१ श्रावण २०७७ बिहीबार
समाज

चुपचाप साधना

तस्बिर सौजन्य : बद्री थापा

‘ससुरालीमा...’, ‘खैरेनीमा गेट...’, ‘वनको काफलवनको चरीलाई...’,‘माझीदाइ पोखरा फेवातालको...’, जस्ता गीत नसुनेको नेपालीको होला ? ती गीत सुनेका बहुसंख्यकलाई तिनका गायकबारे पनि थाहा छ। यी तिनै गीत हुन् जसबाट बद्री पंगेनी, बिमाकुमारी दुरा, सिर्जना बिरही थापा, मिलन लामा, राजु परियार जस्ता गायक–गायिका निकै हिट भए। तर, यी र यस्ता थुप्रै कर्णप्रिय गीत–संगीतसँग प्रत्यक्ष जोडिएको एउटा पात्र दुनियाँको नजरबाट ओझेलमा छ। ऊ चुपचाप साधनामा तल्लीन छ। न प्रचार खोज्छ, न कसैसँग गुनासो नै राख्छ। संगीतको संसारमा लडीबुडी गर्न पाइरहनुलाई सबैथोक ठान्छ ऊ।

त्यसो त गीतका भाका र लयलाई सिँगारेर अझ सुन्दर बनाउने संगीत संयोजक (म्युजिक एरेन्जर)हरू सबैजसो पर्दापछाडि नै हुन्छन्। त्यस्तै एउटा पात्र हो– जुजु गुरुङ। नेपाली लोकसंगीतको दुनियाँमा सम्मानपूर्वक पुकारिने यो नामबाहिरी दुनियाँका लागि भने बिल्कुलै पराइ लाग्छ। जुजु आफैं पनि प्रचार रुचाउँदैनन्। बरु ओझेलमै बसेर कर्म गर्न चाहन्छन्। त्यसैले त मूलधारको संगीत साधनामा दुई दशकभन्दा लामो समयदेखि सक्रिय यी पात्र धेरैका लागि नौला लाग्छन्।

थुप्रै कर्णप्रिय गीत–संगीतसँग प्रत्यक्ष जोडिएको एउटा पात्र दुनियाँको नजरबाट ओझेलमा छ । ऊ चुपचाप साधनामा तल्लीन छ । न प्रचार खोज्छ, न कसैसँग गुनासो नै राख्छ । संगीतको संसारमा लडीबुडी गर्न पाइरहनुलाई सबैथोक ठान्छ ऊ ।

दोस्रो विश्वयुद्ध लडेका लाहुरे कुलबहादुर गुरुङका छोरा हुन् जुजु। उनी सानै उमेरदेखि मादल, खैंजडीजस्ता वाद्ययन्त्रका साथी बने। घरैमा गाउँले जम्मा पारेर नाचगान गराउने बुबाको बानीले उनलाई थातथलोमै सांगीतिक वातावरण दियो। बाल्यकालमै मादल, माउथ हार्मोनियम, खैंजडीजस्ता बाजा बजाउन जानेका जुजु १४–१५ वर्षकै उमेरमा सारंगी बजाउन पोख्त भइसकेको बताउँछन्। स्कुलमा हुने सांगीतिक कार्यक्रममा सबैलाई जित्दार बाजा बजाउँदा पाएको वाहवाहीले जुजुमा यही क्षेत्रमा केही गरेर देखाउने हुटहुटी जगाइदियो।

सफल म्युजिक एरेन्जरतर्फको जुजुको यात्रा थातथलो लमजुङको भोटेओडार छाडेर कलेज पढ्न राजधानी छिरेपछि सुरु हुन्छ। २०४६ सालमा एसएलसी पास गरेपछि केही समय गाउँको प्राथमिक स्कुलमा पढाए। तर, त्यो पेसामा उनी रमाउन सकेनन्। कलेज पढ्ने निहुँमा राजधानी हान्निएका उनले काठमाडौंमा स्वभाव र रुचिअनुसारको संगत पाए।
राजधानी छिरेको केही समयमै मयुर, चौंरी, शेर्पा जस्ता परम्परागत नृत्य प्रस्तुत गर्दै हिँड्ने सांस्कृतिक टोलीमा मिसिने अवसर पाएपछि वाद्यवादनमा आफूलाई अझ निखार्ने मौका मिलेको उनको भनाइ छ। २०४८ सालतिर एकजना साथीले उनलाई कुनै राजनीतिक दलको सांस्कृतिक विभागअन्तर्गतको एउटा सांगीतिक टोलीसँग चिनजान गराइदिए। उक्त टोलीसँगको चिनजान जुजुका लागि बिरानो सहरमा थोरबहुत आम्दानीको स्रोतमात्रै बनेन, लक्ष्यतर्फ अघि बढाउने ‘ड्रइभिङ फोर्स’ बन्यो।

