९ आश्विन २०७७ शुक्रबार
समाज

बदलियो बारपाक

गोरखा - भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ। गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन्। पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल थियो। घरघरै एम्बुलेन्स पुग्ने सडक थिएन। अहिले बस्तीको बीच भाग भएर सडक खुलेको छ। पुरानो ढुंगामाटोको विद्यालय थियो, अहिले विद्यालय भवन सिमेन्टको पक्की बनेको छ। चार वर्ष टहरामा पढेका अब पक्की भवनमा पढ्दैछन्। यो भूकम्पले ल्याएको अवसर हो।

सदरमुकामबाट बारपाकसम्म जाने ४७ किलोमिटर सडक कालोपत्रे हुँदैछ। एक दिन पुरै खर्चेर सदरमुकाम आउने बारपाकी अचेल चार घन्टामै आउँछन्। कालोपत्रे सकियो भने यो समय अझ दुई घन्टामा झर्ने पक्का छ। कालोपत्रे गर्ने ठेक्का भइसक्यो। सडक आयोजनाले समयमै नगर्दा काममा भने ढिलाइ भएकै छ। खानेपानी आयोजना एउटा गैरसरकारी संस्थाले निर्माण गरेर घरघरै धारा जोडिदिएको छ। आफैं बिजुलीमा अत्मनिर्भर रहेको बारपाकमा भूकम्पपछि विद्युत् ध्वस्त भयो। गाउँ नै उज्यालो बनाउने जेनेरेटर बारपाकीले सहयोग पाए। संघ–संस्थाले खानेपानी, सरसफाइ, राहत वितरण, आंशिक रोजगारी, तालिम धेरै दिए। यो फाइदा बारपाकीले पनि लिए।

एकनासे ढुंगाले छाएका, बढीमा दुईतले घर थिए। अहिले गगनचुम्बी चार–पाँच तलेसम्म घर बनेका छन्। रड, सिमेन्ट, इँट्टा प्रयोग गरिएको छ। पहिलेभन्दा बलिया घर ठडिए। अब विपत्ति आइहाल्यो भने पनि भूकम्प थेग्ने वा पहिले जस्तो घरमै पुरिएर ज्यान गुमाउने अवस्था नआउन सक्छ। घर बनाउने सिकर्मी, डकर्मी तालिम लिएर बेरोजगार महिला, पुरुष स्वरोजगार बनेका छन्। केन्द्रबिन्दु बारपाकमा निर्माण सामग्री माग धेरै भएपछि ट्याक्टर किन्ने, भाडामा लगाउनेहरु बढेका छन्। चालक थपिए। यो सबै रोजगारीमा स्थानीयले प्राथमिकता पाएका छन्। मानिसको चहलपहल पहिलेभन्दा बढेको छ। होटेलहरु थपिएका छन्। पहिले होमस्टे र एक–दुई मात्रै होटेल थिए। अहिले दर्जनभन्दा बढी होटेल छन्। स्थानीयले घरमै बसेर व्यापार गरेका छन्। परिवारमात्रै बस्न मिल्ने घर हुँदा होटल चलाउन नसकेका मानिस भूकम्पपछि पक्की घर बनाएर होटल व्यवसायमा लागेका छन्। विपत्तिले विनाश मात्रै होइन विकास पनि ल्याएको छ।

सदरमुकामबाट बारपाकसम्म जाने सडकमा चारवटा पुल जाइकाले निर्माण गरिदियो। काम सुरु गरेको डेढ वर्षमा पुल तयार भए, जुन अन्तर्राष्ट्रिय गुणस्तरका छन्। पुल नबनेको भए बारपाकी अहिले पनि बर्खामा हिँडेर आउजाउ गर्नुपथ्र्यो। राङरुङ खोलामा ट्याक्टर समेत तार्न सक्ने अवस्था थिएन, जहाँ अहिले पक्की पुल छ। व्यक्तिगत घर मात्रै होइन, वडा कार्यालय पक्की भवनमा छ। प्रहरी चौकी पनि पक्की बन्दैछ। भूकम्पको केन्द्रबिन्दु नभएको भए, बारपाकले २०७२ वैशाख १२ को विपत्तिको सामना नगरेको भए यो गतिको विकास देख्न अझै वर्षौं कुर्नुपथ्र्यो।

नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका बारपाकका स्थानीय हरिबहादुर घले भन्छन्, ‘भूकम्पले विकास पनि भएको छ, मानिसको जीवनशैली फेरिएको छ, रोजगारी मिलेको छ, अन्तर्राष्ट्रिय संघ–संस्थाको सहयोगले छिटो विकास भएको छ।’

