वीरगन्ज - चैत १७ गते साँझ आएको विनाशकारी हावाहुन्डरीले घरबारविहीन भएकाहरूले राहतको त्रिपालमा ओत लाग्न खोजिरहेका बेला मेघगर्जनसहित पानी पर्न थालेको छ। चैतमा दिउँसो घामको राप सहन नसकिने हुन्छ, रातको अन्तिम पहरमा पानी परेको बखत जाडोले खुब सताउँछ। हावाहुरीले बेघर भएकाहरू यतिखेर एकैचोटि घाम र पानीको मारमा परेका छन्।
‘शनिबार साँझैदेखि मौसम खराब भएपछि हामी निकै डराएका थियौं। हावा पनि चलेको थियो। घर नभएपछि सेनाले लगाइदिएको पालमा परिवारका १० जना बस्दै आएका छौं, चिउरा र चाउचाउले भोक टार्दै थियौं,’ सामूहिक भोजनालय (मेस) मा भेटिएकी भरबलियाकी अञ्जली राउत कुर्मीले भनिन्, ‘यहाँ खाना पाइने थाहा भएपछि राति १० बजे आएर लग्यौं र खायौं।’ कलैया जेसिजले चलाएको मेसमा आइतबार बिहान १० बजे खाना लिन आएकी बालिकाले अघिल्लो साँझ मौसमले तर्साएको घटना सुनाइन्। शनिबार मौसम खराब भएपछि आँधीहुरीपीडितमा थप त्रास फैलिएको थियो।
‘सबैभन्दा बढी घर यस गाउँमा क्षति भएको रहेछ, शनिबारदेखि हाम्रो यो मेस बन्द गर्ने कुरा भए पनि कसैको घरमा पनि चुल्हो सुरु नभएकाले स्थानीयको आग्रहअनुसार पनि हामीले केही दिनअझ निरन्तरता दिने निर्णय ग-यौं,’ कलैया जेसिजका कोषाध्यक्ष श्रवणकुमार साहले भने, ‘मौसमको त्रास छ।’ शुक्रबार राति आकाशले रङ फे-यो अनि बादल मडारिन थाल्यो। शनिबार दिनभरि कालो बादल मात्र देखिएन, पानी पनि प¥यो। आइतबार घरी घाम लाग्यो, घरी अँध्यारो छायो।
‘मौसम बिग्रिएको देखेर मानिसहरूको सातो गइरहेको छ,’ स्थानीय अगुवा वीरेन्द्र्रप्रसाद साहले भने, ‘राहत वितरण भइसकेर केही कुरा हामीसँग अधिक पनि छ यहाँ। जस्तै अरू ठाउँमा चाहियो भने झुल लैजाँदा हुन्छ भनेका छौं, चिउरा, चाउचाउ र अन्न पनि प्रशस्त छन्। तर यी सब कुराले मौसमको त्रास कम गर्दैन नि !’ स्थायी आवास बनाउनेतिर अब सबैको ध्यान केन्द्रित हुनुपर्ने उनले बताए। अरू ठाउँमा ‘मेस’ बन्द भए पनि अधिक भौतिक नोक्सानी भएको भरबलियामा भने अझ चलिरहेको छ। अवस्था हेरेर चलाउनुपरेको कलैया जेसिजका अध्यक्ष राजेश कुशवाहाले बताए। बिहानबेलुका गरी हजार बढीलाई आफूहरूले खाना खुवाइरहेको उनले बताए। व्यक्तिगत रूपमा मानिसहरूले घरघरमा चुल्हो बालेर खाना बनाउन सुरु गर्न जरुरी रहेको राहत तथा उद्धारमा खटिएकाहरू बताउँछन्। आइतबारदेखि एसइईबाहेकका विद्यार्थीहरू पनि विद्यालय जान थालेका छन्।
प्रकाशित: २५ चैत्र २०७५ ०२:३३ सोमबार