’, निर्णयमा उल्लेख छ।

नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव छविराज पोख्रेलले इन्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताए।

प्राविधिक अविनाश अमरले मागहरु पूरा भएकोमा सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारीहरुलाई धन्यवाद दिए।

प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।

प्रकाशित: १६ वैशाख २०७६ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App