१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

शैलुङ क्षेत्रको संरक्षण र संवर्द्धनका लागि महोत्सव

रामेछाप– दोलखा र रामेछापका गरी ३ गाउँपालिकाको मुख्य आकर्षणका रुपमा रहेको शैलुङ क्षेत्रको संरक्षण, संवर्द्धन र प्रचारप्रसारका लागि त्यस क्षेत्रमा महोत्सव हुने भएको छ। आगामी १३, १४ र १५ गते रामेछापको दोरम्बा गाउँपालिका र दोलखाको शैलुङ र मेलुङ गाउँपालिकाले संयुक्त रुपमा आयोजना गर्न लागेको उक्त महोत्सवका लागि ८० प्रतिशत तयारीको काम सकिएको आयोजकले जानकारी दिएको छ। महोत्सवको मुख्य आयोजक तथा व्यवस्थापक दोरम्बा गाउँपालिका रहेको छ।

महोत्सवको पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्धघाटन गर्ने कार्यक्रम तय भएको छ। पर्यटकीय एवं धार्मिक हिसाबले ऐतिहासिक र महत्वपुर्ण मानिएको उक्त शैलुङ क्षेत्रमा प्रथम साङ्गे म्हार्मोचे, पाचाैँ पदम सम्भब र साताैँ गौतम बुद्धले तपस्या गरेको बताइन्छ। सो भुमिलाई प्रचारप्रसार गरी जिल्ला र देश साथै विदेशमा समेत परिचित गराउने उद्देश्यका साथ महोत्सव गर्ने तयारी गरिएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए।

दुइ जिल्लामा रहेको शैलुङ क्षेत्रको स्वामित्वका सन्दर्भमा ती जिल्लाका ३ वटै गाउँपालिकाको आफ्नो आफ्नो दावी समेत गर्दै आएका छन्। शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले शैलुङ क्षेत्रको विकासका लागि आफु निकै लचिलो हुने बताए। उनले शैलुङ क्षेत्र कतिसम्मलाई मान्ने भन्ने विषयमा भने अन्याेलता नै रहेको बताए।

हरेक किसिमले महत्वपुर्ण रहेको शैलुङ क्षेत्र देशमा विभिन्न व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएकाले अब आफै लागि परेर गर्नुपर्ने अवस्था आएको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए।

उनले सय थुम्काका हिसावले परिचित शैलुङमा थुम्का नै खोतलेर शैलुङको अस्तित्व नै सकिने अवस्था आउन लागेको बताए। शैलुङको विकास, संरक्षण र प्रचारका लागि तल्लो तहदेखि माथिल्लो तहसम्मले नै योजना बनाएर अघि बढनु पर्ने बताए। पुर्वाधार र संरचना विना नै थालिएको यस महोत्सवमा ठूलै चुनौती हुने भए पनि महोत्सवलाई सफल बनाउन लागिपरेको उनले बताए।

दुइ दिनसम्म चल्ने महोत्सवमा करिब ७० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ। महोत्सवमा १० हजार भन्दा बढी पर्यटकको आवागमन हुने अपेक्षा आयोजकले गरेको छ। महोत्सवका लागि मुख्य आयोजकका रुपमा रहेको दोरम्बा गाउँपालिकाले २० लाख र शैलुङ र मेलुङ गाउपालिकाले ५/५ लाख गरी २० लाख संकलन भइसकेको र अन्य खर्चका लागि विभिन्न निकायहरुसँग सहयोगका लागि आग्रह गरिएको दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए।

शैलुङ क्षेत्रबाट हिमालहरुको दृश्यावलोकन, सुर्योदयको दृश्यावलोकन गर्नुका साथै प्रकृतिको विशेष मज्जा लिन सकिन्छ। महोत्सवमा स्थानीय कला, संस्कृति, भेषभुषा र झांकीको मज्जा लिनुका साथै जिल्ला र राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने छ।

प्रकाशित: ४ वैशाख २०७६ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App