समय अघि बढिरह्यो। सम्बन्धहरू पनि फेरिँदै गए। जुजुको संगीतकर्म फेरिएन। सतत् साधना सफलतामा रूपान्तरण हुँदै गयो। सांगीतिक कार्यक्रममा हिँड्ने क्रममै २०५४ सालतिर गायक तथा संगीतकार नारायण रायमाझीसँग भेट भयो। रायमाझीसँगको भेट उनको लागि जीवनको ‘टर्निङ प्वाइन्ट’ साबित भयो। रायमाझीले जुजुलाई आफ्नै म्युजिक कम्पनी रिमा रेकर्डिङमा वाद्यवादक बनाए। रायमाझीको योगदानलाई कहिल्यै नभुल्ने बताउँछन् जुजु। २०५० को दशकको उत्तरार्धतिर आइपुग्दा जुजु वाद्यवादन छाडेर संगीत संयोजनतर्फ मोडिए। यसमा सुरुदेखि नै सफलता मिल्यो। उनलाई खोज्नेको ताँती बढ्यो। काम भ्याइनभ्याई भयो, गीतसंगीतको दुनियाँमा ख्याति बढ्दै गयो।

‘एक दिनमा ५–६ वटासम्म अडियो अल्बमको संगीत संयोजन गरेँ,’ जुजुले झण्डै २० वर्षअघिको दिनचर्या सम्झिए। ‘ससुरालीमा...’, ‘खैरेनीमा गेट...’, ‘हङकङ आइडीले...’, ‘फूलमा भमरा...’, ‘वनको काफलवनको चरीलाई...’, ‘मिर्मिरेमा भाले बासेको...’, ‘छिनको छिनैमा...’ जस्ता असंख्य चर्चित गीतको संगीत संयोजन उनैले गरेका हुन्। यसबीचमा कतिवटा गीतमा संगीत संयोजन गरे, त्यसको रेकर्ड उनीसँगै छैन। ‘१५हजारभन्दा बढी होला,’ उनले अनुमान लगाए, ‘संख्या ठूलो कुरा भएन, सफलता ठूलो कुरा हो। त्यसैले गन्ती गर्नेतिर लागिनँ।’

त्यसो त गीतका भाका र लयलाई सिँगारेर अझ सुन्दर बनाउने संगीत संयोजक (म्युजिक एरेन्जर)हरू सबैजसो पर्दापछाडि नै हुन्छन् । त्यस्तै एउटा पात्र हो– जुजु गुरुङ ।

जुजुले संगीत संयोजन गरेका गीत गाएर धेरै गायक–गायिकाले चर्चा र वाहवाही बटुलेका छन्। र, त लोकप्रियताको शिखरमा पुगेका गायक–गायिका पनि जुजुप्रति श्रद्धाले निहुरिन्छन्। माझीदाई पोखरा फेवाताल लगायत चर्चित गीतका गायक मिलन लामा भन्छन्, ‘नेपाली लोकसंगीतमा उहाँको ठूलो योगदान छ। बद्री पंगेनी, राजु परियार, बिमाकुमारी दुरा, म लगायतले गाएका अधिकांश हिट नम्बरका गीतमा उहाँले नै संगीत संयोजन गर्नुभएको छ।’ आफ्ना समकालीन गायक–गायिकालगायत संगीतकर्मीको जुजुप्रति उच्च सम्मान रहेको लामाले बताए।

जुजुले गायकको परिचय पनि बनाएका छन्। ‘काठेपुलैमा...’, ‘धादिङ सल्यानटार...’, ‘दुवाली थुनेको...’ गीत उनकै स्वरका हुन्। थुप्रै अवार्ड पाएका जुजुले पछिल्लो समय बेस्ट एरेन्जरतर्फको इपिक अवार्ड २०७५ पाएका छन्। शिलाबहादुर मोक्तान, पूर्ण गुरुङ, भूपेन्द्र रायमाझी, सचिन सिंह, जुगल डंगोललाई प्रेरणा स्रोत मान्ने जुजुले इन्दिरा कलानिधि विद्यालयमा संगीत पढेका हुन्। गीत–संगीत क्षेत्रका समकालीनको नजरमा जुजु गहिरो संगीत चेत भएका प्रतिभाशाली व्यक्तित्व हुन्। तर, उनी आफूलाई त्यति ठूलो विशेषण लगाउनु नपर्ने ठान्छन्। ‘म कर्ममा विश्वास गर्छु, गीत संगीतको विशाल संसारमा मैले सिक्नुपर्ने कुरा धेरै छ,’ गफिने क्रममा उनले भने।

प्रचारवाजी, सम्मान, अभिनन्दन, पुरस्कार जस्ता विषयमा रुचि नभएको बताउने जुजुलाई दुई दशक लामो कर्मले काठमाडौंको घरपेटी बनाइदिएको छ। एक छोराका बाबु जुजु यसमै सन्तुष्ट देखिन्छन्। सन्तुष्ट नहुनु पनि किन ? यो पेसाले उनलाई सम्मान, सन्तुष्ट जीवन बाँच्ने आधार दुवै दिएको छ। एक बसाइँको गफगाफमा जुजुले रिसिभ गरेका सबै टेलिफोन कलमा उनलाई आफ्नो गीतको संगीत संयोजनका लागि आग्रह गरिएको छनक पाइन्थ्यो।

प्रकाशित: ९ चैत्र २०७५ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App