७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

शरीर काँप्ने रोगले शाखा–सन्तान पीडित

शरीर काँप्ने रोगले थलिएका डम्बरबहादुर र सँगै अर्को बेडमा भाइ तुलबहादुर र दुई भतिजा (बेडमा बसेका) उदयपुर अस्पतालमा उपचार गर्ने क्रममा। तस्बिर : महेश्वर÷नागरिक

उदयपुर - जिल्लाको रौतामाई गाउँपालिका–६ नामन्तमा शरीर काँप्ने रोगले एक दशकयता मगर समुदायको एउटा खलक (शाखा–सन्तान) पिरोलिँदै आएको छ। सुरुमा हात काँप्ने, बिस्तारै खुट्टा, टाउको अनि पूरै शरीर हल्लिएर काँप्ने रोगले नामन्तका खड्गबहादुर समाल मगरको सन्तान दरसन्तान एक दशकयता पीडित हुँदै आएको हो।

यस्तै प्रकृतिको रोगले च्यापेर चैत २७ गते दुर्गाबहादुृर समाल मगरको ज्यान गइसकेको छ भने अर्का एक वृद्ध अन्तिम अवस्थामा पुगेका छन्। १० वर्षअघि काँप्ने रोगले छोएको ७० वर्षीय डम्बरबहादुर समालको अवस्था गम्भीर अवस्थामा पुगेको छ भने उनकै सहोदर भाइ ६४ वर्षीय तुलबहादुर, बहिनी ६२ वर्षीया नानुमायालाई रोगले च्यापिसकेको छ। त्यति मात्र होइन, काकाका छोरीहरू ४० वर्षीया हीरा र ३२ वर्षीया ललिताको पनि हालत उस्तै भइसकेको छ। १० वर्षदेखि हात काँप्न थालेका डम्बरबहादुरको शरीर अहिले एकै निमेष अडिँदैन। हात, खुट्टा र टाउको सँगसँगै हल्लिने उनको दुई वर्षयता बोलीसमेत बसिसकेको छ। मुन्टो हल्लाएको हल्लाएकै, हातखुट्टा अनवरत रूपमा हल्लिरहने उनी २४ घन्टै ओछ्यानमा पल्टिरहनुपर्ने बाध्यता छ। बिहानबेलुका खाना खुवाउने, दिसापिसाब गर्न लाने र हातमुख धोइदिने काम सबै नाति–नातिनाले गर्नुपरेको भतिजा मोहन समाल मगरले बताए।

पाँच वर्षदेखि काँप्न थालेका तुलबहादुरको हालत डम्बरबहादुरको जति भइसकेको छैन। उनी चिया, खाना खान र लेखपढ गर्न हात काँपेर सक्दैनन् तर बोली भने लटरपटर चल्छ। खाना र पानी खान अरूको सहारा चाहिन्छ भने शौचालय दुःखले आफैं जान सक्छन्। तर पछिल्लो ६ महिनायता भने उनलाई पनि व्यथाले निकै च्याप्दै लगेको छ। ‘मेरो अवस्था दाजुजति भइसकेको छैन तर अब उस्तै हुने होला,’ उपचारार्थ उदयपुर अस्पताल ल्याइएका तुलबहादुरले भने, ‘यो हाम्रो समाल खलकमा मात्र देखापरेको रोग हो। १० वर्षअघि देखिएको रोग अहिलेसम्म निको भएन, पत्ता पनि लागेन।’

भतिजा मोहनका अनुसार यो रोग सबभन्दा पहिले काका डम्बरबहादुरमै देखापरेको हो। पछि बिस्तारै सबै शाखा–सन्तानलाई गाँजेको हो। अहिलेसम्म एकजनाको शाखासन्तानहरूमा मात्र केन्द्रित रोग अहिलेसम्म नौजनामा देखिएको उनले बताए। ‘मेरो बाजे खड्गबहादुरका छोराहरू काहिँला काका डम्बर, ठाहिँला तुलबहादुर, फुपू नानूमाया र काकाका दुई छोरीहरू हीरा र ललितालाई हल्लिने रोग छ,’ उनले भने ‘अर्का काकाका छोरा २९ वर्षीय भलबहादुर पाँच वर्षदेखि र कान्छा काकाका छोरा २८ वर्षीय पुष्पलाई दुई वर्षदेखि च्याप्न थालेको छ।’

