९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बारा–पर्साका हुरीपीडितलाई प्रदेश ३ को एक करोड सहयोग

जनकपुर– बारा र पर्सामा गत चैत महिनामा आएको विनाशकारी हुरीपीडितलाई प्रदेश ३ सरकारले एक करोड सहयोग गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश २ सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेका हुन्।
 
बुधबार जनकपुरस्थित प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै पुगेर पौडेलले समकक्षी लालबाबु राउतलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरे। २८ जनाको ज्यान गएको उक्त हावाहुरीमा एक हजारभन्दा बढी घाइते भएका थिए।

बारा र पर्सामा ठूलो जनधनको क्षति भएको उक्त घटनापछि प्रदेश ३ का सांसदहरूले तीन दिनको तलब बराबर हुने चार लाख ६९ हजार ५० रुपैयाँ प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ। उक्त रकमको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले बुधबार प्रदेश २ का मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरिन्। 

प्रदेश २ मा आँधीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति प्रदेश ३ को सरकारले दुःख व्यक्त गर्दै राहत स्वरूप प्रदेश सरकारलाई औपचारिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री पौडेलले बताए। उनको उक्त सहयोगी भावना प्रति प्रदेश २ का मुख्यमन्त्री राउतले आभार प्रकट गरे।

‘मुलुकका विभिन्न प्रदेशहरूमा एकापसबीचको सहयोगी भावना निरन्तर कायम रहनुपर्छ’, राउतले भने। प्रदेश ३ का मुख्यमन्त्री पौडेल, उपसभामुख तामाङसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश सिवाकोटी, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल झालगायतको टोली प्रदेश २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएर उक्त सहयोग चेकमार्फत हस्तान्तरण गरेको हो। 

प्रकाशित: ४ वैशाख २०७६ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App