१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

भाषशास्त्री बालकृष्ण पोखरेलको शवमा राष्ट्रिय झण्डा ओढाइयो

बालकृष्ण पोखरेलको शवमा राष्ट्रिय झण्डा ओढाइएको छ। तस्बिर : चुमन बस्नेत

विराटनगर- भाषशास्त्री बालकृष्ण पोखरेलको शवमा राष्ट्रिय झण्डा ओढाइएको छ। पोखरेलको आइतबार विहान  साढे १ बजे विराटनगर स्थित आफ्नै घरमा निधन भएको थियो।

उनको पार्थिव शरिरमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राष्ट्रिय झण्डा ओडाए। यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पोखरेलको सम्मानमा मंगलबार महानगरपालिकाले सार्वजनिक विदा दिने बताएका छन्।

भाषाशास्त्री पोखरेललाई माघ ६ गते भारतको सिक्किम  गान्तोक स्थित छोरीको घर  गएका वेला मस्तिष्कघात भएको थियो। सिक्किममा मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं स्थित नर्भिक अस्पतालमा लगिएको थियो। स्वास्थ्यमा सुधार आएपछि विराटनगर ल्याइएका उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि विराटनगरकै श्री अस्पतालमा उपचार गरिंदै आएको थियो।

८६ वर्षिय पोखरेल लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए। पोखरेलको जन्म विक्रम संवत १९९० मा चिसापानी गढी मकवानपुरमा भएको थियो। लामो समय प्राध्यापन गरेका प्राध्यापक पोखरेल साहित्यकारकारुपमा पनि परिचित छन्। नेपाली साहित्य क्षेत्रमा   रुपावासी, वसन्त, वत्सल, इसावापुल, गढतिरे साँहिलो आदि उपनामले उनि चिनिने गरेका छन्। भारतको कोलकोक्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा पोखरेलले स्नातकोत्तर उपाधि प्राप्त गरेका थिए।

२०१९ देखि २०४६ सालसम्म त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा  प्राध्यापकका रुपमा पोखरेल कार्यरत थिए। उनी २०३६ देखि २०४१ सालसम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएका थिए। सो समयमा उनले बृहत नेपाली शब्दकोषको सम्पादनमा योगदान पुर्‍याएको बरिष्ठ समालोचक दधिराज सुवेदीले जानकारी दिए। प्राध्यापक पोखरेलको ३ दर्जन बढी कृतिहरू प्रकाशित छन्। उनले नेपाली भाषा र साहित्य नामक ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२१ प्राप्त गरेका थिए। यस्तै प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार (२०५५), उदयानन्द पुरस्कार (२०५६), पृथ्वी प्रज्ञा पुरस्कार आदिबाट उनि पुरस्कृत भइसकेका छन् । पोखरेलका १ छोरा र २ छोरी छन्।

पोखरेलकी श्रीमतीको ४ वर्ष अघि नै निधन भएको थियो। उनको अन्त्यष्टी आइतबार विराटनगर स्थित परोपकार घाटमा गरिएको थियो। उनको अन्तिम संस्कारमा झापा, मोरङ, सुनसरीलगायत जिल्लाका समहित्कार, कलाकार, प्राध्यापक र सर्वसाधारणको उपस्थिति थियो।

     

 

प्रकाशित: १२ फाल्गुन २०७५ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App