काका र फुपूसँगै अस्पताल आएका भलबहादुरले वैदेशिक रोजगारीका क्रममा कतार हुँदै पाँच वर्षपहिले रोगले भेटेको बताए। रोगले च्यापेको डेढ वर्षपछि मात्र घर आएका उनलाई काम गर्दागर्दै मेसिनमा एक्कासि रोकिएको दाहिने हात १० मिनेटपछि हल्लिन थालेको र भोलिपल्टदेखि देब्रे हात र तीन दिनपछि टाउको हल्लिन थालेको थियो। हात र टाउकोको उपचार गर्दा गर्दै पुरै शरीर काँप्न थालेपछि उनलाई कारखानाले फिर्ता पठाएको थियो। ‘कारखानामा मेसिन चलाउँदै थिएँ, स्विच दबाउन खोज्दा एक्कासि हात रोकियो,’ उनलाई अझै स्मरण छ, ‘त्यति वास्ता गरिनँ तर भोलिपल्टदेखि देब्रे हात हल्लिन थाल्यो, अनि बिस्तारै टाउको र शरीरै हल्लिन थाल्यो। कम्पनीले घर जा भन्यो तर इलेगल भएकाले दूतावासबाट प्रक्रिया मिलाउँदा घर फर्कन डेढ वर्ष लाग्यो।’

उनलाई पनि खाना र चिया खान, अक्षर लेख्न पढ्न नमिल्ने भइसकेको छ। कतारमा अस्पताल जाँदा टाउकोको सिटी स्क्यान गर्न र नसाको उपचार गर्न डाक्टले सुझाए पनि घर फर्केपछि गाउँलेको भनाइअनुसार धामी झाँक्री लगाउँदै झारफुक गराएको उनले सुनाए। घर फर्कंदा ठूलो बुबा, काका र फुपूहरूलाई व्यथाले छोइसकेको हुनाले परिवारैको उपचार गर्न धामी बोलाएर झारफुक गरेको तर रोग निको हुनुभन्दा झन् फैलिँदै गएको उनको अनुभव छ। अर्का बिरामी पुष्पले धामी लगाउँदा कुलपित्र बिग्रेको भन्दै पुजाआजा गरेको तर निको नभएर पहिलोपटक अस्पताल आएको बताए।

गाउँका एकै परिवारका दर्जनभन्दा बढीलाई एकैखाले रोगले च्यापेको कुरा सार्वजनिक भएपछि प्रदेश सांसद नारायण बुर्जामगरले यसको उपचारबारे प्रसंग प्रदेशसभा बैठकमा केही दिनअघि उठाएका थिए। हाउसमा कुरा उठेपछि सामाजिक विकास मन्त्रालयको निर्देशनमा प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्ला स्वास्थ्य कार्यालयमार्पmत सबै रोगीलाई आइतबार दिउसो अस्पताल ल्याइएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश खकुरेलले बताए। उनका अनुसार प्रदेश निर्देशक भोगेन्द्र डोटेलको निर्देशनअनुसार कार्यालयबाटै गाडी पठाएर सबै बिरामी झिकाइएकोमा र एकजना ल्याउनै नसक्ने गरी सिकिस्त बिरामी भएकाले घरमै छाडिएको छ। खकुरेलले उनीहरुको उपचार गराउन विराटनगरस्थित न्युरो अस्पतालमा कुरा भइरहेको र त्यसका लािग सोमबार बिहान त्यसतर्फ पठाइने बताए।

प्रारम्भिक उपचारमा संलग्न उदयपुर अस्पतालका डा. अरुण मण्डलले यो समस्या नशामा हुने समस्याका कारण भएको अनुमान गरिएको बताए। उनका अनुसार यस्तो रोगलाई ‘न्युरोलोजिकल डिजेनेरेटिम डिसअर्डर’ भनिने र नसा रोग विशेषज्ञबाट पत्ता लगाएर उपचार गर्न सके निको हुने सम्भावना छ। तर रोग नै पत्ता नलागेकाले अन्योल भएको डा. मण्डलले बताए।

प्रकाशित: १६ वैशाख २०७६ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App