बारा - बारामा ज्यानमारा हावाहुरी आएको घटनापछि कतिपय बस्तीका मानिसहरू बादल लागेको देख्नासाथ तर्सिन थालेका छन्। चैत हावाहुरीकै महिना भएको र तीन दिनदेखि मौसम बिग्रिएर पानी पर्न र बादल लागेको देख्नासाथ थप बिजोग हुने भयले स्थानीय त्रसित बनेका हुन्।
गृह मन्हावाहुरी प्रभावित बस्तीमा आवश्यक त्रिपाल पु¥याउन सकेको छैन। कम्तीमा एक हजार आठ ९५ त्रिपाल आवश्यक भएकोमा गृहले करिब ६ सय मात्र पठाएकाले त्रिपाल नपाउने परिवारको बिचल्ली भएको छ। ‘पानी पर्दा ओत लाग्ने ठाउँ छैन,’ कलैया उपमहानगरपालिका–१३ का कृष्ण साह भन्छन्, ‘राहतमा पाएका खानेकुरा र अरू सामान राख्ने ठाउँसमेत छैन।’ पशु चौपायासहित आफूहरूले गोठमा सुत्नुपरेको तथा राहतस्वरूप प्राप्त खानेकुरा गोठमा राख्दा एक दिनमै खान अयोग्य हुने साहको भनाइ छ। अहिले वर्षासँगै असिनाको पनि डर भएकाले पशुसँगै पशुजस्तै कष्टकर जीवन बिताउन बाध्य हुनुपरेको महागढीमाई नगरपालिका तेलगाईका जगदीशप्रसाद यादव बताउँछन्। यादवले त्रिपाल नपुगेको र दिनहुँजसो पानी परिरहेकाले अलिकति भएको अन्न पनि कुहिएर समस्या भएको बताए। ओत लाग्ने ठाउँको अभाव हुँदा कारण घरका सदस्यहरू बिरामी पर्न थालेको उनले बताए।
सरकार र राहत वितरण गर्ने विभिन्न संस्थाको ध्यान फेटातिर मात्र केन्द्रित भएकोले जिल्लाका अन्य गाउँका पीडितहरू झन् पीडित बन्नुपरेको सुवर्ण गाउँपालिका–७ का वडाध्यक्ष मुकेश सिंहको आरोप छ। आफ्नै गाउँपालिकामा करिब तीन सयजना घरवारविहीन भएको तर कसैको ध्यान आकृष्ट हुन नसकेको दुखेसो सिंहको छ। गाउँपालिकाले पीडितहरूलाई अहिलेसम्म सामूहिक भोजन उपलब्ध गराइरहेको तथा नेपाल रेडक्रस सोसाइटीको पहलमा केही त्रिपाल उपलब्ध भएको तर पीडितहरूको समस्या अन्य निकायले नसुनेको सिंहको दाबी छ।
फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले आफ्नो गाउँपालिकाका चार सय जनाले त्रिपाल पाउन सकेको र आठ सय प्रभावित रहेको बताउँछन्। सबैले राहत पनि पाउन नसकेको तथा सबैतिर ध्यान दिन जान नसकेकोले यथासम्भव सबैको ध्यान आफ्नो गाउँपालिकातिर जानुपर्ने उनी बताउँछन्।
बालमनोविज्ञानमा पनि समस्या
त्रिपालको जीवन निकै कष्टकर हुने भएकाले गर्मीको दिन बिताउन अझ कष्टकर हुने भएकोले सरकारले समयमै पीडितहरूको बसोबासको व्यवस्था गर्नुपर्ने देखिन्छ। आफ्नो घर उडाएपछि बालबालिकाहरूमा पनि समस्या देखिएको छ। हावाहुरीपछि आफ्नो घर नै नरहेपछि बालबालिकाले अब आफ्नो घरभित्र पस्न नपाउने पो हो कि भन्ने मनोविज्ञानिक डर देखिन थालेको छ। न आफ्नो घर, न आफ्नो ओछ्यान र न त आफ्नो खेलौना नै बाँकी रहेकोले अनेक किसिमले समस्या देखिन थालेको छ।
सुवर्ण गाउँपालिका ४ हर्दियाको दलित परिवारका ७० घर नष्ट भएपछि बालबालिकाहरू सपनामा पनि घर जाने भन्न थालेको स्थानीय गगनदेव राम बताउँछन्। गत हप्ताको प्राकृतिक प्रकोपले पूरै डराइसकेका आफ्ना दुई वर्षका छोरा रितेश राम, ४ बर्षिय नितेश राम र ६ बर्षिया छोरी रागनी कुमारी राम सामान्य हावा चल्दा पनि डराउन थालेको र कहिलेकाहीँ सपनामा उठेर चिच्याउन थालेको रामको भनाइ छ।
सोही स्थानमा बसोवास गर्ने लोरी प्रसाद यादवको ११ बर्षिया छोरी मनिषा कुमारी, ९ बर्षिया मनिताकुमारी, ७ बर्षिया आरती कुमारी, ५ बर्षिया ममता कुमारी र ३ बर्षिया महिमाकुमारीलाई पनि मनोवैज्ञानिक समस्या देखिएको छ। गाउँका अधिकांश बालबालिामा डराउने, झर्कने, सपनामा बर्बराउने समस्या देखिएको स्थानीयको भनाइ छ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले राहत सामग्री व्यवस्थित तरिकाले वितरण गर्ने काम भइरहेको र पहिलो चरणको काम सकिएकोले अब नयाँ किसिमले पीडितलाई सहयोग गर्ने योजना बनाइरहेको बताएका छन्। पीडितमा देखिएको हरेक किसिमको समस्यालाई समाधान गर्न सरकारले प्रयास गरिरहेको र केही दिनमा धेरै कुरो मिल्ने दाबी गरेका छन्।
प्रकाशित: २५ चैत्र २०७५ ०१:११ सोमबार