रुकुम - रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–१० की पार्वती खड्काको १४ वर्षको उमेरमा विवाह भयो। त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो। तर विवाह भएको एक वर्षमै पहिलो सन्तान छोरी र ३० वर्ष नपुग्दै चार सन्तान भए। सुत्केरी अवस्थामा पोषिलो खाना र स्याहारसुसार नपाएका कारण पार्वतीको स्वास्थ्यमा समस्या सिर्जना भयो। ३५ वर्षको उमेरमै पाठेघर फाल्नुप-यो।
अहिले ४३ वर्ष पुगेकी पार्वती कम्मर दुख्ने, आँखा कम देख्ने, हातखुट्टा दुख्नेजस्ता समस्याबाट पीडित छिन्। खेतबारीको काम, नियमित घरधन्दासमेत गर्न कठिन छ। औषधिको बलमा जसोतसो जीवन चलिरहेको छ। ‘त्यो बेला आमा–बाबाले सानैमा विवाह गरिदिए,’ उनले भनिन्, ‘सानो उमेरमा गर्भवती भएकै कारण पाठेघर फाल्नुप-यो।’ त्यतिखेर पोषिलो खानेकुरा खान पाएको भए जीवन फरक हुन्थ्यो होला भन्ने उनलाई अहिले लागेको छ।
बाँफिकोट गाउँपालिका–८ की धना जैसीको पनि महिनावारी नहुँदै १३ वर्षको उमेरमा विवाह भएको थियो। धना १३ वर्षकी हुँदा उनका पति वीरभान १५ वर्षका थिए। विवाहलगत्तै गर्भवती भएकी उनी सात पटक सुत्केरी भइन्। जन्मेकामध्ये तीन सन्तान राम्रो स्याहार र उपचार हुन नसकेर मरे। धनाका पति काम गर्न भारत जान्छन्। ‘श्रीमान्को कमाइले घर चलाउनै धौधौ थियो, छोराछोरीलाई कसरी स्कुल पठाउनु रु,’ उनले पारिवारिक गरिबी दर्शाउँदै भनिन्, ‘राम्रो पढ्नमात्र होइन मेरा छोराछोरीले त पेटभरि खान पनि पाएनन्।’
बालविवाह अन्त्यका लागि नेपालमा थुप्रै कानुनी तथा नीतिगत प्रावधानहरू बनाइएका छन्। संविधानले कानुनविपरीत कार्य गर्नेलाई सजाय तथा पीडितलाई क्षतिे व्यवस्था पनि गरेको छ। बालविवाह न्यूनीकरणका लागि थुप्रै संघ–संस्थाहरू लागिपरेकै छन्। तर पनि बालविवाह हुने क्रम भने रोकिएको छैन। कलिलै उमेरमा विवाह गरेका कारण रुकुमका यस्ता थुप्रै महिलाको जीवन दुःखदायी भएको छ।तर जीवन जतिसुकै दुःखदायी भए पनि रुकुम तथा सल्यानमा बालविवाह हुने क्रम रोकिएको छैन। बालविवाहका कारण महिलाको शारीरिक, मानसिक विकासमा नकारात्मक असरमात्र पर्दैन, पुरुषलाई पनि मानसिक तनाव र आर्थिक भारले थिच्छ।
बालविवाहका कारण किशोरी र बच्चाको अकालमा ज्यानसमेत जाने गरेको छ। बालविवाहकै कारण अधिकतर महिलाहरू आङ खस्ने, फिस्टुला, पाठेघर तथा छातीको क्यान्सरजस्ता स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन्। अधिकारकर्मी अधिवक्ता रचना मल्ल सानै उमेरमा विवाह गर्दा महिलालाई शारीरिक, मानसिक, आर्थिक आदि सबैखाले समस्या हुने गरेको बताउँछिन्। उनका अनुसार सुत्केरी अवस्थामै गह्रौं भारी बोक्नुपर्ने, दैनिक काममा जोतिनुपर्ने, पोषिलो खाना नपाउनेजस्ता समस्याले स्वास्थ्यमा गम्भीर समस्या हुने गरेको छ। ‘सानै उमेरमा गरिने विवाहका कारण धेरैले विद्यालय छाड्नुपरेको छ। शारीरिक र मानसिक अवस्थामा परिपक्व नहुँदै घरपरिवार र बच्चाको जिम्मेवारी बोक्नुपरेको छ,’अधिवक्ता मल्ल भन्छिन्, ‘यसकारण उनीहरूका बालबालिकासमेत आधारभूत अधिकार उपभोग गर्नबाट वञ्चित भइरहेका छन्।’
अधिकारकर्मी दुर्गा बजगाई बालविवाहले महिलामाथि हिंसा बढाइरहेको बताउँछिन्। भन्छिन् ‘शिक्षा र रोजगारी नभएका कारण महिलामाथि थप हिंसा भइरहेको छ।’ कानुनले तोकेअनुसार २० वर्ष उमेर पुगेपछि मात्र किशोरकिशोरीहरू शारीरिक र मानसिक रूपमा परिपक्व हुन्छन्। उनीहरूमा हरेक किसिमको निर्णय लिन सक्ने क्षमताको विकास त्यसपछि मात्र हुने गर्छ। उमेर नपुग्दै विवाह गर्दा महिलामा मानसिक, शारीरिक, आर्थिक सबै खाले समस्या हुने गरेको जिल्ला अस्पताल सल्लेका प्रमुख डा. सुशील पोखरेलले बताए। त्यसो त बालविवाह अन्त्यका लागि नेपालमा थुप्रै कानुनी तथा नीतिगत प्रावधानहरू बनाइएका छन्।
संविधानले कानुनविपरीत कार्य गर्नेलाई सजाय तथा पीडितलाई क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ। बालविवाह न्यूनीकरणका लागि थुप्रै संघ–संस्थाहरू लागिपरेकै छन्। तर पनि बालविवाह हुने क्रम भने रोकिएको छैन। जिल्ला अस्पताल प्रमुख डा। पोखरेलका अनुसार स्वास्थ्य संस्थामा अहिले पनि सुत्केरी हुने ३० प्रतिशत आमाहरू २० वर्षमुनिका छन्। नेपालको कानुनअनुसार २० वर्ष उमेरभन्दा अगाडि गरिने विवाह बालविवाह हो। उमेर नपुगी भएको विवाह गैरकानुनी र दण्डनीय मानिए पनि समाजमा अझै बालविवाहको परम्परा कायमै छ।
प्रकाशित: २७ चैत्र २०७५ ०३:१९ बुधबार