बारपाक मात्रै होइन, सिंगो गोरखामै दातृ निकायहरुको ध्यान खिचिएको छ। तिब्बतसम्म सिमाना जोडिएको गोरखाको दुर्गम भेगमा अहिले पनि सडक सञ्जाल जोडिएको छैन। भूकम्पपछि नेपाली सेनाले तिब्बतसम्म सडक जोड्ने गरी दुई वर्षयता ट्र्याक खोलिरहेको छ। भूकम्पपीडित धार्चे र चुमनुब्रीका स्थानीयलाई निर्माण सामग्री ढुवानी गर्न, नजिकको बजारसम्म आउजाउ गर्न समस्या भएपछि सेनालाई उक्त सडक खोल्ने जिम्मा सरकारले दिएको हो। अहिले करिब १८ किलोमिटर खनिएको छ। माछाखोलासम्म सडक पुगेको छ। ज्याला प्रतिकिलो १५ रुपैयाँ घटेपछि स्थानीयलाई सजिलो भएको छ।

गोरखामा रहेका चार सय सामुदायिक विद्यालयका पक्की भवन बनेका छन्। विद्यालय ‘रिसोर्ट’ जस्ता बनेका छन्। विभिन्न संघ–संस्थाले विद्यालयमा ठूला–ठूला भवन, ल्याब, पुस्तकालय, क्यान्टिन, सुविधासम्पन्न शौचालय निर्माण गरिदिएका छन्। अधिकांश निर्माण सकिएको छ भने केही निर्माणाधीन छन्। विद्यार्थी संख्या घट्दै गए पनि सामुदायिक विद्यालय भवन भने स्तरीय हुँदै छन्। ‘भवन मात्रै भएर हुँदैन, यहाँको नतिजा पनि अब भवन जस्तै सुन्दर आउनुप¥यो,’ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनशक्ति मावि नाम्जुङको विद्यालय भवन उद्घाटन गर्दै भनेका थिए। भवन भएन, संरचनाको अभाव भयो, नतिजा सुधार हुन सकेन भन्नेले अब निजी विद्यालयसरह संरचना तयार भएपछि नतिजामा पनि निजीलाई पछ्याउन सक्नुपर्नेमा उनले जोड दिएका थिए। जीर्ण भएका भवनहरु सबै नयाँ बन्नु शिक्षाको लागि भूकम्प अवसर बनेको भन्दै उनले दातृसंस्थालाई धन्यवाद दिए। टहरामा, सय वर्ष पुराना भवनमा चलेका, पानी चुहिने, घाम छिर्ने टहरामा चलेका विद्यालयलाई भूकम्प अवसर बन्यो।

स्वास्थ्य चौकीहरु पनि यहाँ अस्थायी धेरै थिए। अहिले युनिसेफलगायत संघ–संस्थाको सहयोगमा सबै स्थायी बनेका छन्। सेवा सुरु गरिसकेका स्वास्थ्य चैकीले उपचार क्षमता बढाउन जरुरी छ। कतिपय संस्था र सरकारी योजनामै स्वास्थ्य चौकीको स्तरवृद्धि गरिएको छ। सबै संरचना पक्की बनेका छन्। भाडाको घरमा बस्दै आएका प्रहरीहरु नयाँ भवनमा डेरा सरेका छन्। आफ्नै नयाँ घरमा बस्न पाएपछि हातहतियार सुरक्षा गर्न पनि सजिलो भएको अनुभव उनीहरुको छ। झन्डै एक दर्जन चौकी भूकम्पपछि बनेका छन्। केन्द्रबिन्दु जिल्ला गोरखाका लागि यो पनि अवसर बन्यो। बारपाकसँगै जोडिएको लाप्राकमा एकीकृत बस्ती बन्यो। बगुवामा पनि बन्दैछ।

जिल्लाको माउ अड्डा जिल्ला प्रशासन कार्यालय निकै पुरानो, साँघुरो घरमा थियो। रेट्रोफिटिङ गरेर मर्मत गरेको भए पनि चल्ने भवन भूकम्पमा क्षति पुगेपछि भत्काइयो। अहिले स्तरीय सुविधासम्पन्न भवनबाट सेवा दिइएको छ। जिल्ला अदालत गोरखा साँघुरो कोठाबाट जिल्लाकै ठूलो, पार्किङसहितको स्तरीय भवनमा सर्दैछ। अहिले अदालत भवन धमाधम निर्माण भइरहेको छ। चारवटा कोठामा सीमित सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यालयसँग एउटा कोठा मागेर कार्यालय सञ्चालन गर्दै आएको राष्ट्रिय अनुसन्धानको नयाँ भवन बन्दैछ। जिल्ला प्रशासन कार्यालयको क्वार्टर, हुलाक कार्यालय, कृषि कार्यालयलगायत अड्डाहरु भूकम्पकै कारण छिटो बने। केन्द्रबिन्दु जिल्ला नभएको भए, भूकम्पले भवन नभत्काएको, नचर्किएको भए सायदै यी अड्डाहरुले यति चाँगै रुप फेर्थे।

