७ वैशाख २०८१ शुक्रबार
समाज

दरबार हाइस्कुल पुनर्निर्माणमा तीव्रता पायाे

काठमाडौं – निर्धारित समयमै काम सक्ने गरी रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनर्निर्माण भइरहेको छ। पुनर्निर्माणको काम ५० प्रतिशतजति सकिएको छ।

चीन सरकारको पूर्ण सहयोगमा निर्माण थालिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी संघाई कन्सट्रक्सनले पाएको छ। ८५ करोड रुपैयाँं लागतमा नौ रोपनीमा पुनर्निर्माण गर्न लागिएको विद्यालय भवन चारतलेसहित ४० कक्षाकोठाको हुने छ। यस भवनको नमुना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ ले गरेको हो। निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सुरु गरेको १९ महिनामा नेपाल सरकारलाई भवन हस्तान्तरण गर्नेगरी काम अघि बढिरहेको बताए। २०७२ सालको भूकम्पबाट यो विद्यालय भवनमा क्षति पुगे थियो। पुनर्निर्माण शिलान्यास गत साउन १८ गते भएको हो। राणा प्रधानमन्त्री र खलकका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा १९१० सालमा यो विद्यालय स्थापना गरिएको थियो। १९६४ सालमा संस्कृत पढ्न सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको योविद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पठनपाठन हुँदै आएको छ।

५० प्रतिशत काम सकिएको व्यवस्थापन पक्षको भनाइ

२०३० सालमा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हँुदै आएको थियो। अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको छ। केही चीनका र केही नेपालका सामग्री निर्माणमा प्रयोग गरिएको छ। सुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी, माटो र चुना प्रयोग भएकोमा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो। पुरानो विद्यालय भए पनि पछिल्लो समयमा यसले पहिलेजतिको महŒव नपाएको विद्यालय व्यवस्थापन पक्षले स्वीकारेको छ। पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र यो विद्यालयमा अध्ययन गर्न आउने संस्कृत माविका प्राध्यापक बद्री दाहालले बताए। दरबार हाइस्कुल भवनमा संस्कृत मावि पनि सञ्चालित थियो। अहिले संस्कृतका विद्यार्थीलाई वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ।

लामो समय काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्पको तीन वर्षपछिमात्रै यस विद्यालयको पुनर्निर्माण काम सुरु भएको हो। अहिलेको पुनर्निर्माण प्रगति हेर्ने हो भने निर्धारित समयमा नै काम सक्ने पक्का भएको व्यवस्थापक केसीले जानकारी दिए। उनका अनुसार नेपाली र चिनियाँ गरी दैनिक १२० जना भवन निर्माणमा खटिएका छन्। दुई भागमा विभाजन गरी निर्माण कार्य गरिएकोमा हालसम्म तीनवटा तलाको ढलान सकिएको उनले बताए।

गाभिने तयारीमा भानु र संस्कृति मावि
काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार भानु र संस्कृत माविलाई एकापसमा गाभी भानु–संस्कृत माध्यमिक विद्यालय (दरबार हाइस्कुल) बनाउने तयारी गरिएको छ। एउटा मावि सञ्चालन हुन ग्रामीण क्षेत्रमा प्रत्येक कक्षामा ४० र सहरमा ५५ विद्यार्थी हुनुपर्ने कानुनी व्यवस्था रहे पनि यी दुवै विद्यालयमा यस किसिमको समयस्या छैन। यसअघि पनि एउटै भवनमा पठनपाठन गराइरहेका यी दुई विद्यालयमा कम विद्यार्थीे संख्या र अन्य व्यवस्थापनको पाटोलाई समेत दृष्टिगत गरी यस किसिमको अभ्यास गर्न लागिएको हो। प्रमुख कोइरालाले यस विषयमा मन्त्रालयसँग पनि सकारात्मक छलफल भइरहेको बताए।(रासस)

प्रकाशित: १४ फाल्गुन २०७५ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App