७ वैशाख २०८१ शुक्रबार
समाज

अपहरणमुक्तपछि सांसद मल्लले भनिन्, ‘माग पूरा नगरिदिए ठीक हुँदैन भने’

बझाङ - नेकपा विप्लव समूहको अपहरणमा परेकी बझाङ प्रदेशसभा सांसद देवकी मल्ल अपहरणमुक्त भएकी छन्।

बुंगोल नगरपालिकाबाट कार्यक्रम सकेर बित्थरचिर गाउँपालिकामा उनलाई प्रमुख अथिति बनाएर गाउँपालिकाले नारी दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको थियो। 

सोही क्रममा उनी त्यसतर्फ जाँदै गर्दा केदारच्यु गाउँपालिका ५ बगडीबाट शुक्रबार बिहान ९ बजे अपहरणमा परेकी थिइन्। उनी शुक्रबार अपराह्न अहिले ४ बजे अर्थात् ७ घण्टापछि अपहरणमुक्त भएकी हुन्।

मल्ल अपहरणमा परेको भन्ने आफन्त तथा स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। एकैछिन त हो नि जाउँ भन्दै विप्लवका कार्यकर्ताले निकै माथि लगेको र आफूलाई फर्कन नदिएको अपहरणमुक्त भएपछि मल्लले बताइन्। 

उनले बताएअनुसार उनलाई बगडको माथि लेकमा रहेको जंगलमा लगिएको थियो। उनको अपहरणको आधिकारिक जिम्मा विप्लव समूहले नलिए पनि अपहरणमुक्त सांसद मल्लले बताएअनुसार सरकारको काम र गतिविधि चित्त नबुझेका कारण अपहरण गरिएको हो।

विप्लव समूहले तीन साताअघि आफ्नो पार्टीको महिला संगठनको भेला गर्न नदिएको, पार्टी महिला विभाग प्रमुख बन्धु चन्दलाई प्रहरीले पक्राउ गरेको, निर्मला हत्याकाण्ड अनुसन्धानमा सरकारले पहल नगरेको लगायत आक्रोशमा आफूलाई पक्राउ गरिएको सांसद मल्लले बताइन्। अपहरणमुक्त भएकी सांसदको अवस्था समान्य छ।

साथै आगामी दिनमा आफ्ना पार्टीले राखेका माग पूरा नभए जे पनि हुन सक्ने विप्लवका कार्यकर्ताले धम्कीपूर्ण भाषामा चेतावनी दिएको सांसद मल्लले जानकारी दिइन्। 

तर, जिल्ला प्रशासन कार्यालयले भने यसबारे कुनै ठोस प्रमाण फेला नपरेको बताएको छ। ‘अपहरित सांसद मल्ल सम्पर्कमा आइसक्नुभो, तर, उनलाई कसले कहाँ किन लगेको भन्नेबारे चाहिँ अनुसन्धानमै छ, यसबारे छिट्टै अनुसन्धान सक्छौं,’ बझाङ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।  

प्रकाशित: २४ फाल्गुन २०७५ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App