खानेपानी आयोजनाहरु धमाधम गाउँगाउँमा निर्माण भएका छन्। करोडौं रुपैयाँ संघ–संस्थाले भूकम्पपीडितका नाममा सिध्याएका छन्। संघ–संस्थामा जागिर गर्नेहरु ह्वातै बढे। केही समय भए पनि गोरखाली धेरैले रोजगारी पाए। सदरमुकामदेखि गाउँगाउँसम्म चहलपहल बढ्यो। व्यापार व्यवसाय पनि बढ्यो। घरभाडामा लिनेहरु थपिए। अनुगमन, भ्रमण, निरीक्षण तालिम भएकै थियो। भत्ता, पारिश्रमिक पनि पाउनेहरुले सन्तुष्टि लिए। होटलहरुले पनि व्यापार राम्रै गरे। आर्थिक अवस्था कमजोर भएका, भूकम्पअघिदेखि टहरामा रहेकाहरुलाई सानो भए पनि घर बनाउन पुग्ने गरी सरकारले तीन लाख रुपैयाँ दिने घोषणा ग-यो। घर नै नभएका अहिले घरमा बस्न पाएका छन्। असहाय, अशक्तलाई संघ–संस्थाले घरघरै पुगेर सहयोग पनि गरे। भूकम्प नगएको भए वा गोरखा केन्द्रबिन्दु नभएको भए चार वर्षभित्र देखिएको विकास क्रम पहिल्यै झैं हुन्थ्यो भने एक दशकभन्दा बढी लाग्न सक्थ्यो। तर, चार वर्षको गति हेर्दा आउँदो वर्ष झन्डै पुनः निर्माण सकिने अनुमान लगाउन सकिन्छ।

‘भूकम्पले विनास निम्त्यायो, यो एउटा विपत्ति थियो, यसको जगमा हामीले अब विकासलाई नयाँ किसिमले अगाडि बढाउन सक्नुपर्छ, यसलाई विकासको बाटो कोर्ने माध्यम अवसरको रुपमा लिनुपर्छ,’ राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सदस्य हरेराम पराजुलीले गोरखा आउँदा बारम्बार भनेका थिए। जहिले पनि भूकम्पले विनास ग-यो, सत्यनास भयो भनेर कोलाहल भइरह्यो। ‘विनासले विकासको अवसर पनि ल्याउन सक्छ’ भनेर कसैले भन्यो भने ‘विपत्ति भोग्नेलाई पो थाहा हुन्छ, सुन्नेलाई के था ?’ भन्नसम्म पीडितहरु पछि पर्दैनन्। ‘नहुनु थियो भयो, अब भूकम्पले ध्वस्त घरलाई कसरी बलियो बनाउने, स्तरीय र सुविधासम्पन्न कसरी बनाउने भन्ने योजनामा केन्द्रित हुनुपर्छ,’ सदस्य पराजुलीले गृहजिल्ला गोरखामा बारम्बार आएर भनेका छन्।

यी सबै भूकम्पकै कारण भएको हो भनेर शतप्रतिशत ठोकुवा गर्न सकिन्छ। भूकम्पपीडितको नाममा आएका संघ–संस्था र सरकारबीच तालमेल भएको भए, अहिले भएभन्दा स्तरीय, विकास हुन सक्थ्यो कि ! परिमाण धेरै हुन्थ्यो कि ! विपत्तिका बेला च्याउसरी हतारिएर सहयोगमा आएका संस्था पुनः निर्माणसम्म आइपुग्दा सीमित बने। यसकारण पनि कतै स्वार्थ केन्द्रित भएर सहयोग गरे कि भन्ने आशंका गर्ने ठाउँ पनि छ।

सबैले खर्च गरेको बजेट हेर्ने हो भने प्रशासनिक, अनुगमन, भत्तालगायतमा विकास निर्माणको ३० प्रतिशतभन्दा बढी बजेट सकिएको छ। समान्य काम गर्ने तर ‘हाइफाई’ बढी देखाउने संस्थाहरुले खर्च गरेको बजेट एउटै डालोमा राखेर प्राथमिकीकरण र आवश्यकताका आधारमा खर्च गरेको भए भूकम्पमा ध्वस्त भएको गोरखा चार वर्षमा ७५ प्रतिशत मात्रै होइन, दुई वर्षमै शतप्रतिशत पुनः निर्माण हुन्थ्यो कि !

प्रकाशित: १२ वैशाख २०७६ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App